१२ श्रावण २०८१ शनिबार
image/svg+xml
कला

विरहीको तेह्रथुमको साहित्यिक इतिहास लोकार्पण

पत्रकार तथा साहित्यकार केशु विरहीको अनुसन्धानात्मक कृति तेह्रथुमको साहित्यिक इतिहासको लोकार्पण भएको छ।

एपेक नेपालको आयोजनामा, नेपाल प्रज्ञाप्रतिष्ठान, कमलादी, काठमाडाैमा सम्पन्न  कार्यक्रममा विरहीकाे पछिल्लाे नवाैं कृतिकाे लाेकार्पण गरिएकाे हाे।

लाेकार्पणपछि कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय सहरी विकास मन्त्री सीता गुरुङले साहित्यिक कृति त्यसमा पनि अनुसन्धानात्मक लेख्न निकै कठिन हुने बताउँदै तेह्रथुमकाे साहित्यिक इतिहासले तेह्रथुमलाई चिनाउन मद्धत पुग्ने बताइन्। एउटा महत्त्वपूर्ण कार्य सम्पन्न गरेकामा लेखकलाई बधाई तथा शुभकामना दिइन्। तेह्रथुम जिल्लाकी सङ्घीय सांसद समेत रहेकी गुरुङले सबैले जसले जे जानेको छ आआफ्नो ठाउँबाट लागिपरेमा तेह्रथुमको विकासमा ठूलो परिवर्तन आउने पनि बताइन्।

यस कृतिले तेह्रथुमलाई विश्वभर चिनाउनमा ठूलो सहयाेग रहने छ र यो ऐतिहासिक कृतिले अझ ठूलो इतिहास बनाउने बताइन्।

त्यसैगरी कार्यक्रममा प्रध्यापक डा.खगेन्द्रप्रसाद लुइटेलले यस किताबमा तेह्रथुमकाे साहित्यिक इतिहासकाे फेहरिस्त भएकाे बताए। इतिहास लेखन कहिल्यै पूर्ण नहुने बताउँदै छुटेका कुरालाई थप्दै जानुपर्ने बताए। उनले पाठकलाई यस कृतिमा देखिएका कमीकमजाेरी औंल्याइदिन पनि आग्रह गरे।

त्यसै गरी कार्यक्रममा नारी स्रष्टा समाज नेपालकी अध्यक्ष तथा साहित्यकार ममता मृदुलले यस कृतिले तेह्रथुमकाे साहित्यकाे मात्र नभएर त्यहाँ बस्ने मानिसकाे समेत सफा चित्र उतारेकाे बताइन्।

कार्यक्रममा बोल्दै लेखक तथा अन्वेषक भगिराज इङनामले यस कृतिले एउटा क्याटलकका रूपमा काम गरेकाे बताए। पाठकले आफूलाई के मनपर्छ त्यही यस पुस्तकबाट छानेर पढ्न सक्ने बताए।

कार्यक्रमका सभापति तथा एपेक नेपालका अध्यक्ष विश्वमोहन श्रेष्ठले किताबको नामले नै  धेरै कुरा बोलिसकेकाले यसबारे धेरै कुरा गर्न जरुरी नभएकाे बताउँदै कृतिबारे समय मिलाएर चर्चापरिचर्चा कार्यक्रम राखिनुपर्ने पनि बताए।

लेखक केशु विरहीले आफूले यो कृति लेख्नकै लागि भनेर डेढ वर्षकाे पूरै समय खर्चेकाे बताउँदै थालेकाे काम सफल भएकामा खुसी व्यक्त गरे। पत्रकारसमेत रहेका विरहीले प्रिबुकिङ मार्फत् याे अभियान पूरा गर्न सहयाेग गर्नेप्रति आफू आभारी रहेकाे बताउँदै धन्यवादकाे असली हकदार आफूभन्दा उनीहरू रहेकाे बताए।

सेसेमी लिम्बूले सञ्चालन गरेकाे कार्यक्रममा कवि तथा गजलकार बाबु त्रिपाठीले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए।

आठराई, तेह्रथुममा जन्म भई पछिल्लाे समय माेरङलाई कर्मथलाे बनाउँदै आएका विरही कथा, उपन्यास, बालसाहित्य तथा अनुसन्धानका क्षेत्रमा कलम चलाउँछन्। उनका कहालीलाग्दा गोरेटाहरू (उपन्यास)  सहलेखन-२०५६, आमाको माया (उपन्यास,२०५७), दन्किएको आगो (गजलसङ्ग्रह,२०६३), सुस्केरा (संयुक्त साहित्यिक सङ्ग्रह,२०६३) , भास्कर वंशावली (वंशावली,२०६५), सुलोचना (कथासङ्ग्रह,२०७१) , रेस्माको स्यान्डल (बालकथासङ्ग्रह,२०७७) आदि विधा साहित्यका कृति प्रकाशित भइसकेका छन् भने २०७९ मा अनुसन्धानात्मक कृति बेलबारीको साहित्यिक इतिहास प्रकाशित छ। 

प्रकाशित: १० फाल्गुन २०८० १०:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App