३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
कला

अझ रामायणमा रामकै नाम बदल्न पाए हुन्थ्यो!

मुक्तक

१) मुक्तक

तिम्रा ती नजरबाट कही कतै बसाइँ सर्न सकिएन,

शीतले घैला भर्छु भन्थे तर खै घैला भर्न सकिएन।

वारिबाट हेरिरहे पारिबाट तिमीले टुलुटुलु हेरिरह्यौ,

बीचमा रह्यो परिबन्धको ठूलो जँघार तर्न सकिएन।

(२) मुक्तक

जून बदल्न पाए हुन्थ्यो घाम बदल्न पाए हुन्थ्यो,

अझ रामायणमा रामकै नाम बदल्न पाए हुन्थ्यो।

कोसिस खुब गरियो आएको खाम खोतल्न हजुर,

खै कस्तो छ चिठी हेर्न खाम बदल्न पाए हुन्थ्यो।

(३) मुक्तक

परिस्थितिअनुसार काम गर्न सक्छु भन्नु गल्ती हुन्छ र,

शीतलाई उवाएर घैलो भर्न सक्छु भन्नु गल्ती हुन्छ र।

नाच्ने मान्छेको खुट्टी देख्दैमा चाल पाइन्छ त हजुर,

झन् भ्यागुताले सागर तर्न सक्छु भन्नु गल्ती हुन्छ र?

(४) मुक्तक

असत्यलाई जिताउनका निम्ति सत्यलाई पराजित गराउँछन्,

त्यही शक्तिको आडभरोसामा मान्छेलाई भयभीत गराउँछन्।

सोच्नेले नसोचेपछि बुझ्नेले कुरा नबुझेपछि कथा मोडिन्छ र,

अपराधीको भव्य सम्मान गर्दै निर्दोषलाई दण्डित गराउँछन्।

५) मुक्तक

मन्दिरमा राखिए देवता हुन्छ बगरमै भए ढुंगो हुन्छ,

व्यवहारिक बोझले थिचिंदा मुटु झन् -झन् गह्रँगो हुन्छ।

एउटै पाइलामा जोल्ठिएर खुब नापिन्थ्यो गाउँबेसी,

आँखामा ती दृश्य नाँच्दा पनि मन कति हलुँगो हुन्छ।

प्रकाशित: १३ माघ २०८० ०५:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App