२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

ताजमहल, कीर्तिमानी प्रेम प्रदर्शनी

निबन्ध

भनिन्छ प्रेम र युद्धमा सबै कुरा जायज हुन्छन्। जहाँ अदालत र अनुशासनको कुनै काम हुँदैन। त्यसैले प्रेमको खिसिट्युरी गरेर आडम्बरको नाङ्गो ढोलक बजाउनेहरूलाई आकाश बनाएर चिथोर्न मन लाग्छ मलाई।

प्रेम मनले मनलाई गर्ने कुरा हो। खोज्दा नभेटिन सक्ने तर अनुभूति गर्दा जहिल्यै भेटिने। प्रेम विश्व ब्रह्माण्ड प्रसिद्ध छ। यसको मान्यता सर्वव्यापी छ। जगत् र जगत्भन्दा माथि पनि यदि केही छ भने प्रिय नै हुन्छ प्रेम। दुःखको पनि कारक र सुखको पनि कारक हो प्रेम।

आदम र इभसँगै उद्भव भएको प्रेम अपरिवर्तनशील छ। प्राग् इतिहासदेखि वर्तमानसम्म यसरी नै चिनिएको छ। लगाव, आकर्षण, चाहना, माया, मन जे भने पनि प्रेम हृदयको अन्तरकुन्तरमा आइरहने मीठो भूकम्प हो।

यसमा जति हार्दिकता, सौहार्दता, कोमलता र शीतल स्नेह अन्यत्र कतै पाइँदैन। बलको हिसाबले पनि त्यत्तिकै शक्तिशाली प्रमाणित भएको छ। कतै, कुनै युद्धमा विजयश्रीका लागि अचुक अस्त्रको बारुद पनि यसैभित्र समाहित भएको थियो। त्यसैले प्रेमलाई ठ्याक्कै परिभाषा गर्न मिल्दैन भन्छु। प्रेमले अलिकति पखेटा फिंजाउनासाथ आकाशलाई पछाडि पारिदिन सक्छ। गहिरिने सोचाइमा मात्र पनि सागरलाई कम पारिदिन सक्छ। प्रेमको विशालता भनेको यही होला सायद।विद्वान् प्यूटसले घोषणा गरेका छन्, ‘प्रत्येक मानिसले सर्वप्रथम आफैलाई प्रेम गर्छ।’

यस दृष्टिले प्रेम गर्ने मानिस जत्तिको स्वार्थी अरू कोही हुँदैनन्। आफूले आफैंलाई पूर्ण गराइसकेपछि अरूको झोली भर्न कसले पो सक्तैन र? त्यसैले भन्न मन लाग्छ प्रेमीहरूले सुखको घुम कहिल्यै ओढ्न पाउँदैनन्। महाकवि देवकोटाले त्यसै भनेका छैनन्, “खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ? आफू मिटाइ अरूलाई दिनू जहाँ छ।”

मलाई प्रेम गर्नेहरू भोका लाग्न थालेका छन्। त्याग गर्न नसक्ने स्वार्थी लाग्न थालेका छन्। आत्मतुष्टि र परपीडाका लागि शिकार जस्ता लाग्न थालेका छन्। फर्केर हेर्छु अनुहारहरू। जोडीका जोडीहरू लाम लागेर आइपुग्छन्। मुनामदन होस् वा मालतीमङ्गले। शाहजहाँ मुमताज होस् वा लैलामजनु। शिरी फराह होस् वा सोहनी महिवाल, रोमियो जुलियटका अनेकअनेक जोडीहरू।

सम्भवतः म पृथक् भएको हुन सक्छु। मलाई चिन्नेहरु पनि त्यसै भन्न सक्छन्। आफूबाहेक अरूसँग हुनुपर्दा नमीठो लाग्छ मलाई। परिचय र मित्रता बढाउँदा खतराको महसुस हुन्छ मलाई त्यसबेला। जीवनमा कहिल्यै प्रेम गर्न र गराउन जानिनँं मैले। यो मेरो फैसला हो आफ्नो आफैमाथिको। भन्नेहरू त भन्छन् प्रत्येकले गर्ने प्रेम पनि एउटा इतिहास नै हो। उदाहरण पनि हो। खोई के हो, के हैन?

