कथाकार डा. मित्र पाठक ‘काँचुली’ को लघुकथासङ्ग्रह ‘हाकिमको देश’को विद्युतीय पाण्डुलिपि एक समय कम्प्युटरका भित्तामा पङ्ख फिजाएर बसेको थिएँ। कर्सरले सरसर्ती नियालेको थिएँ। ६२ थान लघुकथा बोकेको रहेछ। मजाको कुरा के छ भने मैले अहिलेसम्म लघुकथाकार डा.मित्र पाठक ‘काँचुली’ लाई भौतिक रूपमा भेटेको, चिनेको, देखेको र संसर्ग गरेको छुइनँ। जाहिर छ मैले उनका ज्ञानका गहिराइहरू, आवेगहरू र सम्वेगहरू नापेको छुइनँ। सायद म नाप्न सक्ने पनि थिइनँ होला। अनुभवहरू छताछुल्लिएका होलान्। यसो हुँदा मेरो यो भूमिकात्मक बरेल्याइँ विशुद्ध लघुकथासङ्ग्रहका पानाका अन्तर्यमा सीमित हुनेछ। याने कि अक्षरीय हुनेछन्। औपचारिक हुनेछन्। कर्मकाण्डी हुनेछन्। प्राविधिक हुनेछन्। जोड घटाउ, गुना भागाको कुनै गुञ्जाइस हुन्न यस्तोमा। भावना, प्रभाव वा व्यक्तिगत हृदयको स्पन्दनले पार्ने उचनिचबाट मुक्त हुन यस्तो परिवेश सहायक हुन्छ र पनि प्रविधिले संसारलाई एउटा गाउँ बनाएको परिप्रेक्ष्यमा भने हामी चिनिएका छौँ। आफन्तिएका छौँ। मसमेत एडमिन भएको फेसबुकको ‘लघुकथा कुनो’ मा उनलाई धेरैपल्ट भेटेको छु। सशक्त लघुकथाकार भनेर चिनेको छु। विद्वता पढेको छु र बोध गरेको छु।
यतिबेला म उनको बायोडाटातिर तानिएको छु। असोज १३, २०३८ मा स्याङ्जामा जन्मिएका र देवचुली, नवलपुरलाई स्थायी मुकाम बनाएका डा मित्र पाठक ‘काँचुली’ पढाइले, पेशाले र कर्मले वनस्पति वैज्ञानिक हुन्। चिनको चेङ्दु इन्सिच्युट अफ बायोलजी, सिचुवानबाट वनस्पति शास्त्रमा विद्यावारिधि गरेका ‘काँचुली’ अतिरिक्तमा शिक्षक, रेडियोकर्मी र पत्रकार पनि हुन्।
वनस्पति विभागमा सम्प्रति भएका लघुकथाकार ‘काँचुली’को नेपाली साहित्यप्रतिको अनुरागलाई सलाम गर्नै पर्छ। उनले अहिलेसम्म ४ थान गीत–गजलसङ्ग्रह, ‘भलाद्मीकी श्रीमती’ लघुकथासङ्ग्रह (२०६३) प्रकाशन गराइसकेका छन्। पत्रिकाहरूको सम्पादन गरेका छन् र संलग्नता देखाएका छन्। उनका कविता, नियात्रा, कथासङ्ग्रह, हाइकु, उपन्यास आदि प्रकाशोन्मुख छन्।
यसरी हेर्दा काँचुली उम्दा साहित्यकार देखिएका छन्। दरिएका छन्। भर्सटायल सिर्जनात्मक क्षमता प्रदर्शन गरेका छन्। त्यसमाथि पनि लघुकथाकै सङ्ग्रह नै निकालिसकेका हुनाले ‘हाकिमको देश’मा पक्कापक्की लघुकथाकै निखार छ, लघुकथाकै स्वाद छ भन्ने पूर्वमान्यता राखेको छु।
लघुकथाको फ्रेम सरलतामा क्लिष्ट छ भन्छन् विज्ञ। जति सरल ठानिन्छ त्यति नै जटिल ठानिन्छ। अङ्गेजी साहित्यमा ‘फ्लास फिक्सन’ नाममा अलि धेर सजिएको आख्यान नेपाली र हिन्दीमा आइपुग्दा लघुकथा भएको छ। लघुकथाको अङ्ग्रेजीमा शाब्दिक रूपान्तरण गर्दा सर्ट स्टोरी बन्न जान्छ। तर, अङ्ग्रेजी भाषामा सर्ट स्टोरी भनेको नेपालीमा लेखिने कथा हो, लघुकथा होइन। हिन्दी र नेपाली भाषामा लेखिने लघुकथामा पनि थोरै भिन्नता देखिन्छन्।
