११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

के पुस्तक विमोचन आवश्यक छ?

चिन्तन

साहित्य लेखिने क्रम बढ्दो छ, यो सर्वविदित कुरो हो। यही सन्दर्भमा नेपाली साहित्यको कुरो उठाउँदा नेपाली लेखकहरू यो क्रममा पछाडि छैनन् भन्ने तथ्य दिनहुँजस्तो गरिने पुस्तकहरूको विमोचन वा अन्तर्क्रियाहरूले पुष्टि गरेका छन्। तर, एउटा गम्भीर प्रश्न उठ्ने गरेको छ-पुस्तक प्रकाशन गरिनु आफैंमा राम्रो कुरो हो तर पुस्तक प्रकाशनपछि त्यसको विमोचन/अन्तक्र्रिया गर्न जरुरी छ कि छैन?

खास गरेर नवलेखकहरूको मनमा यो खुल्दुली रहेको पाइन्छ र अधिकांशतः कतिपयले पुस्तकको विमोचन (यही शब्दलाई अलिक विकसित भाषामा लोकार्पण वा सार्वजनिकीकरण पनि भन्ने गरेका छन्) गराएकै हुन्छन् भने केहीले त्यही पुस्तकको अन्तर्क्रिया पनि गर्ने–गराउने गरेका देखिन्छन्।

देखिने गरिएकै छ, बडो सहजताका साथ आजकल यस्तो गर्ने प्रचलन बढिरहेको छ। के, प्रकाशित किताबको विमोचन/अन्तर्क्रिया नभईकन त्यो किताब प्रकाशित हुनुको औचित्य साबित गर्नै सकिन्न? बजारमा किताब ल्याउनुअघि त्यस्तो कार्यक्रम गर्नुको औचित्य के हो?

बजारमा सुन्ने गरिएको छ-किताबको विमोचन गर्ने, अन्तर्क्रिया गराउने, त्यसका लागि प्रमुख अतिथि, विशेष अतिथिहरू, शुभकामना व्यक्त गर्ने र किताबमाथि बोल्ने वक्तालगायत अन्यलाई निम्तो गर्नेदेखि लिएर जलपानको व्यवस्था गर्नेसम्मको काम प्याकेजमै गर्न सकिन्छ। त्यति मात्रै होइन, आइपरे किताबको समीक्षा लेखाउने र त्यसलाई पत्रिकामा छपाउने तर्जुमा नै गर्न सकिन्छ।

एक प्रकारले, एउटा नयाँ किताब–प्रकाशनको सूचना दिने, त्यस किताबमाथि ससानो अन्तक्र्रिया गर्नेसम्मको प्रचलनलाई अघि बढाउने प्रक्रिया धेरै हदसम्म लेखकका लागि खुसीको पाटो हो। किताब प्रकाशनपछिको यस्तो प्रावधानले किताब–लेखकको लेखनलाई अझै बढी ऊर्जा मिल्छ, यो सही हुन सक्ला। तर, यहीं हिजोआज यसले देखासिकीको रूप मात्रै लिएको पाइन्छ। लेखक आत्मरतिमा रमाउनुबाहेक त्यसको सकारात्मक पक्ष अर्को कुनै भेटिन्न।

मरिमेटेर किताब प्रकाशन गरिएको हुन्छ। र, त्यसको विमोचनको कार्यक्रम राखिन्छ। एक–डेढ सयसम्म पाहुना बोलाइन्छ। कार्यक्रमको सुरुवातमा मञ्चमा एक–डेढ दर्जनसम्मका व्यक्तिलाई आतिथ्य ग्रहण गराइन्छ।

एकातिर, सामान्यतः प्रमुख अतिथि भनेर बोलाइएका व्यक्ति एकाध घण्टा ढिलै गरेर कार्यक्रममा पदार्पण गर्छन्। र, निश्चित समयलाई नाघेर निकै ढिलो गरिएको विमोचन कार्यपश्चात् लेखकलाई दिइने शुभकामना–मन्तव्यहरूले श्रोता–दर्शकलाई दिक्दार बनाइसकेका हुन्छन्।

यही क्रममा, विमोचित किताबको समीक्षात्मक टिप्पणी पनि लगातार भइरहनुले अझै दिक्दारी थपिरहेको हुन्छ। मञ्चबाट अतिथिहरूले के बोलिरहेका हुन्छन्, दर्शक–श्रोतालाई केही मतलब रहन्न, एक–आपसमा मस्तले कुराकानी गरिरहेका हुन्छन्। त्यहाँ किताबमाथि बोलिरहनुको कुनै अर्थ नै हुन्न।

तर, लेखक मञ्चमा मख्ख परेर सोचिरहेको हुँदो हो-किताबमाथि जति धेरैले टिप्पणी गरे वा आफूलाई शुभेच्छा व्यक्त गरे, त्यति नै आफ्नो गरिमा बढिरहेको छ।

यसको अर्थ, किताब प्रकाशित भइसकेपछि विमोचन वा अन्तक्र्रिया गर्दा अरूको नजरमा लेखक एक किसिमले हास्यको पात्र पो बन्ने रहेछन् कि! आशङ्का यो पनि उठ्न सक्छ। त्यसो हो भने यस्तो कार्यक्रमको आवश्यकता छँदै छैन त लेखकका लागि?

