७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

बुहारीको तिलहरी

नाम पनि बाले नै जुराइदिए। वा, भनूँ रोजे ‘सोमती’। पल्लाघर तिलोकराम काकाकी छोरी सङ्क्रान्ति बजारमा माल खेप्ने ट्रक ड्राइभरसँग चम्पट कसेपछि आफ्नी छोरीले पनि नाकमा ‘गु’ दल्ने भई भनेर त्राहिमाम् भएका मैपति भट्टराईले छोरीको नाम नामैले सपार्छ भनेर ‘सोमती’ राखिदिए सानैमा।  

मैपति भट्टराई गाउँभरिका गफाडी हुन्। उमेरमा आसाम पुगेर देश खाई शेष भएकोदेखि हिन्दुस्तानका कटियार, पटनासम्म चहार्दा रिक्सा तान्ने देशी भाइको ठग्ने चाला बेलैमा बुझेर दुई गोर्खे लबटो हानिदिएको जस्ता पौरुषार्थका कुरा मेला, मलामी, पूजा, बाटो, चियापसल जहाँसुकै कहिल्यै नछुट्ने गफ हुन्।

मैपतीका सँगैका दौंतरीहरू कोही एसएलसीसम्म, कोही आइएसम्म पढेर ऊबेला सजिलै पाइने मास्टरी जागिर खाएर, हुलाकी जागिर खाएर गाउँमा ‘सर’को परिचयले हिँडडुल गरेर खान्छन्। मैपतिले भने खासै पढेनन् स्कुले विद्या।

तैपनि गुणरत्नमाला, सयपत्रीको थुँगो आदि आफ्ना बेलाका चलेका सिलोकका किताब पढेर जीवनोपयोगी ज्ञान र विद्या लिएका छन् उनले। उस्तै परे ती पुस्तकका दुईचार सिलोक मुखाग्रे भट्याउँदै ठाउँ ठहर मिलाएर ठुला कुरा गर्ने, टिमुर्किएका कुरा गर्ने ठेट्ना, बकेर्ना ‘अचेलका मान्छे’लाई दनक दिइहाल्छन् उनी।  

धानखेत, बारीको पाटो, गाई भैंसीको गोठ यस्तैमा बित्छ उनको दिन। अहिले त सहकारीले ‘बिउ बहर’ किनेर उनलाई पाल्न, पोस्न दिएको पनि छ। एउटा फोन पनि सहकारीले नै किनिदिएको छ मैपतीलाई। त्यो फोनमा सात गाउँका गाईधनीको फोन आउँछ, साँढे ल्याइदिनुपर्‍यो गोठमा भनेर। एउटा गाईलाई साँढे लगाएको हजार तोकिदिएको छ सहकारीले।

त्यसमा मैपतीलाई साँढेको खानाखुराक र परिश्रमबापतको छ सय, सहकारी कोषलाई चार सय जान्छ। तर गाई भएका ठाउँमा साँढे आफैं पुर्‍याउने माग आयो भने दुरी हेरी उनलाई नै दाम तोक्न पाउने अधिकार दिएकाले मैपती १५०० सम्म ठटाउँछन् साँढे घरघर लगेको। त्यसो गर्न पाए उनको कमाइ बढेर एउटै ‘प्रकरण’बाट हजारमाथि गोजीमा आउँछ।

दिनमै दुईतीन गाईगोठसम्म गौमाता-साँढेको मिलन गराउन पुग्छन् भट्टराई कहिले त। यसरी उनको कमाइ पढेका मास्टर, सरहरूको भन्दा धेरै हुन थालेको छ साँढेबालीबाट। उता खेतबालीको आयस्ता त छँदै छ। मनग्य आम्दानी दिए पनि मैपतीलाई साँढेबाली इलमको एउटै बिस्मात चाहिँ के भने छँदाखादाको नाम मैपतीको साटो मान्छे उनलाई ‘साँढे भट्टराई’ भन्न थालिसके  

वारिपारि गाउँमा।

यिनै भट्टराईकी कान्छी छोरी हुन् सोमती। उसको न्वारानको नाम त ‘खिनमाया’ नै थियो। घरमा त अझै आमाले न्वारानकै नामले बोलाउँछिन्। स्कुल, साथीभाइमा चाहिँ सोमती। खानलाउन खेतबारी भएकै भट्टराई परिवारमा जन्मिएकी भए पनि अन्नपातको कंगाल घरमा जन्मिएकी जस्ती धरमभाट दुब्ली भएकीले उसलाई घरमा त ‘लुते’ पनि भनेर बोलाए रिस उठेका बेला ऊमास्तिरकी दिदी, मुनिको भाइ र बाउआमाले। घरमा पाहुनापासा, नौलोपौलो कोही आएको बखत चाहिँ आमा ‘खिनमाया’, ‘खिनु’ आदि भनेर अलिक चेपारो धसेर काम अह्राउँथिन्। नत्र त सबैकी ‘खिने’ हो सोमती।  