कथ्य प्रस्तुति, समापन मात्र होइन विभक्ति जोडेर र फुटाएर, समस्त शब्दको प्रयोग आदिले हेर्दा हिन्दीमा लेखिएका भन्दा नेपालीमा शब्द सङ्ख्या कम हुन जान्छ। हिन्दीमा छोटा कथालाई पनि लघुकथा मानेर लेखिन्छ। नेपाली साहित्यले हिन्दी साहित्यबाट प्रत्यक्ष प्रभावित हुनुपर्ने अवस्थाका कारणले कतिपय स्थापित ठानिएका नेपाली लघुकथाकारहरू पनि हिन्दी शैलीलाई मानक मानिदिन्छन्। यो परिस्थितिमा नेपाली लघुकथा संसारले आफ्नो मानक बनाउन बल गर्दै छ। किनकि संसारभरिका साहित्यमा हरेक भाषा र देशले आफ्नो नाम र मानक बनाएको पाइन्छ। त्यसकारण नेपाली लघुकथाकारहरूले नेपाली मानकको गोहो पछ्याउँदा पनि सिर्जना मर्दैन भन्ने ठान्छु म। यद्यपि साहित्य कुनै सीमामा बाँधिन्न भन्ने तर्क भने नउठ्ने होइन।
यही परिप्रेक्ष्यमा नेपाली लघुकथा संसारले बनाउँदै लगेको मानकमा शब्दका सीमा, कथानकका सीमा, प्रस्तुति, समापनमा हठात अन्त्यले आउने कौतूहलता, व्यङ्ग्यचेत आदिआदि छन्। तर, लघुकथा लेखन विज्ञान होइन, कला हो। त्यसैले लघुकथाका सूत्रहरू विज्ञानका जस्ता जड हुँदैनन्। कलामा पाइने फ्लेग्जिबिलिटीको सिद्धान्त यहाँ उपयुक्त हुन्छ।
‘हाकिमको देश’ पढेपछि लघुकथाकार काँचुली र ममा केही समानता फेला पारेको छु। लघुकथा भनेपछि लघुकथा नै हुनुपर्दछ भन्ने शास्त्रीय र परम्परागत मान्यता राख्छु म। कथाका अंश वा उपन्यासका अंश वा छोटो लेखेर लघुकथा भनिआएको वर्तमान नेपाली साहित्यको अराजक समयमा यो ‘हाकिमको देश’ जन्मिने प्रसवकालमा छ। र ‘हाकिमको देश’ ले लघुकथा नै बन्नुपर्ने मान्यतालाई हेक्का राखेको छ। याने कि लघुकथाका फ्रेममा सजिन सफल भएको छ।
लघुत्व, सूक्ष्मता, तिक्ष्णता, विपरीत भावमा कौतूहल समापन, व्यङ्ग्यचेत, सूत्रता आदि लघुकथाको फ्रेम हो। लघुकथाको प्रेम हो। लघुकथा लेख्ने वा मन पराउने स्रष्टा वा द्रष्टा सबैले यो विषयबारे थोरबहुत हेक्का राखेकै हुनुपर्दछ। नत्र चौलानीको पानीसँग भात खाएझैँ हुनेछ। यो लघुकथासङ्ग्रहभित्र गवेषणपछि प्रष्ट हुन्छ कि करिबकरिब सबै लघुकथा लघुकथाको सिद्धान्त र मर्म दुवै बोक्न समर्थ भएका छन्। पहिलो तर ज्यादै महत्वपूर्ण कुरो लघुकथा फ्रेमभित्र सजिनु हो, जसमा ‘हाकिमको देश’ अब्बल छ।
लघुकथासङ्ग्रहभित्र सजिएका लघुकथाहरूले विविध विषय लिएर आएका छन्। विषय प्रस्तुतिका दृष्टिमा लघुकथाकार ‘काँचुली’भित्र असीम जीवनभोगीय अुनभव भएको प्रतित हुन्छ। शास्त्रीयदेखि लिएर जीवनबोधसम्म, स्वदेशदेखि विदेशसम्म उनका अनुभव कुँदेका छन्।
गरिब मान्छेको जीवनलाई सभ्रान्त कुकुरसँग तुलना गरेर मान्छेको जीवन बदत्तर भएको मार्मिक परिस्थिति उनले देखाएका छन्। आखिर मान्छे जीवनयापनका क्रममा अनेकौँ हुने नहुने सपना देख्छ र सपना बुन्दा बुन्दै फ्याट्ट हुनुपर्ने मान्छेको नियतिका कथानक समेटिएका छन्। मान्छेले आफ्नो करणीको भरणी गर्नै पर्छ भन्ने सन्देश उनका कथानकमा पाइन्छन्। निश्चित रूपमा गलत कामको गलत परिणाम निस्कने कुरालाई उजागर गरेका छन्।