कतिपयको विचारमा, लेखेर किताब प्रकाशित गरिसकेपछि कमसेकम विमोचन गराउन आवश्यक छ। किनकि, विमोचन गरेर आमपाठकलाई सूचना नदिने हो भने किताब प्रकाशन गर्नुको कुनै औचित्य रहन्न। नत्र त लेखिसकेपछि पाण्डुलिपि बाकस–दराजमा हुले भैगो नि, किताब नै किन निकाल्नु?

यसै प्रसङ्गमा एउटा समयको स्मरण हुन्छ। २०४९ सालमा हाम्रो संयुक्त कृति ‘यात्रापछि यात्रा’को विमोचन कार्यक्रम थियो। भर्खर भर्खर लेख्न सुरु गरेका हामीभित्र निकै ठुलो उत्साह भरिएको थियो। त्यसको कारण मुख्य के थियो भने सो किताबको विमोचन किसुनजी (कृष्णप्रसाद भट्टराई) को हातबाट हुँदै थियो।

कार्यक्रम बिहान ८ बजे नै राखिएको थियो। तर, उहाँ ९ बजिसकेपछि मात्रै आउनुभयो र हतारहतार किताबको विमोचन गर्नुभयो र किताबै नपल्टाई भन्नुभयो-किताब निकालिहाल्न हतार गर्नु हुँदैन।

यस भनाइप्रति त्यहीं आलोचनात्मक टिप्पणीहरू पनि भए, भोलिपल्टका पत्रपत्रिकामा पनि छापिए-किताब लेखिसकेपछि के त्यसलाई सन्दुकमा घुसार्ने? अनि, लेखकको मृत्यु भएपश्चात् मात्रै उसका नातिनातिनाले त्यो छाप्ने?

सायद हामीलाई त्यतिखेर यत्ति मात्रै थाहा थियो कि केवल किताबको विमोचन गर्ने हो। त्यसमाथि, किसुनजीको हातबाट विमोचन गराउन पाउनु नै ठुलो कुरो थियो। विमोचन गराउनुमा हाम्रो त्यत्ति लोभ मात्रै जोडिएको थियो। विमोचन गरेर हाम्रो सिर्जनाको व्याख्या–विश्लेषण होस् भन्ने हाम्रो कुनै मनसाय लगायतको अन्य कुनै अर्थसँग हामीलाई मतलब थिएन।

तर, आज समयले परिवर्तित रूप लिइसकेको छ। आफ्नो किताब विमोचन भइसकेपछि आजका लेखकले त्यो विमोचन–कार्य समाचार बनेर फैलियोस् भन्ने चाहना राखेकै हुन्छन्। त्यत्तिको लोभ राखिनु स्वाभाविकै पनि हो।

त्यसो त, लेख्नु मात्रै महत्त्वको कुरो होइन, त्यो लेखनलाई पाठकसम्म पुर्‍याउनु बढी महत्त्वको कुरो हो। यस अर्थमा, विमोचन–अन्तर्क्रिया प्रवृत्तिलाई अन्यथा मान्न सकिन्न। त्यसका निम्ति आजको इन्टरनेट–प्रावधानले सहज बनाइदिएकै छ।

किताब विमोचनको समाचार संप्रेषणका लागि सम्बन्धित अनलाइनका रिपोर्टर–पत्रकारहरूले कार्यक्रमस्थलमा भौतिक उपस्थिति जनाउन जरुरी हुँदैन। लेखक–आयोजक स्वयम्ले समाचार पठाउन सक्छन्। तर, यहाँ पनि यस्तो विकृति रहेको सुन्नमा आउने गरेको छ कि समाचार प्रकाशन गर्नका लागि लेखक गुट–उपगुटमा बाँडिएको हुनुपर्छ। साँच्चै, लेखकहरूबिचको अनावश्यक गुटको कुनै अर्थ छ?

यी सबै विसङ्गतिलाई बढावा दिने प्रक्रिया हुन्। तामझामसँग कार्यक्रम गर्नु, त्यसमाथि अनावश्यकीय रूपले वक्तालाई बोल्न लगाएर कार्यक्रमलाई लम्बेतान पार्नु अनि निम्तालुहरूको काम केवल ताली बजाइदिनु र त्यसबापत जलपान गरेर सित्तैको किताब बोकेर हिँडिदिनु लेखक वर्गको सभ्य पहिचान होइन।

कतिपयले त भन्ने गरेका छन्-राम्रो लेख्ने लेखकलाई आफ्नो कलममा विश्वास हुन्छ, न कि यस्ता विमोचन–क्रियामा। आजको युगमा राम्रा पाठकले पुस्तक पाए भने आफसे आफ त्यसको चर्चा चल्न सुरु गरिहाल्छ।

यति भन्न सकिन्छ-सबैभन्दा पहिले लेखकहरूले आफैंले आफूलाई पहिचान गर्न सक्नुपर्छ, लेखनलाई मर्यादामा राख्नुपर्छ। बस्, पढ्न पर्ने–सकिने कुरो पढिहालिन्छ जसरी पनि, अन्य सबै तपसिल।  

प्रकाशित: ३० मंसिर २०८० ००:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App