सोमतीलाई त आफ्नो नाम ‘निरु’ राखूँ लाग्यो अलिक जान्ने भएपछि। मेहन्दी पोतेर र डटपेनले कोरेर कतिपल्ट ‘निरु’ उतारी उसले आफ्नो नाडीमा। तर के गर्नु बाको मर्जी चल्यो उसको नाममा। सोमतीमै हुर्केर गई ऊ।  

नौ क्लास उक्लेर दसमा टेकेकी मात्रै थिई सोमतीले। पढाइ त्यस्तो विधि नर्स, डाक्टर हुने पाराको थिएन उसको। एक दुई, एक दुई विषय दागी लाग्दैवर्दै बल्लतल्ल उक्लेकी हो दस कक्षासम्म पनि। हेरिनसक्नुकी फुकीढल दुब्ली नि। पोहोरदेखि त अलिक जिउ लिन थालेर हेर्न हुने भएकी थिई ऊ। 

जुँगाका रेखी बस्न थालेकाहरूले देख्दा सारै ‘छि’ भन्नुपर्ने देखिन्न ऊ अचेल। डिलमुनि कान्छीका बिहेमा जन्ती आएका पारी तमाखेका लर्केठिटा मौरीझैं भनभनी घुमे रे सोमती वरिपरि। जन्तीलाई खुवाउने भतेरमा सर्बत बाँड्न उभिएकी सोमतीसँग तिर्खा नलागे पनि सर्बत मागेर खाने तोर्पेहरूको भिड थामिसक्नु थिएन रे, बिहेपछिको गाइँगुइँअनुसार।

बिहेघर खाइसकेकी सोमतीकी जेठी दिदी पुनेले आफ्ना मामाससुरा सिमलडाँडे संजेलका कान्छा छोरासँग मिल्छ खिनेको जोडी भनेर कुरो ल्याई। संजेल पुत्र कान्छो यसै दसैंमा साउदीबाट छुट्टी आउने निधो पनि पुनेले नै ल्याई।

बा हौसिए। छोरी भनेकै बिहे गर्न र अर्काको दैलो पोत्न जन्मेकी भनेर जानीबुझी र बेहोरी आएकी आमा डिलमाया भट्टराई त झन् कुरो मिल्छ र नाडी जुध्दैन भने किन नाइँ भन्थिन्।  

मैपती उर्फ ‘साँढे भट्टराई’का सम्धी हुने सम्भावना बोकेका सिमलडाँडे संजेल अर्का ‘एक किसिम’का आदमी हुन्। मकैको खोस्टो भेटे खोस्टो, कटुसको पात भेटे पात, भुराको कापीको पानो भेटे त्यसैमा कंकड बेरेर फुइँ लगाएको लगाई गर्नुपर्छ छिनछिनमा सिमलडाँडेलाई।

गाउँमा कोही सिग्रेट बोकेको मान्छे आयो भने चाहिँ एउटा मागेर काजी पाराले नस लिएर तान्दै औंला पड्काएर खरानी झार्छन् उनी। चिया पसलमा सिग्रेट तान्न पाएका बेला कुरा पनि अलिक गर्मी निकाल्छन्। जस्तै, अर्काले दिएको सिग्रेट पड्काउन पाए भने ‘बिपीका छेउमा गिरिजा त गन्तीमै आउँदैन नि’ भनेर कुरो झिक्छन्।

गाउँमा कसका घरमा बाख्राका पाठापाठी कति जन्मिए, बोका कत्रा भए, कुन पर्वलाई कसका घरका खोरमा माल किन्न पाइन्छ, गाउँभरिको लेखो राखेका हुन्छन् सिमलडाँडे। गाउँ पसेर एउटा खसी घिसार्दै ल्याएर दोकानडाँडामा खसी काट्ने उर्दी चलाएर माहोल निकाल्न उस्तै सिपालु छन् संजेल। 

