१९ असार २०८१ बुधबार
image/svg+xml
कला

चेलीबेटी बेचबिखनसम्बन्धी हरिवंशको नयाँ गीत ‘हिंड माया हिंड’

हास्यकलाकार हरिवंश आचार्यले चेलबेटी बेचबिखनसम्बन्धी नयाँ गीत ल्याएका छन्। यसअघि चेलीबेटी बेचबिखनकै विषयमा ‘कर्कलो कोक्याउला’ र ‘काउली’ गीत गाएका आचार्यले अहिले ‘हिंड माया हिंड’ बोलको गीत ल्याएका हुन्।

माइती नेपालको प्रस्तुतिमा बनेको यो गीतमा हरिवंशकै शब्द र संगीत छ। स्वरमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छिन्। ‘यो चेलीबेटी बेचबिखनसम्बन्धी जनचेतनामुलक गीत हो,’ गीतबारे हरिवंशले भने, ‘चेलबेटी बेचबिखन सम्बन्धी समस्या हाम्रो देशको नियतिजस्तै भइसक्यो। पहिलेपहिले चेलीबेटीलाई भारतमा लगेर बेचिन्थ्यो, अहिले त्यो खाडी मुलुकसहित अफ्रिका लगायत अन्य मुलुकतिर पनि सरेको छ।

मसाज सेन्टर या डान्सबारको काम भनेर लाने तर त्यहाँ पु¥याएपछि देह व्यापारमा लगाउने, यातना दिने लगायतका समस्या बढिरहेका छन्। त्यही कथा हामीले गीतमार्फत भन्न खोजेका हौं।’

हरिवंश यो समस्या समाधान नभएसम्म यस विषयमा निरन्तर जनचेतनामुलक गीत गाइरहने बताउँछन्। ‘सर्जकका हिसाबले यस्तो विषयमा लगातार गीत गाइरहन नपरोस् भन्ने नै लाग्छ। तर, देशको नियतिले बाध्य बनाइरहेकै छ,’ आचार्यले भने।

साहस शाक्यको एरेन्ज, श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियोमा हरिवंशसँगै कलाकारहरू प्रियंका कार्की, कविता न्यौपाने, बालकृष्ण ओली लगायत कलाकारको अभिनय छ। गम्भीर विष्टको कन्सेप्ट र निर्देशन रहेको यो गीतको भिडियोमा कसरी गाउँगाउँबाट युवतीहरूलाई ललाईफकाई गरेर विदेश पुर्‍याइन्छ भन्ने कथा देख्न सकिन्छ।

पवन सुस्लिङले खिचेको यो गीतको भिडियो सम्पादन प्रविण भट्टले गरेका हुन्।

प्रकाशित: ३० मंसिर २०८० ०७:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App