अप्ठेराहरूलाई मिलाउँदै सडक बनाएर हिंड्न मन पराउने मान्छे भएकाले कहिले पनि फुर्सदिलो बनिनँ म। फुर्सदले मैले कुनै पनि काम गरेको छैन। हतारमा काम गर्नु जत्तिको मज्जा फुर्सदमा लाग्दै लाग्दैन मलाई।

म जन्मँदा पनि फुर्सदले जन्मेको थिइनँ रे। आमा भन्ने गर्नुहुन्थ्यो-लक्ष्मीपूजाको दिन लिपपोत गरी सफा गरेर सबैतिर दियो बालेर घर उज्यालिएपछि जन्मेको थिएँ रे म। किन त्यत्रो चाडमा पनि हतारिएर जन्मिएको हुँला? सोध्नु कसलाई। नहुने उत्तरको प्रश्न।

त्यसैले पो हो कि प्रस्ट हुनुभन्दा धमिलोधमिलो बन्ने स्वभाव बनेको छ मेरो। सङ्लो भएर पारदर्शी हुन मन पटक्कै मान्दैन। मन्दिर गए जस्तो छ्याङ्गै आस्तिकको साइनबोर्ड झुन्ड्याएर निश्चित सिमानामा सीमित हुनुभन्दा सर्वत्र अटाउने चौतारी बन्न मन लाग्छ।

प्रेमलाई जुनै कोणबाट हेरे पनि प्रेमको परिभाषा प्रेम नै हो, चट्टान जस्तो। तर पनि बजारमा मेला लगाएको प्रेमलाई सगरमाथाको श्रीपेच लगाएर भिक्टोरिया क्रस झुन्ड्याइएको छ।

इतिहास बेइमान बनेको एउटा उदाहरण जस्तो लाग्छ। मानेको छैन मनले आजसम्म। पत्रपत्र पल्टाएर हेर्ने हो भने कसैले पनि मान्दै मान्दैनन्। अन्तरआत्माले गन्धसमेत नरुचाएकालाई चन्दन मानेर निधारमा कसरी लेपन गरूँ म?

कुरो अहिलेको हैन। तर अहिलेसम्म अमर प्रेमको प्रतीक बनेर विश्वप्रसिद्ध बनेको छ ताजमहल। सिङ्गो भारतको गर्व। विश्वका सात आश्चर्यमध्ये एक आश्चर्य। यो आश्चर्य र प्रसिद्धि प्रेमका कारण होइन। विशिष्टता र सुन्दरताका कारण हुन्।

श्वेत सिङ्गमरमरद्वारा निर्मित वास्तुकलाको नमूना बनेको ताजमहललाई मानवीय भावनाको प्रतिबिम्ब पनि मानिन्छ। तर त्यसभित्रको अलिकति पर्दा उघारेर हेर्ने हो भने डरलाग्दा सत्यहरूको भण्डार पनि प्रमाणित हुन सक्छन्।

हुन त पछाडिको सबै लुकाएर अगाडिको मात्र देखाउने काम नै पर्दाको हो। प्रमाणित गर्ने तथ्यहरू पनि हुन सक्छन्। हुन सक्छ यसैलाई प्रतीकात्मक रूपमा प्रस्टयाउनका लागि भारतको सबैभन्दा ठूलो कसाईघर ताजमहलको चार किलोमिटरको दूरीमा बनाइएको थियो।

प्रेमजस्तो आत्मीय भावनाको रोगन लगाउन ताजमहल धेरैको प्रेममा ज्वालामुखी बनेको थियो। विश्वकै दर्शनीयस्थल बनेको यो महल हेर्न प्रत्येक वर्ष करोडौं पर्यटकहरू पुग्छन्। अर्थात् बीस करोडभन्दा बढी आँखाहरू। यहाँ फरवरीदेखि मार्च महिनासम्म ताज महोत्सवको आयोजना गरेर इतिहासलाई जीवित तुल्याउने गरिन्छ।

