७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रुग्ण उद्योग खोज्दै लुम्बिनी सरकार

लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको असोज अन्तिम सम्म उद्योग प्रशासन तर्फका ३ हजार ६ सय ५८ उद्योग नवीकरण हुँदा ९ सय ४० वटा नयाँ उद्योग दर्ता भए। ९ सय ४० उद्योग दर्ता हुँदा ६ सय १८ उद्योग बन्द भए। लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका अनुसार उद्योग खारेजीको यो संख्या अघिल्ला बर्ष भन्दा बढी हो।

यसै गरी मन्त्रालयको तथ्याङ्क अनुसार वाणिज्य प्रशासन तर्फका उद्योगहरुको अवस्था पनि उस्तै देखिन्छ। वाणिज्य प्रशासन तर्फ ३ हजार ९ सय ५३ उद्योग नवीकरण हुँदा १ हजार २ सय ७६ उद्योग नयाँ थपिए। तर ६ सय ४९ उद्योग खारेज भए। मन्त्रालयका उद्योग शाखाका वरिष्ठ शाखा अधिकृत सन्तोष कुमार सुवेदी भन्छन् ‘उद्योग दर्ता प्रति जुन उत्साह देखिनु पर्ने हो त्यो एकदमै न्यून छ, अहिले खारेजीको अवस्थालाई हेर्ने हो भने प्रदेशमा रुग्ण उद्योगहरुको संख्या धेरै छ भन्ने सहजै आङ्कलन गर्न सकिन्छ।’

मन्त्रालयका अनुसार कोरोना काल देखि उद्योग सञ्चालनमा समस्या देखिन सुरु भएको हो। त्यसयताको लगातारको आर्थिक मन्दीका कारण उद्योग सञ्चालनमा कठिनाइ उत्पन्न भइरहेको देखिन्छ। उद्योग खारेजीको संख्या बढ्दै जान थालेपछि उद्योगको सहज सञ्चालनको वातावरण कसरी निर्माण गर्ने भन्ने बारे उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले उपायको खोजी गर्न थालेको छ। 

अहिले रुग्ण अवस्थामा चलिरहेका उद्योगहरूलाई कसरी चलायमान बनाउने भन्ने बारेमा मन्त्रालयले प्रदेशका यस्ता रुग्ण उद्योगहरुको पहिचान गर्ने भएको छ। ‘प्रदेशका १२ वटै जिल्लाका उद्योगहरुको अवस्था हेर्ने हो भने खारेजी हुने संख्या बढ्दै गएको देखिन्छ, यसले के पुष्टि गर्छ भने उद्योग सञ्चालनमा अहिले निकै कठिनाइ उत्पन्न भइरहेको छ,’ उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले भने ‘उद्योग सञ्चालनमा देखिएका व्यवधान कसरी हटाउन सकिन्छ भन्ने बिषयमा हामी गम्भीर छौँ, अब यसको कारणको खोजी गरी मन्त्रालयका तर्फबाट उद्योगको सहज सञ्चालन गर्ने वातावरण निर्माण गर्न हामी गम्भीर रुपमा लाग्छौँ।’ 

उनका अनुसार पहिलो चरणमा प्रदेश भरी रुग्ण अवस्थामा रहेका उद्योगहरुको पहिचान गरिने भएको छ। उद्योगहरु रुग्ण बन्नुको कारण खोजी हुने छ र यस्ता रुग्ण उद्योगहरूलाई चलायमान बनाउनका लागि मन्त्रालयले गर्न सक्ने आवश्यक सहयोग एवं समन्वयको योजना बनाउने भएको छ। ‘हामी पहिला प्रदेशमा रहेका रुग्ण उद्योगहरुको संख्या, उनीहरूको अवस्था पहिचान गर्छौँ,’ मन्त्री न्यौपानेले भने ‘रुग्ण हुनुको कारण पहिचान गरेर यस्ता उद्योगहरूलाई चलायमान बनाउन मन्त्रालयले ठोस योजनाका साथ काम गर्ने छ।’

प्रदेशका १२ वटै जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयहरुलाई यस्ता रुग्ण उद्योगहरुको यकिन पहिचान गर्न मन्त्री न्यौपानेले निर्देशन दिने छन्। सोही निर्देशन अनुसार उद्योग कार्यालयहरू मार्फत रुग्ण उद्योगहरुको संख्या र अवस्था यकिन गरिने भएको छ। ‘कुनै पनि उद्योग व्यवसाय सहज तरिकाले चलायमान बनाउनका लागि उचित वातावरण निर्माण गरिनु पर्छ, अहिले उद्योग व्यवसाय सञ्चालन गर्न नसकेर कैयन उद्योगी, व्यवसायीहरू विदेश पलायन हुनु परिरहेको तितो यथार्थता छ,’ मन्त्री न्यौपानेले भने ‘यहाँका उद्योगहरूलाई सहज रुपमा सञ्चालन गर्ने वातावरण निर्माण गरेर प्रदेशको समृद्धिको लक्ष्य पुरा गर्ने योजनामा मन्त्रालय लागि परेको छ।’

मन्त्री न्यौपानेले यस्ता रुग्ण उद्योगहरुको पहिचान पश्चात् सरकारका तर्फबाट आर्थिक सहायताको कार्यक्रम तय गरिने समेत बताए। यसका बिषयमा मन्त्रालयका सम्बद्ध अन्य अधिकारीहरुसंग समेत छलफल गरेर योजना बनाइने उनको भनाई छ। ‘रुग्ण उद्योगहरुको पहिचान गरेर उद्यमीहरूलाई आर्थिक सहायता उपलब्ध गराउने गरी योजना बनाइने छ,’ मन्त्री न्यौपाने भने। 

मन्त्रालयका उद्योग शाखाका वरिष्ठ शाखा अधिकृत सन्तोष कुमार सुवेदीले यस आर्थिक वर्षमा रुग्ण उद्योगहरूका बारेमा सूक्ष्म अध्ययन गरेर ठोस योजना निर्माण गर्न आवश्यक रहेको बताए। ‘मन्त्री स्तरीय निर्णयका आधारमा हुन्छ वा मन्त्री ज्यूको निर्देशनकै आधारमा पनि सम्बन्धित कार्यालयहरूबाट रुग्ण उद्योगहरुको यकिन तथ्याङ्क पहिचान गर्ने काम सुरु गर्न सकिने छ,’ वरिष्ठ शाखा अधिकृत सुवेदीले भने ‘चालु आर्थिक वर्षमा यस्ता उद्योगहरुको पहिचान गरेर आर्थिक सहायता सहितको कार्यक्रम सञ्चालन गर्ने योजनामा हामी छौँ।’ 

प्रकाशित: ७ मंसिर २०८१ १४:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App