२४ असार २०८१ सोमबार
image/svg+xml
कला

कर्ममा एकाग्र दृष्टि

पुस्तक

‘अनिता म्याम, समय मिलाउनू है कात्तिक २ गते। हामी एउटा कार्यक्रममा जानुपर्छ,’ सरस म्यामले भनेपछि मनमनै सोचें, ‘पक्कै कुनै साहित्यिक कार्यक्रम होला।’ अनि सहमतिमा भनिहालें, ‘हुन्छ नि फुर्सद नै छ, जाउँला।’

कसले बोलाएको, किन, केलाई र कहाँ? मैले केही पनि सोधिनँ। सरस म्यामप्रति म विश्वस्त भएँ। निर्धारित दिन हाम्रो भेट भयो। हामी गुर्जुधाराबाट गाडी चढ्यौं। गाडीमा सरस म्यामले भन्नुभयो-‘अर्जुनकुमार श्रेष्ठ सरलाई चिन्नुहुन्छ? हो उहाँकै पुस्तकको विमोचन छ आज ‘अर्जुनदृष्टि’।

पुस्तकको नाम सुन्नेबित्तिकै मलाई पुस्तकले तानिहाल्यो। सानैदेखि सुन्दै आएको महाभारतको विशिष्ट पात्र अर्जुनलाई झट्ट सम्झिएँ-‘कुनै पनि कार्यमा सफलता प्राप्त गर्नु छ भने हामीले आफ्नो लक्ष्यप्रति अर्जुनदृष्टि राख्नुपर्छ, जसरी महाभारतमा अर्जुनले माछाको आँखा मात्र देखे।

‘अर्जुनदृष्टि’ ध्यान, धारणा र धैर्यको समष्टि हो। सफलता नै एकाग्रताको उपलब्धि हो। अर्जुनदृष्टि काम फत्ते गर्ने अचुक औषधी हो।’ त्यसैले किताबै नहेरी अनुमान लगाएँ अर्जुनकुमार श्रेष्ठको ‘अर्जुनदृष्टि’ पक्कै प्रेरणादायी, सकारात्मक सन्देश, सङ्घर्ष र सफलताको कथा होला। मेरा लागि यो पक्कै उपलब्धीमूलक हुनेछ।  

गैरआवासीय नेपालीमाझ चिरपरिचित नाम रहेछ अर्जुनकुमार श्रेष्ठ। गैरआवासीय नेपालीले लेखेको किताब भन्नेबित्तिकै गैरआवासीय संघका पूर्व अध्यक्ष जीवा लामिछानेलाई झट्ट सम्झिएँ। जीवा लामिछानेले लेखेका दुवै कृति पढेर मैले पनि सरसर्ती संसार घुम्ने मौका पाएकी थिएँ। मेरो मनले पुनः नौलो आशा गर्‍यो, अब अर्जुनकुमार श्रेष्ठको यो पुस्तकले पनि मलाई केही न केही अवश्य दिनेछ।

मलाई यो पुस्तकले पक्कै नौलो भूगोलमा घुमाउन सक्नेछ। कुनै प्रेरणादायी कुरा पनि पक्कै सिकाउने छ। अथवा मैले नभोगेको समाज, समय र सन्दर्भको अनुभूति त पक्कै दिलाउनेछ। मनमनै पुस्तक हात लागेपछि पुस्तक पढ्नुको औचित्य पनि स्पष्ट पारें।

मेरो मनमा कौतूहलता जाग्दै थियो, सरस म्यामले फ्याट्ट भनिहाल्नुभयो-‘यो पुस्तक पठनीय छ। मैले अलिकति पढिसकेकी छु। पुस्तकभित्र बा र आमाको प्रसङ्ग बडो मार्मिक छ। ती कुराले तपाईंलाई निकै छुन्छ। यो पुस्तक पढिसकेपछि पनि केही लेख्नू है अनिता म्याम।’ 

पुस्तक पढिसकेपछि केही न केही लेख्ने मेरो बानी थाहा पाएरै सरस म्याम यसो भन्दै हुनुहुन्छ। सरस म्यामलाई पुलुक्क हेरेर मुसुक्क हाँस्दै भनें- ‘पुस्तकले छोयो भने त लेखौंला नि, नत्र कसरी लेख्नु।’ हामी पठन र लेखनकै विषयका बहस गर्दै अगाडि बढिरह्यौं।

