२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

कथाकार डीआरको ‘खोक्पा’ लोकार्पण

क्याप्शन

पेज टर्नरले बजारमा ल्याएको गीतकार तथा कथाकार डीआर (दिनेशकुमार राई) को कथासंग्रह ‘खोक्पा’ लोकार्पण भएको छ।

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईकाे प्रमुख आतिथ्य तथा पेज टर्नर प्रालिका अध्यक्ष भुवनहरि सिग्देलकाे अध्यक्षतामा कृतिकाे लाेकार्पण गरिएकाे हाे।

कार्यक्रमकाे प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राई, वरिष्ठ समालोचक महेश पौड्याल, सञ्चारकर्मी हेम भण्डारी र समालोचक निमग्ना घिमिरेले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए।

कथाकार राईले आफ्ना कथाहरूकाे तटस्थ रूपमा समालोचना गरिदिन समीक्षक र समालोचकहरूसँग आग्रह गरेका छन्।

त्यस्तै समालोचक निमग्ना घिमिरेले कथाहरूले प्रकृति र मानव बिचको तादम्य देखाएको बताइन्। उनले कथाले हराभरा गाउँ बनाउन युवालाई स्वदेश फर्किन आह्वान गरेकाे बताइन्।

त्यस्तै सञ्चारकर्मी हेम भण्डारीले कथाहरूले संकटग्रस्त पर्यावरण संरक्षण गर्नुपर्ने आवाज उठाएकाे बताए।

वरिष्ठ समालाेचक महेश पौड्यालले समकालीन कथाकारले पाठकीय चेतना र लक्षित वर्गको अपेक्षा बुझेर मात्रै कथा लेख्नपर्ने सुझाएका थिए।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति राईले राष्ट्रवादको मूल आयाम भूगोल नभएर मान्छे हो र त्यही मान्छे नै कथा भएकाे बताएका थिए। त्यस्तै कार्यक्रमका अध्यक्ष भुवनहरि सिग्देलले स्रष्टाहरू अवैतनिक राष्ट्रवादी भएको बताए।

लाेकार्पण कार्यक्रममा प्राडा गोविन्दमान सिंह कार्की, नन्दु उप्रेती, राधा कार्की, श्रीओम श्रेष्ठ ‘रोदन’, मन्दिरा मधुश्री, राजबाबु श्रेष्ठ ‘सागर’, अच्युत घिमिरे, हेम प्रभास, सरोज कोइराला, प्रज्वल अधिकारी लगायतका साहित्यकारहरूको उपस्थिति रहेको थियो।

गीति लेखनमा ख्याति कमाएको डीआरको तिलस्मी उपन्यास पाठकमाझ निकै भएकाे थियाे। उनकाे लाेकार्पित कथासंग्रहमा बूढो रूख, पुच्का, परिवर्तन, परिणाम, हराएको सपना, रवि, नयाँ बाकस, गाड्धन, लाहुरेको निसानी, मायाको चिनो र लङ्गडो साथी गरी एघार कथा सङगृहीत छन्।

कथामा प्रकृति र मानिस बिचको सम्बन्ध, वैदेशिक रोजगारीले पिल्सिएको नेपाली समाज र समाधानको बाटो, जेष्ठ नागरिकहरूको पीडा, बाल्यकालीन स्मृति, ग्रामीण जीवन शैली, स्थानीय भाषा, संस्कार र सस्कृतिलाई कथाकारले सुन्दर ढंगले प्रस्तुत गरेका छन्।

कथाकारले प्रकृति संरक्षणको सचेतना, खस्कँदो मानवीय संवेदनाप्रति चिन्ता, सम्बन्ध र सहकार्यप्रति चासो पनि देखाएका छन्।

कथामा समाजका विवधि पक्ष समेटिएका छन्। उनले समाजको विकृति मात्रै उठाएका छैनन् समाधानको भरपर्दो बाटो पनि देखाएका छन्। उनले प्रस्तावनामा लेखेका छन्, ‘आमाले दिएको अमूल्य जीवनलाई सार्थक बनाउन साहित्यभित्र फेरि अर्को जीवन खोज्ने प्रयास गरेको छु।’

यसअघि यिनका यात्रासंस्मरण सेन्टोसा, अनुभव र अनुभूति समयको डोब, उपन्यास तिलस्मी जस्ता कृति प्रकाशित छन्। फाेटाेग्राफी पेशालाई जीवन निर्वाहकाे बाटाे अपनाएका यिनका सयाैं गीत रेकर्ड भएका छन्। समीक्षा र समालाेचनामा पनि उनले उत्तिकै कलम चलाएका छन्।

प्रकाशित: १६ पुस २०८० ०७:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App