२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

‘तल्लो पाटोमा तैरिंदा’को लोकार्पण

नेपाल स्रष्टा समाजले हरि थापाको तेस्रो सयात्रा कृति ‘तल्लो पाटोमा तैरिंदा’को लोकार्पण गरेको छ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभाध्यक्ष्यतामा भएकाे कार्यक्रममा अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, स्रष्टा समाज नेपालका संरक्षक पवन आलोक, प्राडा लक्ष्मणप्रसाद गौतम, प्राडा कृष्णप्रसाद दाहाल र कृतिकार हरि थापाले कृतिकाे  संयुक्त रूपमा लोकार्पण गरेका थिए।

स्रष्टा समाज नेपालका संरक्षक पवन आलोकले शुभकामना मन्तव्य दिंदै लेखक मृदुल, सरल र सहृदयी भएको बताए। प्रवासमा बसेर पनि लेखकले नेपाली साहित्यमा योगदान पुर्‍याएकाेमा उनले खुसी व्यक्त गरे।

प्राडा लक्ष्मणप्रसाद गौतमले भूमिकामा सबै कुरा उल्लेख गरेकाे बताए। ‘मैले भूमिकामा धेरै समेटकाे छु। भूमिका लेखेकाे कृतिमाथि बोल्दा र समीक्षा गर्दा कुरा दोहोरिन्छ। त्यसैले भूमिका लेखेकाे कृतिबारे म केही बोल्दिनँ र समीक्षा पनि गर्दिनँ। बरु इतिहास लेख्दा सोलोडोलो समेट्दै जानेछु।’

प्राडा गौतमले नयाँ विधा लेखेर स्थापित गराउन निकै चुनौतीपूर्ण हुने बताए। उनले भने, ‘नयाँ विधा भनेर लेख्न थालेपछि त्यसकाे सिद्धान्तीकरण गर्न अनुयायीहरू जन्माउनुपर्छ। आफूले पनि लेखिरहनुपर्छ। त्यसपछि समालोचकले लेखाइकाे प्रवृत्ति हेरेर सिद्धान्त बनाउने गरेका छन्।’

प्राडा गौतमले थापाकाे सयात्रामा लोभलाग्दो विम्बकाे प्रयाेगले नियात्राभन्दा केही पृथक् भएकाे पढ्दा  निकै आनन्द तुल्याएकाे पनि बताए।

समालाेचक प्राडा कृष्णप्रसाद दाहालले उनको सयात्रामा नियात्राका प्रशस्त तत्त्व भएको बताए, ‘नियात्रामा सिद्धान्तबाट हेर्दा नियात्रा नै हो। एउटा बाटो हिंड्दाभन्दा नयाँ बाटो हिंड्दा नयाँ दृश्य देखिने रहेछ। सयात्राकार थापाले नेपाली साहित्यमा नयाँ बाटाे हिंड्नुभएकाे छ।’

उनले सर्जक थापाले सुरु गरेको यस उपविधामा नियात्राभन्दा केही पृथक् तत्त्व र संरचना हुनुपर्नेमा जोड दिए। कृतिमा अमेरिकामा बस्ने नेपालीको पीडा अभिव्यक्त भएको पनि उनले बताए।

समालाेचक दाहालले सिद्धान्त निर्माणका लागि अन्य लेखकले पनि सयात्रामा कलम चलाएर साथ दिनुपर्ने बताए।

सयात्राकाे लेखक हरि थापाले  यात्रा धेरै कुरा सँगसँगै हुने भएकाले कुनै छुटयाउन नमिल्ने भएकाले सयात्राकाे धारणा ल्याएकाे बताए। उनले भने, ‘यात्रा गर्दा साथी, ठाउँ, सवारी साधन सबै एकैसाथ हुन्छ। कुनै पक्ष छुट्याउँदा अपूर्ण हुने रहेछ। सबै कुरा अटाउनुपर्छ भन्ने मान्यतामा सयात्राको प्रतिपादन गरेको हुँ।’

कार्यक्रमका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले नेपाली साहित्यमा स्रष्टा थापाले नयाँ प्रयोग गरेको बताए। उनले भने, ‘लेखकले सयात्रा भनेर नयाँ विधाको प्रयोग गर्नुभएको छ। प्रयोग गर्नु भनेको आँट गर्नु हो। आँटेको कुरामा धैर्यसाथ साधनामा लाग्नुपर्छ। हल्लाको पछि लागेर गरिने कुनै पनि काम चिरस्थायी हुँदैन।’

प्रकाशित: २८ मंसिर २०८० ०५:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App