योगेश वैद्य जुन कालखण्डमा नेपाली सङ्गीतमा लाग्नुभयो, त्यो यस्तो समय थियो, जतिबेला यिनीजस्ता अध्ययनशील व्यक्ति नगण्य रूपमा यस क्षेत्रमा लाग्थे। वनस्पतिशास्त्रमा स्नातकोत्तर गरेलगतै बेल्जियमबाट पुनः खाद्य पोषणमा पनि स्नातकोत्तर गर्नुभयो। दुई विषयमा स्नातकोत्तर गरेका वैद्यले तीन दशकभन्दा बढी समय नेपाल सरकारको उच्च पदमा रही राष्ट्र सेवा गरेपछि वनस्पति विभागबाट अवकाश पाउनुभयो।
उहाँ सशक्त साहित्य अनुरागी त हुनुहुन्थ्यो नै, धाराप्रवाह बोल्न सक्ने प्रखर वक्ताका साथै उहाँमा अंग्रजी भाषामा समेत विशेषज्ञता थियो। वैद्यको परिचय केवल गायक वा सङ्गीतकारका रूपमा मात्रै सीमित थिएन। लेखक तथा अनुवादकका रूपमा प्रकाशित उहाँका खाद्यपोषणसम्बन्धी गैरआख्यानात्मक पुस्तकहरू अन्तर्राष्ट्रिय स्तरमा पुगेका छन्। सङ्गीत क्षेत्रका हुन् या साहित्य क्षेत्रका चिनजान साथीभाइ, यदि कसैलाई पुस्तकको समीक्षा वा अनुवाद गर्नुपरेमा उहाँकैमा पुग्थे।
‘सदैव विनम्र र हँसिला प्रेमध्वजजीको यो प्रवृत्ति तिमीहरू सधैं आत्मसात गर्नु’ प्रत्येक पटकको भेटमा दोर्याउँदै यी शब्द भनिरहनुहुन्थ्यो योगेश अंकल। पुनः एकपटक नेपाली सङ्गीत जगत् र हामी अभिभावकविहीन बन्न पुगेका छौं। २०७८ वैशाख २३ मा नेपाली सङ्गीतले गायक/सङ्गीतकार प्रेमध्वज प्रधानलाई सुन्धारास्थित काठमाडाैं न्युरो अस्पतालबाट गुमाउनुपरेको थियो।
तेस्रो वर्ष काट्न नभ्याउँदै सोही अस्पतालमा उहाँका अत्यन्त निकट आत्मीय मित्र मूर्धन्य गायक/सङ्गीतकार योगेश वैद्यले भौतिक रूपमा संसार छोड्नुभयो। हामीसँग अब यी दुई अथक संगीतसाधकबिचको अद्भुत सम्बन्धको केवल सम्झना मात्र बाँकी रह्यो।
नेपाली सुगम सङ्गीत आकाशका दुवै नक्षत्रको अवसान अपूरणीय छ। रगतको साइनोभन्दा उच्च रहेर यी दुई सङ्गीत साधकबिचको सात दशकभन्दा लामो आत्मीयताको न्यानोपनमा दुवै भिन्न परिवार भईकन पनि हामी अभिन्न थियौं।
काठमाडौंका नेवार समुदायको सम्भ्रान्त परिवारमा हुर्केका दुवै साधकमा सङ्गीतले यसरी जरा गाड्न पुग्यो, जसका लागि कहिले आफ्नै परिवारभित्र त कहिले समाजसँग अनगिन्ती संघर्ष गरे। जुन समय काठमाडौं उपत्यकाभित्र भारतीय सङ्गीतको जगजगी हुने गरथ्याे, त्यो समयमा नेपाली आधुनिक गीत तथा नेपाल भाषाका गीतहरू काठमाडौं अनि पाटनका टोलटोलमा सांगीतिक कार्यक्रमहरूमा मध्यरातसम्म गाउन पुग्थे।
नेपाली सुगम सङ्गीतका अनवरत यी साधकहरूको मेहनतको प्रतिफल मान्नुपर्छ, सङ्गीतको त्यस युगलाई नेपाली सुगम सङ्गीतको स्वर्णिम कालखण्ड मानिन्छ। प्रेमध्वज प्रधान र योगेश वैद्य ती नाम हुन् जसले नेपालमा सुगम सङ्गीतको प्रारम्भिक चरणदेखि नै जग बसाल्न महत्वपूर्ण योगदान दिए।
गीत सुन्न उपस्थित श्रोतागणबाट पाएको अपार मायाबाहेक दुवैका हात रित्तै हुन्थे र पनि जीवनपर्यन्त बिनापारिश्रमिक गाएका यी दुवै साधक पोल्टाभरि श्रोताको माया, सम्मान र सद्भावमा नै आफूलाई आजीवन धन्य सम्झे।
