६ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

थकाली संस्कार संरक्षण गर्न प्रशिक्षण

थकाली सेवा समिति नेपाल र थकाली अनुसन्धान केन्द्रको आयोजनामा गत मंसिर १६ देखि बेनीमा सुरु भएको ‘खिमीच्हुव’ र ‘क्होई’ प्रशिक्षण मंगलबार सम्पन्न भएको छ। संस्कार र संस्कृति लोप हुन नदिन र बचाउनका लागि प्रशिक्षण आयोजना गरिएको उपाध्यक्ष योगेन्द्रमान भट्टचनले बताए।

‘थकालीको विवाहका क्रममा माइतीको सम्मानमा खिमीच्हुव र फागु पूर्णिमामा क्होई अनिवार्य गाउनुपर्छ’, उनले भने, ‘गीत गाउन जानेकाहरू मरेर जाने र नयाँ पुस्तामा ज्ञान, सीप नहुँदा संस्कार नै लोप हुन थालेको छ। थकालीको बसोबास भएको ठाउँमा तालिममार्फत संस्कारको पुस्तान्तरण र संरक्षण गर्ने प्रयासमा छौं।’

भट्टचनले बेनी, दरवाङ र दाना क्षेत्रका १८ जनालाई गीतको शब्द, भाका र लयको विषयमा प्रशिक्षण दिएका थिए। खिमीच्हुवमा गाइने गीतको एउटा टुक्का ‘ल्ह्लाङ स्ह्युवे स्ह्याङ, तेलाङ स्ह्युवे स्हयाङ’ को अर्थ देवताको मुलुकमा बस्नु हुने सुखी जीवनमा बस्नुहुने माइती भन्ने हुन्छ।

मगनी भएपछि माइतीका घरमा जाँदा केटा पक्षले माइतीको सम्मान हुने शब्दहरू समेटिएको खिमीच्हुव गाउने चलन छ। तोरन्ल चाडमा गाउने क्होईको एउटा टुक्का ‘च्ह्योङजी तोरन्ल स्हेम्ब, च्ह्योङजी तोरन्ल’ को अर्थ आइपुग्यो तोरन्ल चाड, आइपुग्यो तोरन्ह चाड भन्ने हुन्छ।

नेपालमा पछिल्लो जनगणनाअनुसार कुल १३ हजारको हाराहारीमा जनसंख्या रहेको थकालीलाई सरकारले अल्पसंख्यक जातिमा सूचीकृत गरेको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ दानाका ओमप्रकाश शेरचनले शब्द अप्ठ्यारो भए पनि ‘खिमीच्हुव र क्होई’ गाउन सक्ने भएको बताए।

‘संस्कार र संस्कृति जोगाएर लोप हुन दिँदैनाँै’, उनले भने, ‘मुस्किल भए पनि हाम्रो मौलिक सम्पत्तिलाई बचाएर राख्ने र भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ भन्ने दायित्वबोध भएको छ।’ नरेश कुमार तुलाचनले ‘खिमीच्हुव’ र ‘क्होई’ का शब्द संकलन गरेर थकाली र नेपाली भाषामा लिपिबद्ध गरेका छन्।

थकाली सेवा समिति नेपालका पूर्वअध्यक्ष कृष्णकुमारी शेरचनले समितिले संस्कार र संस्कृति संरक्षणका लागि ३० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको जानकारी दिए। सोही कोषको ब्याजबाट यसअघि सल्यान, बुटवल र काठमाडौंमा भाषा तथा संस्कारसम्बन्धी तालिम आयोजना गरिएको थियो। थकाली नेपालका अल्पसंख्यक समुदाय हुन्। थकालीको उद्गम थलो मुस्ताङको थासाङ गाउँपालिका हो।

थकाली समुदायको जन्मदेखि मृत्युसम्मका मौलिक संस्कार, चालचलन र रहनसहन रहेको छ। थकालीको भाषा पनि छ। पुराना पुस्ताका मानिसको मृत्यु हुँदै गएको र नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा थकाली समुदायका संस्कार र संस्कृति लोप हुने जोखिममा छ।

लोप हुन लागेको थकाली समुदायको संस्कारमध्ये विवाह र तोरन्ल (फागु पूर्णिमा) पर्वमा गाउने ‘खिमीच्हुव’ र ‘क्होई’ गीत हो। खिमीच्हुव थकाली समुदायको विवाह र क्होई तोरन्ल (फागु पूर्णिमा) पर्वमा अनिवार्य रूपमा गाउनुपर्ने थकाली अनुसन्धान केन्द्रका उपाध्यक्ष भट्टचनले बताए। –रासस

प्रकाशित: ४ पुस २०८० ०३:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App