निर्धारित समयमा हामी कार्यक्रम स्थलमा पुगेका छौं। त्यहाँ एनआरएनको ठुलो सम्मेलन चलिरहेको छ। शान्तमय सोल्टी होटल त्यो दिन निकै खचाखच र कोलाहलमय भएको छ। सरहरूलाई कुर्दै छौं। राजिन पनेरु, नेत्र पौडेल र अल्पज्ञानी सरहरू पनि अब उपस्थित हुनुभयो।

केहीबेरपछि अर्जुनकुमार श्रेष्ठसँग हाम्रो भेटघाट र परिचय आदानप्रदान भयो। साधारण र सुमधुर वाणीका धनी अर्जुनकुमार श्रेष्ठ निकै भद्र लाग्यो। हस्ताक्षर गरेर सरले हामीलाई एउटा एउटा पुस्तक पनि उपहार दिनुभयो। पुस्तक एनआरएनहरूको ठुलो मासमा विमोचित भयो। अनि पुस्तक लिएर घर आएँ, पुस्तकमा म मज्जाले हराउँदै गएँ।

‘हामीमा व्याप्त सङ्कीर्ण सोच, निःशुल्क प्राप्त हुने औचित्यहीन सुझावले हाम्रो व्यावसायिक कर्मलाई बाधा तुल्याउँछ।’ (७६) वास्तवमा भन्ने हो भने हरेक क्षेत्रमा हामीलाई यिनै औचित्यहीन सोच, सुझाव र सङ्कीर्णताले नकारात्मक बनाइदिन्छ र हामी पछाडि पर्ने गर्छौं। नकारात्मक सोचको भारीले हामीलाई यसरी लडाउँछ कि हामी प्रायः असफल र अशान्त हुने गर्छौं। ‘अर्जुनदृष्टि’ पढेपछि मनले एउटा राष्ट्रिय गीत गाउन थाल्यो।

‘यो नेपाली शिर उचाली संसारमा लम्किन्छ,

जुनकिरीझैं ज्योति बाली अन्धकारमा चम्किन्छ।’

आहा! हाम्रा अग्रजहरूले त्यसै यो गीत रचेका होइनन् नि! नेपालीहरू कति अब्बल छन् भन्ने कुरा हामीले सम्झन आवश्यक छ। नेपालीको सरल स्वभाव र स्वाभिमानलाई विश्वले चिनेको छ।

हिमालका सन्तान हामी हिमालजस्तै पवित्र र अटल छौं। अजंगका विकट हिमाल चढ्ने वीर गोर्खालीहरूले असम्भव कथा रचेकै छैनन्। तर समय, परिस्थिति र वातावरणले नेपालीलाई केही समयदेखि नकारात्मक सोचको सिकार भने पक्कै बनाएको छ।

सूर्यमा ग्रहण लाग्दैमा सूर्यको प्रकाश सदाका लागि लुप्त भएको हुँदैन। नेपालीहरू त्यो सूर्य हुन्, जो हरबखत चम्किरहेका हुन्छन्। वीर गोर्खालीको उपमा पाएका हामी नेपालीले अवसर पाए संसार हाँक्न सक्छौं। नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउन सक्छौं। नेपाली भएकोमा छाती फुलाएर गर्व गर्न सक्छौं।

वीर गोर्खाली भारतमा दरबानका रूपमा मात्र चिरपरिचित छैनन्। अन्तर्राष्ट्रिय विश्वविद्यालयमा अध्यापन गरेर संसारभर उत्कृष्ट युवा तयार गर्दै छन्। युरोपका कुना कुनामा व्यापार व्यवसाय खोलेर नेपालीहरूलाई नै रोजगारी दिँदै छन्।

 युरोप, अस्ट्रेलिया र अमेरिका लगायतका मुलुकका रेस्टुरेन्टमा जुठा भाँडा मोलेर मात्र होइन। विदेश र विदेशीहरूको अगाडि ज्ञान, विज्ञान र विचारको विनिमय पनि उत्तिकै गर्न सक्छन्। नासाका कुर्सीमा नाक फुलाएर खगोलविज्ञानको रहस्यमय संसारमा मजैले तहल्का मच्चाउन सक्छन्।

नेपालकै छोराले अनन्त ब्रह्माण्डको अध्ययन गरेर तारापुञ्जहरूको नौलो समूह पत्ता लगाएर संसारलाई चकित पारिरहेका छन्। नेपालीहरू खाडीमुलुकमा पसिनाको सागर जमाएर खाडीलाई समृद्धिको माला लगाइदिँदै छन्। अन्तर्राष्ट्रिय प्रयोगशालामा नवीन सिद्धान्तहरूको अध्ययन-अनुसन्धान गरेर वैज्ञानिकहरू उत्पादन गर्दै छन्।

