ऊ बिहान जुरुक्क उठ्यो। खुम्चिएको उलनको तन्ना तानतुन पारेर मिलायो। तातो पानीले मुख धोयो। श्रीमतीज्यूसँग कफी मगायो। एकछिन हिटर बाल्यो। थर्मोकोटमाथि ऊनीको कमिज लगायो। कानेटोपी सिउरियो।
‘ल, यसो बाहिर चोकतिर निस्के हैं!’ भनेर श्रीमतीलाई सुनायो। ज्याकेट भिर्यो अनि जुत्ता मोजा उनेर बाहिर लाग्यो।
चोकमा मानिसहरू मुढा जोतेर आगो ताप्दै थिए। त्यहाँ सबैथरि थिए। पातलो कमिज लगाएर जाडोले ठुगठुग कामेका मान्छेहरू पनि त्यहीं थिए। आगो ताप्नेको घेरामा ऊ पनि घुस्यो र प्याच्च भनिहाल्यो, ‘पहिलेपहिले हामी केटाकेटी छँदा कति जाडो हुन्थ्यो। पोहोर परार पनि जाडै थियो। यो साल खास्सै जाडो भएन। ...’
उसले यति बोलिरहँदा कोही मुसुमुसु हाँस्दै थिए, कोही पक्क परेर सुन्दै थिए अनि कोही अक्क न बक्क थिए तर उसको कुरामा सहमति जनाउनेचाहिं त्यहाँ कोही थिएनन्।
-रमेशचन्द्र घिमिरे
प्रकाशित: १९ पुस २०८० ०६:३८ बिहीबार