लघुकथाकार काँचुलीको दृष्टि नेपालको शैक्षिक विसङ्गतिका बारेमा पनि पुगेको छ। सामाजिक मान्यताले होस् वा राजनीतिक खिचातानीले होस्, शैक्षिक जगत दिग्भ्रमित भएको कुरा उनका लघुकथामा पाइन्छन्। तुइनबाट स्कुल जानुपर्ने नेपाली बालबालिकको नियति मार्मिक र हृदयविदारक छ। उनका लघुकथामा कुपुत्र मान्छेका कथा छन्। कुपुत्र सन्तानका कुरा छन्।
खास गरेर उनी आमाको प्रसङ्गमा उनी सम्वेदनशील भएका छन्। त्यसकारण उनका लघुकथामा आमाका हँसाइका कथा छन्। रुवाइका कथा छन्। आमालाई हेपाइस् गरेका कथा छन्। आमाबाबुलाई देवता मान्ने सन्तानका पनि कथा छन्। ग्लानिका कथा छन्। राजनीतिक विचलन र अव्यवस्थाले खाएको देश नेपालीको अवस्थाप्रति तीव्र आक्रोशित छन्। यस क्रममा उनी नेताको पर्दाफास गर्दै चुनावको विभत्सता, आडम्बर र नाटकीय चरित्रमाथि कठोर भएका छन्। काँचुलीले नेपालको स्वास्थ क्षेत्रको विचलन पनि देखेर लघुकथालाई व्यङ्ग्यमय बनाएका छन्।
उनका लघकथामा डायस्पोरिक कहरभित्र विदेशिएकाको पीडा, विदेशिनुपरेको पीडा तथा भौतिक कहरदेखि लिएर पराभौतिक कहरसम्म समेटिएको छ। मुटुलाई पातमा राखेर हिँड्नुपर्ने नेपालका पिच बाटाहरूमाथि दृष्टि पुर्याएर यस्ता विकासे सोचबारे प्रश्न उठाएका छन्। देश पैसा र गुण्डाले चलेकोप्रति चिन्तित भएका छन्।
उनका लघुकथामा आउने एउटा जबर्जस्त विषय मान्छेका बिचका सम्बन्धहरू हुन्। त्यसमा विदेशिएका पुरुषका श्रीमतीका यौनका कथा छन्। महिलाका यौन शोषण भएको कहर केलाएका छन्। छोरी भ्रूणहत्याको विरोध गरिएको छ। मानवीयता हराएको समाजको कथा छन्। यौनवादी तथा फ्रायडवादी यौन प्रस्तुतिका विषयमा निकै राम्रो दक्खल राखेका छन्।
आधुनिक नेपालमा वृद्धवृद्धाको जटिल समस्यामा पनि उनले कलम कुदाएका छन्। विदेशिएका सन्तानका कारणले वृद्ध-वृद्धा समस्या छन्। सामाजिक धार्मिक बडप्पन र नौटङ्कीले समाज थङ्थिलो भएको कुरा उनले बुझेका छन्।
लघुकथाकार काँचुली भ्रष्टाचारमा कठोर भएका छन्। यहाँसम्म कि भुइँचालोमा समेत भ्रष्टाचार गर्ने नेपाली नेता र कर्मचारी तथा समाजका अगुवा नै छन्। यसकारण लघुकथाभित्र भ्रष्टाचार र बेथितिको कथाहरू छन्। लैङ्गिक विभेदको विरोध छ। कृतघ्न बन्दै गएका नयाँ पुस्ताको कथा छ। वेश्यागामी पुरुषका कथा, गरिबीका कथा र गलत र हावा मात्र देख्ने नेपाली प्रवृतिमाथि कठोर प्रहार छ।
भारतद्वारा सिमाना मिचिएका कुरालाई उठाएर उनी राष्ट्रवादी भएका छन्। नेपाली राष्ट्रियतालाई अघोरै माया गरेका छन्। मेलम्चीको पानी दन्त्यकथा भएकोमा व्यङ्ग्य कसेका छन्। आध्यात्म र भौतिकवादी दर्शनको द्वन्द्व उनका लघुकथामा बग्रेल्ती पाइन्छन्।