यसरी असङ्ख्य आँखाहरूको भीड लाग्ने ठाउँलाई पवित्र भन्ने कसरी? भने जत्तिको शुल्क तिरेपछि मन लागुन्जेल भोग गर्न पाउने ठाउँ पवित्र हुन सक्छ र? पर्यटन क्षेत्र पर्यटकहरूका लागि मनोरञ्जल स्थल पो हो।

शाहजहाँले आफ्नी रानी मुमताजको प्रेममा पागल भएर विश्वमा कहीं कतै नभएको महल बनाएको मानिन्छ। तर प्रेम हृदयात्मक हुन्छ, प्रदर्शनात्मक हुँदैन भन्ने कसलाई थाहा छैन र? प्रेममा कसले आफ्नी प्रेयसीलाई सर्वत्र दिन खोज्दैन र? माया गरेकी प्रियाका लागि पहाड धकेलिदिने र तारा टिपेर ल्याउने हिम्मत त गर्छन्, भलै असम्भव भए पनि।

प्रेम भनेको महलदेखि झुप्रासम्मका सम्पूर्ण मनहरूमा असमान हुँदैनन्। यसैले बेगमलाई शाहजहाँले गरेको मायाको जोखाइ हो ताज। जब कि प्रेम, आदर्श, भावनालाई कुनै पनि कुराले तौलिन सकिंदैन। जोखिन तौलिन थालेपछि प्रेमको वास्तविक अस्तित्व समाप्त हुन्छ, हुन्छ।

एउटी स्वास्नीलाई तृप्त गर्न असक्षम राजाले महल बनाएर फकाउने प्रपञ्च किन गरेका होलान्? एउटी स्वास्नीका लागि हजारौ हजार जनताका आँसु किन खोसेका होलान्।

गरीब कृषकहरूले आफ्नो पसिना बगाएर उब्जाएका अनाजमा कर लिएर लालावालाहरूको पेट किन खोसिएका होलान्? केको रहर होला यस्तो प्रतीक बनाउने? किन अमरप्रेमको प्रतीक मानेका होलान्? यी भए इतिहासदेखि वर्तमानसम्मका कुरा।

ताजमहज प्रेममहल हैन। गरीब जनताका लागि पीडाको महल हो। त्यसो त ताजमहल चिहानघर हो र चिहानघर सधैं सबैका लागि भय र पीडादायी नै हुन्छ। ताजमहललाई पर्यावरणबाट बचाउने नाममा अदालतले ताजमहल वरपरका दुई सय पच्चीस उद्योगहरूलाई बन्द गरेको थियो कुनै समय। यही कारण सत्तरी हजार कामदारहरू बेरोजगार भएका थिए। गाँस, बास, कपासमा अनिकाल लागेको थियो।

प्रदूषणका नाममा भएको यो अन्याय अदालतको न्याय भए पनि मानवीय र प्रेमको अदालतले कहिल्यै न्यायसङ्गत मान्ने छैन। तर के गर्ने मूर्खको नाम बुद्धिबहादुर हुने यस लोकमा ताजमहल प्रेमको रामायण बनेर मुस्कुराइरहेको छ।

ताजमहल भएको ठाउँ आगराको नाम अग्रवाण हो। अग्रवाणको अर्थ ब्रजमण्डलको बाह्राैंमध्येको एक हो। यसै स्थानमा भगवान् श्रीकृष्ण आफ्ना साथीहरूका साथ विश्राम गरिरहेको समयमा एक बालकले उनीमाथि तीर चलाइएकाले यस ठाउँको नाम ‘अगर’ भएको इतिहास छ। यही अगरलाई आगरा भन्ने गरेको मानिन्छ। आगरा दिल्ली सुल्तानहरूको अधीनमा हुँदा आगराको कुनै महत्त्व थिएन।

