६ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

एउटा प्रश्न

कविता

भुइँमान्छे

अग्ला मान्छे

अनि

उनीहरूको चेत

चेतनाको स्तर

आकार, प्रकार र आयतनमा

कत्तिको भिन्नता भेट्नुभयो?

भुइँमान्छे र अग्ला मान्छेमा

निहित महत्वाकांक्षा,आडम्बर र अहंकारमा

कत्तिको घनत्व भेट्नुभयो?

कर्णालीजस्तै लामो सपना

आँखामा साँचेका

भुइँमान्छेहरू

सगरमाथाजस्तै उचाइको सपना

आँखामा पालेका

अग्ला मान्छेहरू

दुवै प्रकृतिका मान्छेमा

इमानदारीको अंकगणितमा

हिसाबकिताब मिल्यो

कि मिलेन होला?

इन्द्रेनी रंगमा सजिएर

उठ्दै गरेको धर्ती

जुनेलीमा सजिएको आकाशको रंग

अनि

भिन्न उचाइका मान्छेहरूको

चेहराको रंग र तादम्य

मिल्यो कि मिलेन होला?

यी मान्छेहरूको मनमा

प्रवाह भएका

आदर्श, विचार र दृस्टिकोणमा

समानता भयो कि भएन होला?

बादलको रंग

आकारमा देखिने दृश्य

आकाशको रंग

आयतनमा देखिने व्यापकता

असमान उचाइका मान्छेले

देख्छन् कि देख्दैन होला?

समयले

भुइँमान्छेको आँखाको सपना

भुइँ मान्छेको जिन्दगीको लय

अग्ला मान्छेको नियत

अग्ला मान्छेको अहंकार

इतिहासमा समीक्षा गयाे

कि गरेन होला?

वर्तमानमा त संकेत भेटिंदैन

भोलिको दिनमा

भुइँमान्छे र अग्ला मान्छेको

जिन्दगीको हिसाबकिताब

भविष्यले गर्छ कि गर्दैन होला?

यो समयसँग

मेरो एउटा प्रश्न?

-आकाश अधिकारी

प्रकाशित: ५ माघ २०८० ०४:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App