१२ असार २०८१ बुधबार
image/svg+xml
कला

विदेश बुझेका देश बनाउने परिश्रमी पाखुरा

पाैरख

वैदेशिक रोजगारीलाई ठगीको सञ्जाल मात्र भनेर बुझ्ने हो भने अन्याय हुन्छ। यससँग धेरै परिवारको रोजीरोटी जोडिएको छ। कैयन् परिवारमा खुसी फर्काएको छ। यो पत्नीको धोती, आमाबाको रोटी, नानीको शिक्षा र सिंगो परिवारको भविष्य पनि हो।

हो, यसै सिलसिलामा केहीले आफ्नो जीवन गुमाएका छन्। यसको अर्थ पूराका पूरा खराब भएको छ भन्ने होइन। जीवनमा आधी गिलास खाली मात्र हुँदैन, भरिएको पनि हुन्छ।

वैदेशिक रोजगारीमा गएका युवाले प्रत्येक वर्ष भित्रयाएको रेमिट्यान्स परिवारको खुसी मात्र होइन, यसले देशका निम्ति अपरिहार्य विदेशी मुद्रा पनि दिएको छ। विदेशमा काम गर्न जाने भनेको पैसा कमाउन मात्र होइन, यो भनेको ज्ञान, सिप, संस्कार, संस्कृति, भाषा पनि हो। आफू बसेको देशभन्दा टाढा गएर काम गर्दा पक्कै पनि नयाँ अनुभव हुन्छ। यो अनौपचारिक शिक्षाजस्तो बन्न पुग्छ। यसले मुलुकमा कामको नयाँ संस्कृतिसमेत भित्रयाएको छ।

 
देशमै बसिरहँदाभन्दा विदेशबाट आएपछि देशलाई हेर्ने दृष्टिकोण भिन्न हुन्छ। देशभित्र बस्न पाउनु भनेको परिवारसँगको सहयात्रा हो। परिवारसँग टाढा बस्नुपर्दाका पीडाले पनि देशलाई अझ नजिकबाट बुझ्ने अवसर प्राप्त हुन्छ।

परिवारकै मूल्यका बारेमा पनि व्यक्ति बढ्ता जानकार र संवेदनशील बन्छ। घरैमा बसेर यहाँ काम नगर्दा पनि भोकै भइन्न। तर, विदेशी भूमि त्यति सहज हुँदैन। वास्तवमा युवालाई श्रमको महत्त्व बुझाउने पाठशाला बन्न पुगेको छ -वैदेशिक रोजगारी। यसले युवामा देशमै बसेर मेहनत गर्ने सोचको विकास गर्छ। आफ्नै देशमा पसिना सिञ्चन गर्ने हो भने त्यसले समृद्धि ल्याउँछ भन्ने ज्ञान तिनलाई हुन्छ। 
विदेशबाट फर्केका युवाको अनुभूति हुन्छ-ओहो! देशमै यस्तो मेहनत गर्नुपर्ने रहेछ। विदेशबाट फर्केपछि यहाँ व्यापार व्यवसाय गर्ने युवा संख्या ठुलो छ। अहिले आफैं उद्यम गर्न पनि ती तत्पर भएका छन्। घरैमा बसिरहेको युवाभन्दा विदेशबाट फर्केकोमा भिन्न सोच र चेतना अभिवृद्धि भएको पाइन्छ। अचेल देशका कुनाकुनामा यस्ता नयाँ सोचयुक्त व्यक्तिहरू पाइने गरेको छ।

वास्तवमा वैदेशिक रोजगारी एक अध्ययन हो। बिदेसिएका युवाले अनौपचारिक ढंगले धेरै पाठ सिकिरहेका हुन्छन्। विदेशमा उनीहरूले काममात्रै गरेका हुँदैनन्, स्वदेश फर्केका यी युवाहरू देशका नव निर्माता हुन्। हामीले ढुक्कसँग भन्न सक्छौं- हो, उनीहरूले नेपाल बनाउँछन्।

तिनले विदेशमा सिन्चेको पसिना, सिकेको ज्ञान र आर्जन गरेको आम्दानीले नेपाल बनाउन मद्दत पुग्छ। तर, यो सधैंको विकल्प होइन। वैदेशिक रोजगारी सधैं उपलब्ध नहुने हुनाले यसको विकल्प देशभित्रै तयार गर्न पनि यो जनशक्ति कामलाग्दो छ। 
वैदेशिक रोजगारीमा अनेकन् हन्डर र ठक्कर खाएर फर्केपछि छोराछोरी यथार्थमै पक्का बन्छन्। देशमा यस्ता युवा हामीले कहिले ट्याक्सी चालकका रूपमा देख्छौं त कहिले पशुपालक किसानका रूपमा। गाउँमै उद्यम गरेर वा ससानो व्यवसाय गरेर थुप्रैले अहिले आफू र परिवारको भविष्य बनाइरहेका छन्। यिनले नेपालीमा उद्यमशीलताको विकास गरिरहेका छन्।