साेह्राैं शताब्दीको प्रारम्भमा सिकन्दर लोधीले सैनिक मुख्यालय बनाएपछि यस सहरको महत्त्व बढेको थियो। सैनिकालय भएर परिचित आगरा अहिले प्रेमप्रतीकालयको रूपमा प्रसिद्ध बनेको छ। इतिहास जतिसुकै प्राचीन भए पनि मैले ताजमहललाई अमर प्रेमको विम्ब हो भनेर उदाहरण दिन कतै सकेको छैन आजसम्म।

ताजमहल त्यसै पनि विवादस्पद छ। सन् १९९३ मा पुरुषोत्तम नागेश ओकले लेखेको ‘ताजमहल: तेजोमहालय शिव मन्दिर है’ पुस्तक पढे पुग्छ। भारतीय इतिहास पुनर्लेखन संंस्थान, पुणेबाट सो पुस्तक प्रकाशित हुनासाथ प्रतिबन्ध लगाइएको र लेखकको हत्या भएको हल्ला थियो। लेखक नागेशले १२१ बुँदामा ताजमहल शिव मन्दिर भएको ऐतिहासिक तथ्यहरू उल्लेख गरेका छन्। उनको यो पुस्तकको फोटोकपी मलाई गीतकार डाक्टर राममान तृषितले उपलव्ध गराउनुभएको थियो।

हो पनि, इतिहास जतिसुकै पुरानो भए पनि त्यसको अभिलेख हुन्छ। तर ताजमहल बनेको कुनै अभिलेख छैन। नक्सा कतै भेटिंदैन। निर्माण लागतमा आनकातान फरक पाइन्छ। यसैले होला ढाँटेको कुरा काटे पनि मिल्दैन भनेको।

शाहजहाँलाई स्त्रीलम्पट र कन्जुस मानिन्थ्यो। यदि मुमताजसँंग त्यस्तो प्रेम थियो भने किन लैलामजनु, रोमियोजुलियट जस्ता एक पनि प्रेमका कथा लेखिएनन्?

उनी जीवित हुन्जेलसम्म किन उनको नाममा वा उनका लागि एउटा पनि भवन वा स्तम्भ बनाइएन? नागेशका यस्ता तर्कहरू पढेपछि ताजमहलप्रति हेर्ने दृष्टिकोण फरक हुन्छ र दोहोर्याएर सोच्न बाध्य हुन्छन् जो कोही पनि।

यस्ता महलहरू पैसाले पुगेकाहरूले थुप्रैथुप्रै बनाएर गएका छन्। पाल्पाको रानीमहलदेखि राजधानीको रानीपोखरीसम्म। छन् संसारभरि नै कति कति? प्रेमको गहिराइ कुनै समुद्रले पनि तौलिन सक्तैन भने नाथे ताजको के औचित्य? त्यस्ता ताजमहलहरू संसारमा माया गर्ने प्रत्येक जोडीका मनमा बनेकै हुन्छन्। मनमा बनेको ताज सिङ्गमरमरको ताजभन्दा धेरै महत्त्वपूर्ण र मूल्यवान् हुन्छ। तुलना हुनै सक्दैन भन्दा पनि हुन्छ।

त्यसै पनि आदर्श प्रेम गर्नेहरू भीडबाट कहिल्यै प्रमाणित बन्न खोज्दैनन्। अर्काका ससाना छाप्राहरू भत्काएर आफ्ना महल बनाउन खोज्दैनन्। सबैलाई थाहा भएकै कुरा हो। प्रत्येक मानिस प्रेमको नसामा डुबेका हुन्छन्। यस्तो नसा मानव मात्रलाई होइन सबै पशुपंछी सबैमा हुन्छ नै।

प्रत्येक मानिस प्रेमको बादशाह स्वयम् हो। आआफ्ना साम्राज्य पनि सबैका हुन्छन्। यसलाई कसैले नकारेको छँदै छैन। भूगोलमा राज्य गर्नेभन्दा मनमा राज्य गर्ने कति छन् कति। मनमा आदर्श राज्य गर्नेहरूले नै त धेरै ख्याति पाएका छन् नि। कतै राज्य गर्न नपाउने मनबहादुर र मनमानहरुले मनमा राज्य नगरे कहाँ गरूँन्?

