पहिलापहिला म काममा निस्किंदा
गाउँका नौजवानहरू
आफ्नै आँगनमा घाम ताप्दै
मलाई जिस्काउँथे
मैले बोकेको गड्यौला
कुल्चेर
मेरो शक्तिको परीक्षण गर्थे!
ती उरन्ठेउला नौजवानहरू
आजकल खाडीमा बालुवा बोक्छन्
म विन्दास गाउँमा गड्यौला बोक्छु!
कमिलोलाई खै केको पहिरो भन्दै
खितिति हाँस्थे!
मलाई तलसम्म बगाउँथे!
तर,
अहिले उनीहरू उष्ण मरुभूमिमा
पसिनाको बाढीमा स्वयं बगिरहेछन्।
गाउँ सुनसान छ।
नौजवानहरू खाडीमा
बालुवा बोकिरहेछन्,
म विन्दास गाउँमा गड्यौला बोकिरहेछु।
कहिलेकाहीं म पनि
तिनीहरूको पिठ्यूँमा लुकेर
तिनका कानका लोतीहरूमा झुन्डिएर
तिनका सुकोमल अङ्गहरूमा चिलेर
सुन्याइदिन्थे
पहिरो बर्साउने
कुवा र धाराहरूमा चिलेर
सजाय दिन्थे
तिनका शिरकभित्र पसेर
निद्रा बिगारिदिन्थे
तिनका कुँडेहरूमा
तिनका ठेकीहरूमा पौडी खेलेर
आनन्द लिन्थे!
तर, अहिले गाउँ सुनसान छ
गाउँमा कमिलाहरू छन्
नौजवानहरू छैनन्
नौजवान विनाको गाउँ
जवानी लुटिएको सडकको फूलजस्तै देखिन्छ।
खाडीमा नौजवान बालुवा बोकिरहेछन्
म विन्दास गाउमा गड्यौला बोकिरहेछु।
तिनका वृद्ध बाआमा ठसठस कन्दै
क्षितिजतिर खै के हेरिरहेछन्
बादलभित्र के खोजिरहेछन्
तिनका प्रेमिकाहरू/पत्नीहरू
अङ्गार लिएर हातमा
भित्तामा खै के कोरिरहेछन्
तिनका छोराछोरीहरू
एटलास पल्टाएर
कुन मुग्लान खोजिरहेछन्
गाउँ सुनसान छ
गाउँमा कमिला छन्
नौजवानहरू छैनन्
नौजवानको गन्ध नभएको गाउँ
मत्स्यगन्धाको रित्तो नाउँ जस्तो देखिन्छ।
खाडीमा नौजवान बालुवा बोकिरहेछन्
म विन्दास गाउँमा गड्यौला बोकिरहेछु।
विश्वास मान्नुस!
कमिलाको पनि आफ्नै अनुभूति हुन्छ
नौजवान बिना कमिलो त एक्लो हुन्छ
सोच्नुस्!
गाउँको पिपल
गाउँको वर
कति एक्लै हुँदो हो!
साँझ परेपछि चिसो रातसँगै कति रुँदो हो।
त्यसैले आजकल म गड्यौला खोज्दिन
म निला मान्छेहरू खोज्छु
स्वप्निल आँखाहरू खोज्छु
पौरखी पाखुराहरू खोज्छु
त्यसैले म नौजवान खोज्ने अभियानमा छु
कमिलाले भिसा लिनु पर्दैन,
आज नौजवान खोज्न
म गाउँले कमिलो
कत्तारको रङ्गशाला आएको छु
मेसी गोल बर्साइरहेछ
एम्वाप्पे विश्व थर्काइरहेछ
म हजारौ मान्छेको बिचमा
बालुवा बोक्ने नौजवान
खोजिरहेछु!
आफैले बनाएको रङ्गशालामा बसेर
के उसले पनि विश्वकप हेर्दै होला त?
-टी.एन. भट्ट ‘विश्वामित्र’
प्रकाशित: ४ माघ २०८० ०५:०७ बिहीबार