१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

दधिराज पुरस्कारबाट श्रेष्ठ र झा पुरस्कृत

दधिराज सुवेदी प्रतिष्ठान विराटगरले साहित्यकार भागीरथी श्रेष्ठ र पत्रकार धर्मेन्द्र झालाई पुरस्कृत गरेको छ। प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजित कार्यक्रममा श्रेष्ठ र झालाई पुरस्कृत गरेको हो।

साहित्यकार श्रेष्ठलाई ५१ हजार र झालाई २५ हजार रूपैयाँ राशिको पुरस्कार नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगायतले हस्तान्तरण गरेका थिए। कार्यक्रममा साहित्यकार दधिराज सुवेदीको उपचारमा संलग्न भक्तपुर क्यान्सर अस्पतालका डा. उज्ज्वल चालिसेलाईसमेत सम्मान गरिएको थियो।

छोराहरू शरदराज सुवेदी र रूपक सुवेदीले पिता दधिराज सुवेदीको नाममा प्रतिष्ठान स्थापना गरेका हुन्। १५ लाख रूपैयाँको अक्षयकोष राखेर स्थापित प्रतिष्ठानबाट यसअघि ७ जना साहित्यकार र ७ जना पत्रकार पुरस्कृत भइसकेका छन्। पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा भ्रष्टाचार मौलाएको बताए।

 कोइरालाले राजनीतिक संरक्षणमा हुने भ्रष्ट्राचारले मुलुकलाई आक्रान्त बनाएको टिप्पणी गरे। कोइरालाले ठूला भ्रष्ट्राचारका घटना एकपछि अर्को बाहिरिइरहेको तर त्यसमा संलग्नहरूलाई कारबाही नहुने गरेको बताए।

पछिल्लो एनसेल प्रकरणमा छानविन समिति गठन भएको छ। तर यसअघि गठित छानविन समितिले के प्रतिवेदन बुझायो, त्यसका आधारमा कसैलाई कारबाही भएको नदेखिएकाले एनसेल काण्ड पनि त्यसैगरी सामसुम हुने कोइराको भनाइ छ। 

प्रकाशित: १ पुस २०८० ०३:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App