प्रेम हुन्छ गरिंदैन। प्रेममा दिन खोजिन्छ लिन खोजिंदैन। प्रेममा कुनै नियम हुँदैन। प्रेममा कुनै अदालत बन्दैन। त्यसैले प्रेमीहरू आफ्नो प्रेमको बाँसुरी नबजे पनि मीठो धुनमा रमाउँछन्। दृष्टिबन्धक नहुने प्रेम चट्टान जस्तो हुन्छ। चिहानजस्तो शान्त र मृत्युजस्तो निश्चिन्त हुन्छ। जतिसुकै सपनाहरुको भार बढे पनि प्रेम कहिल्यै थिचिंदैन। सपनालाई नाकाबन्दी गर्न आजसम्म कसैले सकेका पनि छैनन्।

प्रीति गाँस्ने, माया लाउने कुराले कसैमाथि अलिकति पनि भेदभाव गरेको छैन। यसमा जतिको समानता विरलै अन्यमा पाइएला।

यसले ठूलो-सानो भन्दैन। धनी-गरीब ठान्दैन। जातपात मान्दैन। रूप-रङ हेर्दैन। यसले  कुनै कुरालाई पनि मान्यता दिंदैन।

बरु ठूलाबडा र राजा-महाराजाका प्रेममा आत्मीयता कम र आडम्बर बढी भएको तथ्य इतिहास र वर्तमानले प्रस्ट पारिरहेका छन्। यिनीहरूका प्रेम कृत्रिम र बढी प्रदर्शनात्मक हुन्छन्। उदाहरणका लागि भारतमा मुगल सम्राट्का असङ्ख्य कीर्तिस्तम्भदेखि शाहजहाँको ताजमहललाई लिन सकिन्छ।

हाम्रा पनि कतिपय मल्ल राजादेखि राणा प्रधानमन्त्रीहरूले प्रेमका नाममा छोडेर गएका चिनाहरू राजधानीसँग हाँसिरहेका छन्। यी सब ढोंग र प्रदर्शनी हुन्। मनमा माया नहुने तर शक्ति र सम्पत्ति हुनेहरूले लोकलाई देखाउन गर्ने काम हुन् यी। सोखिन र आर्थिक प्रेमभन्दा निर्मल र कञ्चन प्रेम गाउँघरका साइँली र माइलीहरूका हुन्छन्। यिनीहरूका प्रेममा पैसा, प्रदर्शन र प्रशंसाको कुनै महत्त्व हुँदैन।

प्रेममा अनौठो शक्ति हुन्छ। कहिल्यै मुस्काउन नजान्ने हिटलर पनि प्रेममा परेपछि निकै हृदयी र मृदु बनेका थिए रे। प्रेमको रूप रङ हेर्ने आँखा हुँदैन तर अथाह र अद्भूत शक्ति हुन्छ भन्ने  नजिकबाटै अनुभूति गरेको छु।

मैले पहिले काम गर्ने कार्यालयमा एकजना निकटस्थ मित्र थिए। हामीबिच कुनै विषयमा पर्दा थिएन। खुल्ला किताब जस्ता थियौं हामी। एकदिन हाम्रो शाखामा एउटी युवती नियुक्त भएर आइन्। उनको कुनै कुरामा पनि आकर्षण भन्ने केही थिएन। अनौठो स्वरूपकी थिइन्। उनलाई हामी कहिले चोरेर पनि हेर्दैनथ्यौं।

मित्रले कार्यालयमा हाजिर गरेपछि मलाई भन्ने गर्थ्याे, ‘आउनासाथ त्यो केटीलाई देख्यो भने दिन बिग्रन्छ मेरो त। कसले बिहे गर्ला यस्तो रुप न रङकी केटीलाई। भगवान्को लीला पनि अचम्मकै छ।’