विद्यार्थी जीवन सम्झँदै योगेश अंकल भन्नुहुन्थ्यो, ‘विद्यालयका कार्यक्रमहरूमा म प्रेमध्वजजीका गीतहरू गाउँथें। उहाँको अभूतपूर्व गायन स्वर्णिम आवाजको म अत्यन्त ठुलो प्रशंसक हुँ। समयले हामीबिचको सम्बन्धमा झन् प्रगाढता थपिदियो।’ योगेश वैद्य प्रेमध्वज प्रधानका जीवनका स्वरान्त व्याख्याता हुनुहुन्थ्यो। प्रेमध्वजको सरल स्वभाव, आदर्श व्यक्तित्वको छवि मनमा प्रतिस्थापन गरेका योगेश आजीवन प्रेमध्वजको जीवनबाट प्रेरित भइरहनुभयो।
सङ्गीत क्षेत्रमा आफूभन्दा अग्रज व्यक्तित्वप्रतिको श्रद्धाभाव योगेश वैद्यमा झैं सम्भवतः अन्यमा निकै कम देखिन्छ। जीवनको उत्तरार्धसम्म पनि सुखदुःखका सहयात्री दुवै घण्टौं कुरा गर्थे, कहिले सङ्गीतका कुरा त कहिले समसामयिक कुरा गर्थे। प्रेमध्वज प्रधानभन्दा उमेरमा बाह्र वर्ष कान्छा हुनुहुन्थ्यो योगेश वैद्य। उमेरको यस अन्तरबिच दुवैको आपसी सम्बन्ध, आदरभाव यति मिठासपूर्ण रह्यो जसलाई शब्दमा पोख्न सकिन्न।
एकअर्काको नाम पछाडि जी उपसंज्ञा जोडेर सम्बोधन गर्थे योगेश वैद्यका प्रेमध्वजजी अनि प्रेमध्वज प्रधानका योगेशजी।
आकर्षक व्यक्तित्वका धनी योगेश प्रायः सुटमा चिटिक्क सजिनुहुन्थ्यो। आफ्नो कार्यकक्ष होस् या घरको नीजिकक्ष, सजावटमा आफ्नो मनपर्ने रङलाई सुन्दर ढंगमा प्रयोग गर्नुहुन्थ्यो। खानाका विशेष सौखिन, भित्रको कोमलपन, व्यवहारमा शिष्टता, आत्मविश्वासले भरिएको आँखा, ईश्वरीय अस्तित्व र मानवतालाई जीवनमा आत्मसात गर्ने ऊर्जावान् योगेश भन्ने गर्नुहुन्थ्यो, ‘हामी एउटै परिवारका हौं। म छु, बिनाहिचकिचाहट केही परे फोन गरिहाल्नू।’ अब हामीले आशिष्युक्त यी वचन सुन्न नपाउने भएका छौं।
अहिले झैं लाग्छ, त्यो क्षण उमेरले असी पार गरी सकेपछि गायन र रेकर्ड छोड्न परिवारको अनुनय विनय प्रेमध्वजलाई स्वीकार्य थिएन। मामालाई सायद जीवनभन्दा सङ्गीत प्यारो थियो। दिनमा जति घण्टा गाउँथे, त्यसको असरले नै होला, मामाको मुटुको गति झन् उच्च हुन थालेको थियो। प्रायः सङ्गीत क्षेत्रका व्यक्तिहरू मध्यम गायकहरूमा हृदयाघात हुने गरेको सुनेका हामीलाई झन् डर लाग्ने गथ्र्यो।
शाकाहारी मामाले झन् पछिल्लो समयदेखि खाना कम गर्दै लगेको कुरा योगेश अंकललाई राम्ररी जानकारी थियो। चिन्तित मुद्रामा मामालाई भन्नुहुन्थ्यो, ‘प्रेमध्वजजी, खाना कम नगर्नुस्। तपाईको जीवन र स्वास्थ्य पहिलो प्राथमिकता हो।’
त्यस दिन डा. प्रवीण श्रेष्ठले ‘केही दिन अस्पतालमा बस्नुहोला बुबा !’ भनेपछि प्रेमध्वज मामाले निराशापूर्ण स्वरमा योगेश अंकललाई फोनमा भन्नुभयो, ‘योगेशजी, म केही दिन अस्पताल बस्नुपर्ने भयो।’ जवाफमा योगेश अंकलले आश्वासन दिँदै भन्नुभएको थियो, ‘प्रेमध्वजजी, हत्तास नहुनू, केही दिन त हो। राम्ररी स्वास्थ्य परीक्षण गर्नु भई फर्कनुहोला।’
तर, विधिको विधान, योगेश अंकल र हाम्रो चाहनामा जुन बज्रपात भयो, त्यसको खबर सबैलाई छ।