उनको खसी मार हान्ने उर्दीले भेला भएका गाउँलेहरूले नहुँदा पनि स्थानीय पसलमा दुईचार पला चिया, केही पुरिया बिस्कुट, केही बट्टा खुकुरी सिग्रेट, मरमसला किनेर दोकानेका ग्राहक भइदिन्छन्। उस्तै झ्वाँक्की परे भने दुईचार बोतल बियर र खसीको भुटुवा चिया दोकानेलाई भुट्न लगाएर तासको खाल जमाएर दिनभरि बसिदिन्छन्। सिमलडाँडेको ‘एक खसी कटाइ, दस व्यापार’को इकोसिस्टम बुझेका छन् दोकानेले। त्यही भएर दोकानेहरू संजेललाई खसी काट्न उक्साइरहन्छन्।  

कुरामा कुरा, एकदिनको कुरा।  

‘निरोला पिउनलाई आधा किलो, गने काकालाई एक किलो’ चिया दोकानको बेन्चीमा बसेर संजेल कापीमा उतार्न मात्रै के थालेका थिए, मासु खानेहरूको सम्भावित भागजोख, निरोला पिउन बुरुक्क उफ्रेर कड्किए।  

‘के रे के रे, संजेल दाइ, आधा किलो रे? हाम्रा चैं केटाकेटी छैनन्, तीनको मुख छैन? किलो लेख्नु त्याँ खुरुक्क, हामी चैं के सुँघ्ने मात्रै हौं? अरू चैं खाने हुन्? सारै सेपेर कुरा नगर्नू मान्छेलाई।’ चार भुरा र दुई बाउआमा गरेर छ जनाको परिवार भएको घरलाई मान्छेका मुखेन्जी ‘आधा किलो गोस’ भनेर घोषणा गर्दा निरोला पिउनको सधैंभरि दबेको स्वाभिमान एकाएक विष्फोट भएर आयो।  

‘होइन, दुई किलो नै लेखूँला झैं गर्छन् त निरोला दाइ त !’ आफूलाई एक किलो लेखाएको सेतुमान कार्कीले उल्यायो निरोलाको वर्गीय हैसियतलाई।  

‘दसैं हो र दुईदुई किलो लेख्नलाई’ दुर्गे सोडारीले हान्यो अर्को पन्च फेरि। निमुखा निरोला पिउन नबोली बसे।  

हाँस्दै हाँस्दै, सिमलडाँडेले एक किलो नपारी धरै पाएनन् निरोला पिउनलाई।  

खेतबारीको काम नभएको बेला यस्तै उस्तै इलम गरेर दिन काट्छन् संजेल। गाउँमा नाम र हल्लीखल्ली भएका यिनै सिमलडाँडे संजेलको कान्छो छोरो हो सोमतीको कुरा चलेको केटो।  

संजेल कान्छाको जुरेको नाम त कुमार हो। तर, ऊ त्यो नाममा अडिएन ‘छोरीमान्छे’ सोमतीजस्तो। अथवा, अड्याउने प्रयासै गरिएन। न त उसको नाम कसै अरूले जुराइदिने हिम्मत नै गरे। उसले नाम फेरेर ‘क्रिस’ बनायो। स्कुल नदेखेकी आमा पार्वती संजेलले कान्छाको नाम भन्न नजानेर हाम्रो ‘किरिस’ भन्थिन्। छोरो न छोरी, भान्जो न भतिजो, एकलखे त लाउनैपर्ने हाम्रो समाज। त्यसैले ऊ ‘किरिसे’ पनि हुने नै भयो।  

‘हाम्रो किरिसे पनि दसैंमा आउँछ रे, बिहे गरेर बुहारी घरमा राखेर पठाउने भन्या मान्ने हो कि होइन,’ पार्वतीले सँधियार र बचत समूहका दौंतरीसँग चुटिन् गफ।  

‘बिहे गर्दिएपछि तिम्रो किरिसे स्वास्नी छोड्न नसकेर बा नफर्किने पो हो कि, मान्छे अलिक झिल्के नै हो किरिसे,’ गाउँका महिला झिमिक्क आँखा पार्दै पार्वतीसँग इतरिए।  

‘आफ्नै स्वास्नी छोड्न नसकेर घरै बसो भने बसो नि, अर्काका स्वास्नी छोड्न नसकेर विदेश फर्केन भने पो पिर,’ पार्वतीलाई मान्छेले हेप्न, उल्याउन खोजे भने मुखतोड ‘पन्चलाइन’ हान्न नि आउँछ परेको बेलामा।  