तर केही महिनापछि नै तिनीहरु दुई जनामा यस्तो प्रेम भयो कि दुवैले आआफ्नो घर त्यागेर विवाह गरे।

मानिसहरू नाम कमाउन मरिरहत्ते गरी लाग्छन्। यो चलन अहिलेदेखिको होइन। चर्चा पाउनका लागि मानिसहरू सके राम्रा र नसके नराम्रा पनि काम गर्छन् अहिले। वैदिककालतिर भने राम्रै मात्र काम गर्दा हुन्। तर अहिलेको त काल नै अर्कै छ। ओलम्पिकजस्तो विश्वप्रसिद्ध खेलमा पराजित खेलाडी नाङ्गै कुदेर चर्चा खोज्छन्। केके गर्छन् केके अहिले त।

-राम हुन नसक्नेहरु रावण बन्छन्।

-युधिष्ठिर बन्न नसक्नेहरु दुस्शासन बन्छन्।

महात्मा गान्धी बन्न नसक्नेहरू नाथुराम गोड्से बन्छन्।

यही क्रम त होइन कतै? शाहजहाँले मुमताजको शरीरलाई मात्र माया गर्ने भएकाले मायाको बिम्ब नै स्थापना गरेका। शाहजहाँले ताजमहलको नाममा चिहानघर बनाएकोमा रिस गर्नुपर्ने कुनै कारण छैन मसंँग। तर प्रेमजस्तो पवित्र विषयमा आफ्नो प्रचार खोजेकोमा मात्र आपत्ति हो मेरो।

मेरो चित्र दुखाइ ताजमहलसँग हैन। ताजमहलमाथि लगाउने गरिएको पगरीमाथि मात्र हो। नीलकाँडालाई रातो गुलाफजस्तो भन्नेहरूसंँग हो। चिहानलाई चिहान नभनी प्रेमको प्रतीक भन्नेहरूसँग हो।

- ताजमहल बनाउँदा शाहजहाँका सैनिकहरूले बिहान सबैले सुन्ने गरी बिगुल फुक्थे रे।

- बिगुलको आवाज सुनेपछि प्रत्येक घरबाट एकएक जना श्रमदानका लागि जानुपर्थ्याे रे।  -बिरामी परेर वा कुनै कारणले उपस्थिति हुन नसक्नेले भोलिपल्ट कोर्रा खानुपर्थ्याे रे।  

- त्यसैले बिगुलको आवाज सबैका लागि पीडाको आवाज बन्थ्यो रे।

- गाँस टिप्न लागेकाहरू बिचमै छोडेर दौडिन्थे रे।

-लाम्टा चुसाइरहेकाहरू लालाबालालाई कोक्रामा फ्याँकेर निस्कन्थे रे।

-प्रेममा लिप्त भइरहेकाहरू एक अर्काबाट छुटिएर जान्थे रे।

-आआफ्ना प्रेम छोडेर, दुःखपीडा बिर्सेर मरेकी रानीको स्मृतिका लागि महल बनाउन हातपाखुरा खियाउन जानुपर्थ्याे रे।

राजा हुनुको अर्थ निर्जीव भूमिमा मात्र राज्य गर्नु हैन। जनताका मनमनमा पनि राज्य गर्न सक्नुपर्थ्याे। तर शाहजहाँले जनताको हृदयमा राज गर्न सकेनन्।

यसैले पनि ताजमहल त्रासको प्रतीक, अन्यायको  प्रतीक र घृणाको प्रतीक पो बनेको थियो कि?

यति भनौं, ताजमहल प्रेममहल हुँदै हैन, प्रेममहज ताजमहल हुनै सक्तैन।

(वरिष्ठ पत्रकार तथा निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ को २६ वर्षपछि पुनः प्रकाशनमा आएको ‘अर्थहीन अर्थहरू’ निबन्धसंग्रहबाट।)

प्रकाशित: १८ फाल्गुन २०८० १३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App