नेपाललाई माया गर्ने नेपालीहरूले विदेशी भूमिमा आफ्नो नाम, काम र दाम मजाले कमाइरहेका छन्। शेष घले, जीवा लामिछाने, उपेन्द्र महतो, बालकृष्ण आचार्य आदिले नेपाली भएको गौरवलाई कायम राखेका छन्।

विश्व बजारमा नेपालीहरूको श्रम मात्र खपत भएको छैन, नेपालीहरूको हिम्मत, आँट, साहसलाई सलाम गर्ने काम पनि नेपालीहरूले गरेका छन्।

अर्जुनकुमार श्रेष्ठ तिनै नेपालीहरूको नामलाई सार्थक पार्ने अभियानमा अहोरात्र खटिरहेका छन्। जसको अर्जुनदृष्टिले बेल्जियममा गएर मजाले जमेर व्यापार विस्तार गरेर कैयौंलाई रोजगारी दिएका छन्।

श्रेष्ठको जीवन सङ्घर्ष, सोच, लक्ष्य, योजना र सफलताका कथाहरू पढ्दा हरेक युवाले आफूमा त्यो किसिमको ऊर्जा, कर्मण्यता र इमान्दारीलाई अनुकरण गर्न सक्छन् भन्ने लाग्छ। ढुंगामा सुन फलाउने नेपालीहरूले अवसरको मलिलो भूमि पाए भने आफूले चाहेअनुरूपको भाग्य फलाउन सक्ने रहेछन् भन्ने उदाहरण हो अर्जुनदृष्टि।

बेल्जियमको बजारको मनोविज्ञानलाई मिहिन रूपले छामेर, बुझेर हिम्मतका साथ अरूको आँगनमा नौलो व्यापार सुरु मात्र गरेनन्, हेर्दाहेर्दै बेल्जियमभरि जापानिज खाना सुसीको व्यापारलाई फैल्याए र त्यहाँका ग्राहकलाई लट्ठ पारेर आज तीन सयभन्दा माथि रेस्टुरेन्टहरू सञ्चालन गरेर सफल व्यवसायी बन्न सक्नु एक नेपालीका लागि चानचुने कुरा होइन।

कुस्माको काखमा जन्मिएर फलेवासको माटोलाई माया गर्ने अर्जुनकुमारको मन बढो मानवीय लाग्यो। मानव धर्म र देहलाई नै ईश्वर मान्ने श्रेष्ठ गजबका औषधी व्यापारी पनि हुन्।

व्यक्तिगत स्वार्थमा भिजेका मान्छेले सामूहिकता भन्ने संस्कारलाई बुझ्नै सक्दैनन्। श्रेष्ठ सामूहिकतामा विश्वास गर्ने व्यवसायी रहेछन्। उनको लगानीको मूल मर्म नै सामूहिकता रहेछ।

धेरै ठाउँमा सामूहिक लगानी गरेर सफलता हात पारेका यी व्यवसायी सकारात्मक सोच र काममा पनि निकै धनी रहेछन्। कुस्माको दुर्गम भूगोलमा औषधीको अभाव देखेर नै श्रेष्ठलाई औषधी व्यवसायी बन्ने हुटहुटी जागृत भएको रहेछ।

श्रेष्ठ भन्छन्– ‘मानिसभित्रका असन्तुष्टि नै उसका प्रगति वा गतिका कारण हुँदा रहेछन्। मेरो मनलाई म्यानेजरको जागिरले सन्तुष्टि दिन सकेन।’

नभन्दै अरूको होटेलमा करिब एक वर्ष म्यानेजरका रूपमा काम गरेका श्रेष्ठ वर्तमान समयमा ४ ओटा ओसिन सुसीका शाखाबाट बेल्जियममा सेवा दिइरहेका छन्। हामीले चन्द्रमा छुने लक्ष्य राख्नुपर्छ, महाकविले भनेकै हुन्। हामीले साँच्चै कुनै पनि क्षेत्रमा सफल हुन दृढ संकल्प र अर्जुनदृष्टि त राख्नैपर्छ।

व्यापारीको मनले व्यापार मात्र गर्छ भन्ने पुरातन सोचलाई वास्तवमा हाम्रा बौद्धिक व्यापारीहरू जीवा लामिछाने, शेष घले, उपेन्द्र महतो र अर्जुनकुमार श्रेष्ठ लगाएर कैयौं व्यापारीहरूले समाज सेवाको काम गरेर पुष्टि गरिसकेका छन्।