विदेशको रोजगारी पूरा गरेर देश फर्केका युवामा रोजगारी सिर्जना गर्ने क्षमता देखिन्छ। वैदेशिक रोजगारीले नेपालको कृषि तथा उद्योग क्षेत्रमा थप आधुनिकीकरण गर्न सहयोग पुग्दैछ। देशलाई गतिशील बनाउन यिनका पौरखी पाखुरा कामयाव हुँदै छन्।

विदेशबाट फकिएका युवाले विभिन्न व्यवसायमा सफलता हासिल गर्न थालेका छन्। विस्तारै यस्ता उद्यमीसँग देश परिचित हुन थालेको छ। वैदेशिक रोजगारीले धेरै परिवारलाई सफल बनाएको छ। हो, केही परिवारमा समस्या पनि देखिएका छन्। ती सामाजिक समस्यालाई नै देखाएर वैदेशिक रोजगारीलाई खराब देखाउनु उचित हुन्न।

दुईचार पटक ठगीमा परेपछि मात्रै विदेशमा काम गर्न पुगिन्छ भन्ने धेरैलाई लाग्न सक्छ। अचेल ठगीका समाचार धेरै आउने भएकाले पनि सबै यसरी ठगिने हुन् कि भन्ने लाग्न सक्छ। त्यो मात्र यसको पाटो होइन। वैदेशिक रोजगारीका लागि एकैपटकको प्रयासमा विभिन्न देश पुगेका युवाहरू पनि थुप्रै छन्। तर, समाचारमा आउने भनेको नकारात्मक पक्ष मात्र हो। त्यो पनि सुधारका निम्ति दिइएको हो। तर, यसका कैयन् सकारात्मक पक्ष छन्।

हिजो परालको छानो भएको घर आज टिनमा परिवर्तन भएको छ। वैदेशिक रोजगारीबाट आएको रकमलाई सन्तानको शिक्षामा खर्च गर्ने बुद्धिमान परिवार पनि कैयन् छन्। यसले भावी नेपालको नक्सा परिवर्तन गर्ने निश्चित छ।

धेरै नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका छन्। बल र उमेरले साथ दिँदासम्म उनीहरूलाई विदेशी वातावरणले तानिरहेको छ।

उमेर ढल्कँदै गएपछि अधिकांश व्यक्तिहरू सिप, ज्ञान र पुजीसहित स्वदेशमै फर्कने गर्छन्। धेरै व्यक्तिले वैदेशिक रोजगारपछि देशमै सम्भावनायुक्त व्यवसाय गरेर रोजगार सिर्जना पनि गरेका छन्।

त्यसैले वैदेशिक रोजगारीमा जाने नेपालीलाई इज्जतका साथ हेर्ने वातावरण यो समाजले निर्माण गर्नुपर्छ। 
हो, अवैध ढंगले विदेश जान र लान खोज्नेहरू पनि छन्। अमेरिकाजस्ता आकर्षक मुलुकमा ‘तल्लो बाटो’ अर्थात् अवैध ढंगले लैजान खोज्नेहरू पनि छन्। रुकुम (पूर्वी र पश्चिम), दाङ आदि गाउँ खाली भएका छन्। उनीहरू विभिन्न माध्यमबाट विदेश गइरहेका छन्। यसरी विदेश जानेहरू स्वदेश फर्किने सम्भावना कम हुन्छ। तर, अन्य देशमा रोजगारीका निम्ति गएकाहरू अवश्यै आउँछन्।

अहिलेसम्मको तथ्यांकगत प्रवृत्ति हेर्दा वैदेशिक रोजगारीमा जान खोज्ने करिब १० प्रतिशत युवा ठगीमा पर्ने गरेको देखिन्छ। बाँकी सबै युवालाई वैदेशिक रोजगारीमा सफल र आत्मनिर्भर गराएको छ।

परिवारका एक सदस्य वैदेशिक रोजगारीमा जाँदा मात्रै पनि यहाँ जीवनस्तर सुध्रिएको छ। देशभित्रै उद्योगधन्दाको विकास हुन सकेको भए स्थिति फरक हुन्थ्यो। वैदेशिक रोजगारीलाई नै विकल्प मान्नुपर्ने थिएन। यो बाध्यताको व्यवस्था हो। यसैलाई सर्वसाधारणले उपयोग गरेका हुन्।