मामाको निधनसँगै भावविह्वल हामीलाई धैर्य राख्न भने पनि योगेश अंकल स्वयम्लाई भने प्रेमध्वजको फोटो देख्दा होस् वा प्रेमध्वजका गीत सुन्दा, उनलाई सम्हालिन निकै कठिन हुर्ने गथ्र्यो। विलापमा भन्नुहुन्थ्यो, ‘हरपरिस्थितिमा आफूलाई संयमित राख्ने, दृढ इच्छाशक्ति, सबै पक्षबाट परिपूर्ण भएर पनि रतिभर अभिमान नभएका व्यक्ति। मुहारमा सदा मिठो मुस्कान ‘ओहो! प्रेमध्वजजी नरहनुको पीडा असहनीय छ।’
शारीरिक अस्वस्थताले केही वर्षदेखि सार्वजनिक कार्यक्रममा कम सहभागिता जनाउन थालेका योगेश अंकलले आफूलाई लेखनमा अझ क्रियाशील बनाउनुभएको थियो। अस्वस्थताले पनि उहाँको सङ्गीत साधनामा कमी आएन। गीत रिकर्डका लागि स्टुडियो पुग्न असमर्थ हुन थालेपछि घरमा नै गीत रिकर्डको व्यवस्था गरिएको थियो। वास्तवमै स्रष्टाका सिर्जनामा समय र बढ्दो उमेर पनि निस्प्रभावी हुँदारहेछन्।
शुक्रबार बिहानै सङ्गीतकार तथा रेडियो नेपाल संगीतशाखा प्रमुख मनराज नकर्मी दाइको कल देखेपछि हत्तपत्त फोन गरें। मूर्धन्य गायक सङ्गीतकार योगेश अंकलको निधनको खबर सुन्नेबित्तिकै टेकुस्थित उहाँको निवासमा फोन गरेर उहाँका छोरा लोकेशले खबरको आधिकारिकता पुष्टि गरे।
लोकेशले भन्यो, ‘साँझ अबेरसम्म पारिवारिक जमघटमा रमाउँदै बस्नुभएको उहाँलाई अचानक असहज महसुस भएपछि राति अचेत अवस्थामा सुन्धारास्थित हाल भ्याली अस्पतालमा पु¥याइयो तर बचाउन सकिएन।’
कस्तो संयोग! दुवै आत्मीय साधकको निधन स्थान एउटै अस्पताल हुन पुग्यो।
योगेश अंकलको पार्थिव शरीर नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलीका लागि केही समय राखियो र निधनपश्चात् आँखा दान गर्नुभएकाले उहाँका आँखा संकलनका लागि सम्बन्धित स्वास्थ्यकर्मीहरू पुगे।
अस्पतालदेखि निवाससम्म उहाँप्रति समवेदना प्रकट गर्नका लागि सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूका प्रतिनिधि, नेपाल सरकारका विशिष्ट व्यक्तित्व, ललितपुर महानगरपालिका मयेर चिरिबावु मर्हजनलगायत संगीत–साहित्य क्षेत्रका हस्तीहरूको उपस्थिति रह्यो।
वैद्यका निकट वासुशशी स्मृति परिषद्का सदस्यसचिव साहित्यकार प्रद्युम्न जोशीले भन्नुभयो, ‘योगेश दाइसँग संगीत र साहित्यबारे कुरा गरिरहन्थ्यौं। उहाँका गीतहरू मनपर्छ। गायकहरूमा पनि धेरै पढेलेखेका उहाँ संगीतमा साहित्य बुझेका व्यक्ति हुनुहुन्थ्यो। उहाँले बोल्दा नै साहित्य बोलेजस्तो लाग्थ्यो। अत्यन्त मिठासपूर्वक बोल्ने उहाँको व्यक्तित्वबाट म निकै प्रभावित छु। उहाँले कविता र गीतहरू पनि लेख्नुहुन्थ्यो।
पछिल्लो समय उहाँद्वारा लिखित गीतिकविता ‘समय प्रवाहमा छुटेका पलहरू’ सम्पादन गरी प्रकाशन गर्यौं, जहाँ कलाकारहरू अहिलेको समयमा पुरस्कार र सम्मानका लागि भनसुन गर्न पछि पर्दैनन्।
उहाँ यस्तो स्रष्टा हुनुहुन्थ्यो, जसमा पुरस्कार र पदकको कुनै लालसा थिएन। २०१४ सालदेखि अनवरत संगीत क्षेत्रमा लागेका राष्ट्र र संगीतबारे सदा चिन्तनमनन गरिरहनुहुने मेरो दाजुसमानका व्यक्ति गुमाएको छु ।’