पैसाले परिवारभित्र ल्याएको विखण्डनबारे पनि लघुकथामा कलात्मक भएर आएका छन्। उनका लघुकथामा कर्मवादी चिन्तन छ। देशभक्ति आडम्बरमाथि व्यङ्ग्य छ। निम्नवर्गीय कर्मचारीको अवस्था पनि देखाइएको छ। अन्त्यमा नेपालमै केही गर्न सकिन्छ भन्ने सन्देश पनि प्रवाह गरेका छन्।
हाकिमको देश’ मा समेटिएका ६२ लघुकथा निकै राम्रा र सुन्दर छन्। लघुकथा नै भएका छन्। र त्यसमध्येबाट पनि बुनौटको स्वरूप, कथानकको गाम्भीर्य, शक्तिशाली व्यङ्ग्य चेत र शैली–विधान आदिलाई विचार गरेर मलाई औधी मनपरेका लघुकथाहरूमा छाप, दशैं विदा, डाक्टर फलानु, पञ्चकन्या, जीवनदान, सम्झना शक्ति, सहारा, सहयोग, यौन प्यासी, चस्मा, असोजको तीस, आध्यात्म यात्रा, माग्नेहरू, उनीहरूको स्कुल, देशभक्त, हाकिमको देश आदि हुन्।
म लघुकथाको एउटा विद्यार्थी मात्र हुँ। विज्ञ वा घागडान समीक्षक होइन। सिद्धान्तअनुसार भूमिका लेख्ने विद्वान पनि होइन। लघुकथाको लेखन, पढन र स्वादलाई मन पराउने पात्र मात्र हुँ। मैले डा. काँचुलीका लघुकथाहरू पढ्दै जाँदा लघुकथाको समकालीन यात्रामा उनका लघुकथा स्तरीय, मानक र पठनीय छन्। जीवनका विविध पाटालाई आफ्नै बोधको कसीमा राखेर उजागर गरेका छन्। बौद्धिक छन्। अग्रगामी परिवर्तनको सम्वाहक बनेका छन् लघुकथा। यौनलाई स्लिल बनाएर मनोविज्ञान केलाएका छन्। यौनको प्रयोजन केलाएका छन्।
यसरी हेर्दा उनका लघुकथाहरू अब्बल छन्। खुला समापन र बन्द समापन दुवै प्रयोग गरेका छन्। यो लघुकथासङ्ग्रहले सिफारिश खोजेको छैन। किनकि आफैँमा अब्बल छ। लघुकथाका पारखी पाठकले एकपल्ट पढ्न थालेपछि छोड्ने अवस्था छैन। शब्द सौन्दर्य र कथ्यको स्तरीकरणले लघुकथामा सुनमा सुगन्ध थपेको छ।
यसको तात्पर्य यो पनि होइन कि उनका लघुकथामा कुनै कमी नै छैन। एकआध लघुकथाहरू शब्द सीमाका हिसाबमा अलि लामा हुन् कि भन्ने अनुभूत हुन्छ। विषयवस्तुका हिसाबमा पनि सबै एकैनासे अग्रगमनका छैनन्। त्यो स्वाभाविक पनि हो। किनकि हरेक पाठकले पढेपछि र त्यसको स्वादबाट तृप्त भएपछि अर्को नविन र झन् उच्चता खोज्छन्। र पक्का कुरा के हो भने उच्चताको कुनै जेनिथ छैन। मैले त बुताले, चेतले र प्रज्ञाले भ्याएसम्म वकिलको भूमिका निभाउने जमर्को गरेको छु। अर्जी पुर्याएको छु। किनभने लघुकथाहरूको असली न्यायाधीश त पाठक र समीक्षक हुन्। द्रष्टा हुन्। पाठकले, समीक्षकले वा द्रष्टाले पक्का पनि आफ्नो भागको काम गर्ने नै छन्।
यसैबेला जिन्दगीको गल्छेंडामा छिमलेर कहिल्यै नसकिने झाडी आइरहन्छ। र पनि सकिनसकी छिमल्नु नै छ। जान्दा जान्दै पनि छिमल्नु छ। त्यसैले अन्त्यमा लघुकथाकार काँचुलीलाई ‘हाकिमको देश’ लुघकथासङ्ग्रह बजारमा ल्याएकोमा बधाई र फेरिफेरि लघुकथासङ्ग्रहहरू प्रकाशित भइरहून्। नमरी बाँचेसम्म लुघकथाकै पाटीमा भए पनि भेट होओस्। भइरहोस्। शुभकामना।
प्रकाशित: १० फाल्गुन २०८० ०९:४३ बिहीबार