नभन्दै क्रिस आयो दसैंमा कालो चस्मा ढल्काएर। लट्टीपट्टी पारेर कुरो छिनिहाले। सोमतीको मतले पानी भन्न पनि पाएन। दुलही भएर निगालेका मैपति भट्टराईका घरद्वार छिरी सोमती।  

क्रिस र सोमतीले घुमे सेल्फीडाँडा, टिकटक घुम्ती र अन्य केही रैथाने भाइरल ठाउँ। एकले अर्काको आँखामा हेरेर कतै सेल्फी खिचे त कतै आँखा आँखामै भविष्यका कल्पना र सपना नियालेर आलिंगनमा बाँधिए। अनि यसो ओल्टो, कोल्टो, ओझेल, सियाँल, एकान्त हेरेर जुगजमानामुताबिक बिहेअघि बस्न नपाएको डेटिङ पनि बसे।

‘म फर्केपछि के गरेर बस्छ्यौ त घरमा? कि ब्याइफ्रेन बनाएर टाप कस्छ्यौ? क्रिसले जिस्क्याउन हो कि साच्चीकै डरले हो,’ फ्याट्ट भन्यो।

‘हो नि, हाम्रो त कामै ब्वाइफ्रेन पक्रिँदै हिँड्दै गर्ने हो। किन बसिन्थ्यो उसै त,’ सोमतीले पनि तौजी मिलाएर बात फिराई।

‘बाख्रालाई घाँस काटेर त बस्ने होला नि अब म त। पढ्न जान दिने होइनन् होला,’ मरेको आसमा फेरि बोली सोमती।

‘तिम्रो बुढो त अरबमा भेडा चराउँछ, तिमी के पढ्छ्यौ अब। बरु बाख्रा पाल, बाआमालाई खुसी पार बस्। म पैसा कमाएर आउँछु अनि सहर पसेर बिज्नेस गर्नुपर्छ,’ क्रिसले घर सल्लाह ग¥यो।

‘पैसा कति उब्रेका छन्? अलिअलि छन् भने एउटा छड्के तिलहरी लगाउन पाए हुन्थ्यो, गाउँमा बिहे, कार्जे, तीज आउँदा काम लाग्ने थियो,’ सोमतीले डराउँदै डराउँदै धोको खोली।  

‘पैसा छैनन्, अलिबारमा बाले किन्दिने रे तिलहरी तिमीलाई,’ क्रिसले तिलहरीको गुह्य खोल्यो।

०००

सिमलडाँडे गाउँ पसेर घर फर्किंदा दोकानडाँडामा थामिए सधैंझैं। चिया पसलमा अलिक नौलोपौलो मान्छेको चहलपहल देखेर उतै ढल्किए र बेन्चीमा बसेर मैलो, धुन बितेको सुरुवाल भिरेका खुट्टाको उप्परखुट्टी बनाए।

‘होइन, कुले होइन? कहिले आइस् फौजीबाट? फौदे नेम्वाङको छोरो गोर्खा राइफल कुलमान उर्फ ‘कुले’लाई चिनेर सोधे।

‘हिजो आ’को काका। अहिले दार्जिलिङमा तालिम प¥यो कि अनि यता छे दिनलाई कुदी आएको पो,’ कुले लाउरेले भन्यो।  

‘कहाँ पटनामा छस्?’ उनले जानेकै पटना, जे हुन्छ पटनामै हुन्छ भनेझैं गरेर सोधे।

‘होइन, पल्टन त देहरादुनमा छ, यता तालिम मात्रै।’

‘अनि सिग्रेट ल्याइस् होला।’

‘खाने हो त,’ बगलीमा हात हाल्दै कुले बोल्यो र एक बट्टा झिक्यो अनि लम्कियो संजेलतिर।

‘अब सिग्रेट मात्रै त के फुक्नु लाउरेको, एक कप च्या पनि मगा याँ काकालाई,’ लाउरेको जेबलाई एक अर्को भार थपेर संजेल सिग्रेट पड्काउन थाले र बेन्चमा बसीबसी गफ दिन थाले।

‘ए कुलमान, सुन ल्याइनस् पल्टनबाट? ल्याइस् भने मलाई एक तोला चाइया छ है, बेच्छस् भने। सुनको भाउ नि के विधि बढेको हो, ब्वारीलाई एउटा छड्के तिलहरी किन्दिनुछ, दाम छोइसक्नु छैन,’ फौजी सिग्रेटको खरानी पड्काउँदै संजेल बोले।