औषधीजस्तो संवेदनशील वस्तुमा मान्छेले मनपरि दाम राखेर समाज सेवाको नाममा कालो व्यापार गर्दै हिँडेका समूहलाई अर्जुनले त्यो युवा उमेरमा पनि चुनौती दिएका छन्। त्यो भिरपाखाका बाँच्न विवश नागरिकहरूलाई सर्वसुलभ दाममा औषधी उपलब्ध हुनुपर्छ भनेर औषधीको व्यवसाय आरम्भ गरेको देख्दा हृदयबाटै सलाम गर्न मन लाग्यो।

अर्जुनकुमारको त्यो सेवाभावबाट सस्तोमा औषधी प्राप्त गर्दा पनि हामी नेपालीहरूले शङ्का गर्न पुगेको मार्मिक प्रसङ्गले मर्माहत भएँ। हामी कस्तो संस्कारबाट हुर्किएर आएका थियौं? आज कस्तो भयौं?

आखिर हामी किन पैसाको मात्र पछि लाग्छौं? पैसाले हामीबाट हामीलाई किनिसक्यो, हाम्रो अमूल्य सम्पत्ति लुटिएको हामीलाई पत्तै छैन। किताब पढ्दापढ्दै म निकैबेर सोचमग्न भएँ।

‘मुटु चाहिन्छ मुटु’ भनेझैं सानो चित्तले सामूहिक व्यवसाय कदापि हुँदैन। श्रेष्ठ भन्छन्, ‘व्यवसाय गर्नु भनेको जोखिम बहन गर्नु हो। बिनाजोखिम उत्पादनको महत्व स्थायी बन्न सक्दैन। घरमा मौरी पालेर मह काढ्नु र पहराबाट भिरमह काढेर ल्याउनु फरक कुरा हुन्।

व्यवसायलाई निरपेक्ष बनाउनु हुँदैन, यसलाई सापेक्षित अर्थबाट हेरिनुपर्छ।’ (७३) यी र यस्ता सकारात्मक सोच र कार्यहरू पढ्दै गर्दा मलाई पुस्तकभित्र अझ गहिरिएर डुब्न मन लाग्दै गयो। म बिस्तारै पुस्तकका पानाबाट विभिन्न भूगोल, प्रेरणादायी प्रसङ्गहरू र आफूले नभोगेको अमूल्य जीवनलाई छाम्दै गएँ।

अझ अर्जुनकी आमाका अद्भुत बानी पढेर म छक्क परें। अभावमा रित्तो नहुने, भावमा उन्माद नचढ्ने आमा अक्षरसँग खेल्नुहुँदो रहेछ। पुस्तक पढेपछि आमा भन्नुहुन्छ, ‘पढेका कुरालाई कापीमा टिपिएन भने त्यो दिगो हुँदैन। टिपिएका कुरा पछिसम्म रहिरहन्छन्।’

आमा जहिल्यै आफूद्वारा पढिएका पुस्तकको सार कापीमा लिपिबद्ध गर्नुहुन्थ्यो। आमाको दैनिकी देख्दा लाग्छ-मान्छे मान्छेसँग रित्तो हुँदा पनि किताब, कापी र कलमसँग रम्न सक्यो भने भरिँदो रहेछ। म चकित भएँ।

आमाको सोच र मेरो सोच कति मजाले मिल्यो। म पनि त पढेका हरेक पुस्तकका बारेमा केही न केही लेखिरहेकी हुन्छु। म पनि त खाली हुँदा पनि पुस्तक, कापी र कलमले भरिएकी हुन्छु।

नेपालमै केही गर्छु भनेर पटुकी बाँधेका कर्मशील युवा अर्जुनकुमारलाई नियतिले डोर्‍याउँदै बेल्जियमसम्म पु¥यायो। कहिलेकाहीं दुःखले पनि सम्भावनाको ढोका उघारिदिँदो रहेछ। जनयुद्धले लुटेको सपना बेल्जियम पुगेर १८ वर्षसम्म सङ्घर्षरत भयो।

चुनौतीहरूको भूगोलमा घोटिएर प्राप्त गरेको ज्ञान, सिप र अनुभवबाट अर्जुनकुमार साँच्चै अब्बल भएर पुनः नेपाली माटोमा केही गर्ने अठोटसँगै औषधी व्यवसायको नवीन योजना सुरु गरेको सुखद खबर पढ्न पाउँदा हरेक नेपालीको हृदय गदगद हुन्छ। अर्जुनकुमारका जस्तै ऊर्जा, लगनशीलता, हिम्मत, आँट र दूरदृष्टि अरूलाई पनि प्राप्त होस्।  

प्रकाशित: ३० मंसिर २०८० ०३:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App