सबै परिवारको पुख्र्यौली सम्पत्ति हुँदैन। एकै पुस्ताको जीवनमा परिवर्तन ल्याउने माध्यम भनेकै अहिले वैदेशिक रोजगारी मात्र देखिएको छ। वास्तवमा विकासका निम्ति मानव स्रोत कच्चा पदार्थजस्तो हो। देशभित्रै तिनको उपयोग हुन सकेको भए त्यसले उत्पादन र उत्पादकत्व बढाउन मद्दत पुग्ने थियो। तैपनि मानव स्रोत मात्रै विदेश पठाउँदा पनि परिवारले आफूलाई सुधारिएको अवस्थामा पाएका छन्।

मानिसले उन्नति गर्ने हो भने सपना देख्न छाड्नुहुन्न। तर, यस्ता सपना देखेपछि कार्यान्वयन गरिहाल्नुपर्छ। सपना कार्यान्वयन गर्ने एउटा माध्यम वैदेशिक रोजगारी बनेको छ। यसबाट फर्केर आएपछि धेरैले उद्यम गरेर आफैंलाई ‘मालिक’ बनाउन समेत सफल भएका छन्।

हालै दक्षिण कोरिया सरकारले सञ्चालन गरेको रोजगार अनुमति प्रणाली (इपिएस)बाट फर्केका व्यक्तिहरूको सफलताको कथा सार्वजनिक भएको छ। ‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ पुस्तकमा समेटिएका व्यक्तिहरूलाई मात्र हेर्दा पनि सुदूर क्षितिजमा आशाका किरण देखिन्छन्। हो, फर्केजति सबै उद्यमी बन्न नसक्लान्, तर वैदेशिक रोजगारीबाट ल्याएको आयलाई सदुपयोग गर्नेले जीवन परिवर्तन गरेका छन्। परिवारमा खुसी ल्याएका छन्।

वैदेशिक रोजगारले सपना साकार पारेकामध्ये पर्वतका सामान्य परिवारमा जन्मेका सूर्र्यप्रसाद न्यौपानेलाई मात्र हेरे पनि उद्यमशीलताबारे बुझ्न सकिन्छ। दक्षिण कोरियाको वैदेशिक रोजगारीबाट फर्किएर सन् २०१२ बाट कागजबाट बन्ने काडबोर्ड बक्स, कार्टुन बक्स उद्योग स्थापना गरेर उनी अनुकरणीय व्यक्ति बनेका छन्।

कर्णालीका हेमन्तकुमार दर्लामीले पारिवारिक अवस्थालाई उच्च स्थानमा राखी स्वदेशमै ‘साबुनले कर्णाली धुँदैछु’ व्यवसाय सञ्चालन गरेका छन्। समाजमा ठाउँ ठाउँमा यस्ता व्यक्ति देखिन थाल्नु सुखद पक्ष हो।

त्यसैले वैदेशिक रोजगारीलाई एउटा ठगीको माध्यमका रूपमा मात्र लिएर नकारात्मक चित्रण गर्नुभन्दा आफैं सचेत बनेर स्रोत र सिपतर्फ आफूलाई लगाउनु उचित हुन्छ। विदेश जान खोज्नुअघि राम्रोसँग जानकारी लिने, तालिम प्राप्त गर्ने र सही किसिमका व्यक्ति तथा संस्थाको सेवा लिन सक्ने हुनुपर्छ। त्यसो भयो भने ठगिनुपर्दैन।

सरकार आफैंले पनि सर्वसाधारण नठगिने गरी व्यवस्था मिलाउन सक्छ। वैदेशिक रोजगार व्यवसाय चलाउने व्यक्तिहरूले पनि आफ्नो व्यवसाय बदनाम नहुने उपाय खोज्नुपर्छ। त्यसो भयो भने अहिले ठगी व्यवसायका रूपमा चिनिएको काममा इज्जत बढ्छ।

जिम्मेवार बन्ने सबैभन्दा पहिले आफैं हो। वैदेशिक रोजगारीमा जान चाहने व्यक्ति नै पहिले सचेत हुनुपर्छ। त्यसका निम्ति स्थानीय तहका सरकारले यो जिम्मेवारी लिएर तिनलाई सजग तुल्याउनु उचित हुन्छ। हाल मुलुकमा अन्य विकल्प छैनन् भने तिनलाई नै व्यवस्थित तुल्याउनुपर्छ। वैदेशिक रोजगारी केही समयका निम्ति मात्र हाम्रो बिचमा छ। यसलाई व्यवस्थित तुल्याउने हो भने विदेशको सिपलाई स्वदेशको उत्थानमा लगाउन सकिन्छ। बरु विदेश गएर फर्केका व्यक्तिहरूको रोस्टर बनाएर तिनलाई सदुपयोग गर्नेतिर ध्यान दिन सकिन्छ। यी पौरखी पाखुरालाई यत्तिकै खेर जान नदिऔं। 

प्रकाशित: २० माघ २०८० ०६:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App