‘कहाँ ल्याउनु काका। हतारमा पो आ’को। तपाईंकी ब्वारीले कसोई गरी एक रातलाई भा पनि आइज भनेर मोर्न लाग्यो र कुदी आएको हतारमा,’ लाउरेले झिमिक्क आँखा सन्काउँदै भन्यो। सुन्नेजति मुखामुख गरेर हाँसे।

‘अनि ब्वारीलाई तिलहरी किन्दिने काका? कति, चारानीको?’ चिया दोकाने रनेकी श्रीमती चन्द्राले संजेललाई चियाको गिलास थमाउँदा घुमाएर दिँदै सोधी।

‘हेर नानी, सारै चिम्टी चाहिँ गरिँदैन। चारानीको नि तिलहरी हुन्छ? आफ्नो दानी बानी देखाएर हालिन्छ नि एक तोलाकै नयाँ ब्वारीलाई, तिम्र ैससुराझैं गर्नुपर्छ र मैले नि?’ संजेलले पनि मेख मारेर जवाफ दिए चन्द्रालाई।  

०००

क्रिस उड्यो मायाको चिनो जालेरुमाल साटेर। सोमती घाँस काट्न थाली। कोदो–मकै गोड्न थाली। सोमतीको परिश्रम र पसिनाले खोरमा भएका साना पाठा बढेर बडेमानका खसी भए।

ससुराबा मैपतिले खोरका चार खसीको दाम गोटाको २५ हजारले कबोलेर बैना बुझिसकेको पत्तै थिएन सोमतीलाई।

‘हाम्रा ससुरा बाले तिलहरी किन्दिने कुरा छ मलाई नि तीजअघि नै। यसपालि तीजमा त ढल्काइएला हौ,’ तल्लाघरे छड्के तिलहरीवाल बुहारीसँग उसले पनि साटी मनको रहर।

नभन्दै तिलहरी आयो, खोरका चार जखमले गए।

सोमतीले तिलहरी दाहिने छड्काएर लगाई अनि गर्व, आँट र धमासले नाच्न निक्ली तीज। घरी काँधमा तेर्साएर लगाउँछे, घरी पछाडि ओझेल परेको तिलहरी हत न पत अघिल्तिर पारेर फोटो खिच्नेका हारमा सार मिलाउँछे सोमती। बल्ल उसलाई जोरपाटीका अघि निस्कन लायक बनाएको ठान्छे तिलहरीले।  

‘हाम्रा नि ससुराबा त मान्छे असल हुन्, यी किन्दिए नि तिलहरी मलाई नि,’ बचत समूहको बैठक बस्न भेला हुँदै बसेका बेला उसले भाग्यमानी बुहारी भएझैं गरेर खुसीले उम्लिन खोज्दै डम्मरी काकीलाई भनी।

‘लाटी, झरी–खडेरी नभनी बाख्रालाई घाँस काट्ने तिमी, खोले, दाना, भकारो गर्ने तिमी, साना मरन्च्याँसे पाठालाई हुर्काएर त्यत्रा घोर्ले खसी बनाउने तिमी अनि तिम्रो पौरख र आर्जन बेच्ने बेलामा दाम समाएर हैकम जमाउने ससुराबा। त्यही तिम्रो कमाइ कब्जा गरेर किन्देको तिलहरी ससुराबाले किन्देको हुन्छ त?’ कुरा सुनिरहेकी गाउँकी मानव अधिकारकर्मी मेडमले छर्लंग पारिन् सोमतीको दिमाग।

सोमतीले कुरो त बुझी तर बोल्न नसकेर घुटुक्क थुक मात्रै निली।

मिटिङ सकेर घर जाँदा पो मानव अधिकारकर्मीका कुरालाई ‘इस्’ पार्दै उनै डम्मरी काकीसँग साउती मिलाई सोमतीले, ‘आफू सधैं पोइ मरेको विधवाजस्तो भएर हिँडेकी छन्। न नाकमा फुली छ, न गलामा पोते, न सिन्दूर लाउनु छ। तिनका लोग्ने कार्की सरले नि कसरी फुक्का छोड्देका हुन् खोइ ! खुब अर्काका छोरी, ब्वारीका तिलहरीको आरिस्। असल ससुरा पाएको त देख्नै नहुने मान्छेले।’

‘तबैतारे, तिम्रा ससुराले नकिनिदिए तिनका बाले किनिदिएका हुन् कि त !’ डम्मर सिंहकी जहान धनसराले बारीका डिलमा उभिएर सार मिलाइन् र सोमतीसँग छुटेर ओरालो कुदिन् घर जान।

प्रकाशित: ६ माघ २०८० ०५:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App