coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

याद आउँछ घरको तर आउँदैन देशको

कविता

खाना खाँदै थिएँ,

आमाले भन्नुभयो,

‘रमेश काकाको छोरा पनि विदेश गएछ नि।’

अस्ति भर्खर मिल्ने साथीलाई विमानस्थल पुर्‍याएर आएको म

सोचें, आज फेरि एउटा युवा विदेश उडेछ।

   -       -          -       -

फेसबुक खोलेर हेर्छु।

कसैको विमानस्थलमा बिदाईको फोटो,

कोही विदेशमा दुख गर्दा गर्दै

एकछिन रमाएको फोटो,

कि त कोही आफ्ना मिल्ने मान्छेसँग

अन्तिम पटक रमाइलो गरिरहेको फोटो,

अनि फेरि सोच्छु,

हो यो पनि विदेश जान लागेछ।

  -         -          -         - 

विदेशमै भएको आफ्नो दिदीलाई

फोन गरेर सोधें,

‘दिदी, तँलाई देशको याद आउँदैन?’

उसले भनिन्,

‘आमाले पकाएको कालो दाल, भात र अचारको याद आउँछ

तर, देशको याद आउँदैन।’

  -        -          -        -

‘खाजा खान पचास रुपियाँ माग्दा,

बुवाले दिएको सय रुपियाँ याद आउँछ

तर, देशको याद आउँदैन।’

‘गुरुले पढाउँदा साथीहरूसँग

कक्षामा हल्ला गरेको याद आउँछ

तर देशको याद आउँदैन।’

‘तँ, म र दाइ दिनभरि खेलेको

आँगनकाे याद आउँछ

तर, देशको याद आउँदैन।’

    -       -          -       -

दिदीले यसो भनिरहँदा

मैले पनि सोचें,

‘याद आओस् पनि कसरी?’

‘जुन देशमा दुर्घटनाग्रस्त क्षेत्रमा

सहयोग गर्ने हातभन्दा

फोटो किच्ने हातहरू बढी हुन्छन्,

त्यो देशको याद आउँछ कसरी?’

‘जुन देशमा क्रान्तिकारी आन्दोलनको नाममा

पसलपसल लुटिन्छन्,

त्यो देशको याद आउँछ कसरी?’

‘जुन देशमा केही गर्छु भन्नेहरूले

आत्मदाह गर्नुपरेको छ,

त्यो देशको याद आउँछ कसरी?’

‘जुन देशमा

म देश बनाउँछु भन्ने

व्यक्तित्वहरूमा खालि सत्ताको लोभ देख्दा,

त्यो देशको याद आउँछ कसरी?’

    -       -          -         -

सोचमा डुबेको देखेर

दिदीले मलाई भनी,

‘याद आउँछ घरको तर देशको आउँदैन

‘ त्यसैले तँ पनि अब विदेश नै आइज,

त्यो देशमा बसेर केही काम छैन।’

प्रकाशित: १४ पुस २०८० ०६:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App