यसैबिच पशुपति आर्यघाटको ब्रह्मनालमा योगेश अंकलको पार्थिव शरीर राखिएको समयमा विगत पाँच दशकभन्दा लामो आत्मीय सम्बन्ध भएका व्यक्तित्व, गायक, कलाकार मदनकृष्ण श्रेष्ठ भावविह्वल मुद्रामा एक्लै बिस्तारै हिँड्दै आउनुभयो।
पछि फोनमा भन्नुभयो, ‘पार्किन्सन रोगका कारणले मलाई एकोहोरो लामो हिँड्दा कठिन हुन्छ तर आँखाभरि योगेश दाइसँगको सम्झना झलझली आइरह्यो। मनले नमानेपछि योगेश दाइको अन्तिम दर्शन गर्न पुगें।
उताबाट घर फर्केलगतै बच्चु कैलाश दाइसँग फोनमा कुरा गरें। पहिलेको सम्झना ताजा भएर आयो। हामी वर्षको एकपटक, कहिले दुईपटक गरी रेडियो नेपालका सुरूदेखिका गायक सङ्गीतकारहरूको समूह पिकनिक जाने गरथ्याैं , जसमा शिवशंकर, नातिकाजी, पुष्प नेपाली, प्रेमध्वज प्रधान, बच्चु कैलाश, डा. राममान ‘तृषित’, पिएल श्रेष्ठ, रुबी जोशी, तवलावादक इन्द्रनारायण श्रेष्ठ, म र हरिवंश साथमा शक्तिवल्लभ हुने गरथ्याे। त्यस जमघटमा हामी प्रस्तुतिका लागि तयार गरिएका हास्यव्यङ्य प्रहसनहरू सुनाउने गर्थ्याै। त्यहाँ उपस्थित दाइहरूले ल ! राम्रो छ भन्ने प्रतिक्रिया पाएपछि हामी ती प्रस्तुति प्रर्दशन गर्न ढुक्क हुन्थ्यौं। बिस्तारै यो समूहका सबै एकएक गरी जानुभएको देख्नुपर्दाको पीडा व्यक्त गर्न सक्दिनँ।’
गत वर्ष प्रेमध्वज प्रधानको स्मृतिमा सांगीतिक संस्था खोल्ने र सो संस्थाको नामकरणसम्बन्धी जिज्ञासा राख्दा योगेश अंकलले सुझाव दिनुभयो, ‘जुन उपनामबाट प्रेमध्वजजी श्रोताहरू माझ परिचित हुनुहुन्छ, सोही उपमालाई कायम राख्दै संस्थाको नामकरण गर्दा बेस हुन्छ।’
उहाँको सुझाव अनुरूप हामीले संस्थाको नामकरण ‘गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’ गरेका थियौं। संस्थाको संस्थापक सल्लाहकारहरूमा उहाँलगायत प्रेमध्वज मामाकै निकटस्थ समकक्षीहरू राख्यौं। संस्थाको कार्यविधि उहाँहरूसँगको सरसल्लाहअनुसार तयार गर्यौं। संस्थाको पहिलो पुरस्कार तथा सम्मान कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।
कार्यक्रममा स्वास्थ्यले साथ नदिएकाले उहाँले प्रेमध्वज मामाको सम्झनामा भावुक हुँदै अडियो सन्देश पठाउनुभएको थियो। संस्थाको पहिलो पुरस्कृत एवम् सम्मानित व्यक्तित्व चयन गर्नेदेखिको महत्त्वपूर्ण जिम्मेवारी लिई हामीलाई सदैव मार्गदर्शन गर्नुहुने आदरणीय व्यक्तित्व परिवारका एक घनिष्ट मित्र एवं नेपाली सङ्गीत जगत्का मूर्धन्य स्रष्टालाई हामीले गुमाएका छौं।
अन्त्यमा, अस्पतालदेखि आर्यघाटसम्म योगेश अंकलको अन्तिम यात्रामा सम्मिलित हुँदा मेरो मानसपटलमा बाल्यकालदेखि दुवै संगीत साधकबिच देख्दैआएका ती तमाम स्मृति आँखाभरि झलझली आइरहे। जसको सामीप्यमा बाल्यकाल बित्यो, बाबासमान मामा गुमाएको तीन वर्ष नबित्दै केही दिनअघि मात्र जन्मदिने बुबाले पनि संसारबाट बिदा लिनुभयो। यो पीडामा सम्हालिन नपाउँदै पिता अनि गुरुसमानका आत्मीय योगेश अंकल सदाका लागि जानुभयो। अब सम्झनामा केवल उहाँहरूबिचका यी आत्मीय पलहरू छन्।
प्रकाशित: २० माघ २०८० ०६:४८ शनिबार