२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

तस्करलाई छाता ओढाएर भन्छ, यहाँ तस्कर आउँदैन!

मुक्तक

१) मुक्तक

यहाँका टाठा बोक्रेहरुलाई टाई आएको छ,

थाप्लोमा टेकेर थिच्नलाई दाइ आएको छ।

मर्न नसकेर जिउँनेहरूको लस्कर देखेर,

जाँगरिलो मृत्युलाई पनि हाई आएको छ!

२) मुक्तक

आवाज छ भन्दैमा मान्छेले अनावश्यक कराउन जरुरत छैन,

निर्धो छ भन्दैमा मान्छेले अनावश्यक डराउन जरुरत छैन।

सहअस्तित्वमा पनि मज्जाले बाँच्न र बचाउन सकिन्छ,

बलियो छ भन्दैमा मान्छेले मान्छेलाई हराउन जरुरत छैन।

३) मुक्तक

जीवन हाम्ले हैन, उस्ले भनेजस्तै हो,

स्वार्थ पाल्नु आफ्नै खाल्टो खनेजस्तै हो।

हामीले जोडेका सम्पूर्ण ऐश्वर्यहरू,

बैंकको खजान्चीले पैसा गने जस्तै हो!

४) मुक्तक

संघर्ष र दुःखका अनन्त सगरमाथाहरु पनि चढौं न,

जस्का लागि कोही लडेन उस्का लागि पनि लडौं न।

यहाँ सधैं बलिया र जित्नेको मात्र इतिहास पढियो,

अब निर्धा र हरुवाहरूको इतिहास पनि पढौं न!

५) मुक्तक

बाजमाथिको शासन फिस्टे चराबाट चल्नुपर्थ्यो,

स्वर्गमाथिको शासन यही धराबाट चल्नुपर्थ्यो।

सिंहदरबार त निरंकुशताको प्रतिबिम्ब थियो,

देशमाथिको शासन खेतका गराबाट चल्नुपर्थ्यो!

६) मुक्तक

बुझ्नै गाह्रो रै’छ हजुर यो देशको भेउ,

जता हे–यो उतैतिर लागिरा’छ लेउ।

‘अति दुर्घटनाग्रस्त क्षेत्र हो यो’ भनी,

जहाँबाट पनि देख्ने पट्टा लगाइदेउ!

७) मुक्तक

सायद यहाँ लेख्नुपर्ने कुराहरू नै लेखिंदैनन्,

नछेक्ने कुरा हैन, छेक्नैपर्ने कुराहरू पनि छेकिंदैनन्।

अचेल बजारमा भ्रमका चश्माहरू खुबै बिक्छन्,

त्यसैले केशविहीन तालुका पनि जुम्रा देखिदैनन्!

 ८) मुक्तक

पत्करमाथि बसेर भन्छ, अब पत्कर आउँदैन,

तस्करलाई छाता ओढाएर भन्छ, यहाँ तस्कर आउँदैन।

जुन चश्माले हेरे पनि आफ्नै अनुहार मात्र देखिन्छ,

हिसाब त मिलाउन खोजेखोजेझैं गर्छ, तर उत्तर आउँदैन।

९) मुक्तक

बोटमा फुलेका थुँगाहरु मिलेकै छन्,

तालमा राखिएका डुंगाहरू मिलेकै छन्।

मान्छेहरु मात्र किन दुश्मनी पाल्छन्?

बाटोमा ओच्छ्याएका ढुंगाहरू मिलेकै छन्!

१०) मुक्तक

उद्यानबाट बहुरंगी फूलहरू रोज्नुपर्छ,

चट्ट मिलाएर यौटै सुत्र खोजी जोड्नुपर्छ।

अनुहारको भीडमा अनुहार चिनाउन,

अरुजस्तो हैन आफ्नै शैली खोज्नुपर्छ!

प्रकाशित: १३ माघ २०८० ०१:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App