१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘गाउँ आएको बाटो’ जेठ १८ मा प्रदर्शन

विश्व प्रसिद्ध टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औं संस्करणमा छनोट भएर पहिलो प्रदर्शनी (प्रिमियर) गरिएको नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ को नेपालमा प्रदर्शन गर्ने समय तय गरिएको छ। उक्त चलचित्र नेपालमा २०८१ जेठ १८ गते चलचित्र भवनमा प्रदर्शन गरिने निर्माण पक्षले निर्णय गरेको छ।

दक्षिण कोरियाको बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, भारतको मुम्बई चलचित्र महोत्सवलगायतमा समेत प्रदर्शनी गरिएको ‘गाउँ आएको बाटो’ को नवीन सुब्बाले निर्देशन गरेका हुन्। राई जातिको सामाजिक पृष्ठभूमिमा तयार पारिएको सो चलचित्रमा गाउँमा सडक आएपछि बाबु–छोराका सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको निर्देशक सुब्बाले जानकारी दिए।

निर्देशक सुब्बाले निर्देशनको सुरुआत गरेको पहिलो चलचित्र ‘खांग्री’ नै पहिलोपटक अन्तर्राष्ट्रिय बजारमा पुगेको थियो। यसअघि उनीद्वारा निर्देशित ‘नुमाफुङ’ फुकुओका, गोटेवर्ग, सन्फ्रान्सिस्कोजलगायत चलचित्र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएका थिए।

‘गाउँ आएको बाटो’ मा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतले अभिनय गरेका छन्। महेश राई र निर्देशक सुब्बाले लेखेको सो चलचित्रको छायांकन जोस हेरम, सम्पादन क्वान पुन लिउङले तथा हेडी लीले संगीत भरेका छन्।

नेपाली चलचित्रमा भारतीय कलाकार 

नेपाली चलचित्र ‘देव वाणी’ मा अभिनय गर्न भारतीय अभिनेता ह्यारी जोश नेपाल आएका छन्। नकारात्मक भूमिकामा रुचाइएका अभिनेता जोशले ‘वान्टेड’, ‘धुम २’, ‘वेलकम’ जस्ता बलिउड चलचित्रमा अभिनय गरेका छन्। ६ दिनको छायांकन तालिका तय गरेर अभिनेता जोश नेपाल आएको उक्त चलचित्रका निर्देशक बाबु साहेब बलामीले जानकारी दिए।

बालाजुस्थित नेपाल चलचित्र विकास कम्पनीमा अभिनेता जोशले ट दिन छायांकन गरेसँगै चलचित्रको सम्पादन कार्य सुरु हुने निर्देशक बलामीले बताए। ‘उनी नेपाली चलचित्रमा अभिनय गर्ने कुराले हर्षित छन्।

आफ्नो भूमिका बुझेर अभिनय गर्नुका साथै समय मिल्दा काठमाडौंमा घुमघाम गरिरहेका छन्’, निर्देशक बलामीले भने, ‘चलचित्र हिन्दी भाषामा समेत प्रदर्शन गरिने हुँदा उनलाई अभिनयका लागि अनुरोध गरेका हौं। सामाजिक कथामा आधारित भए पनि प्रेमभाव र द्वन्द्वको मिश्रण दर्शकले चलचित्रमा पाइने छ।’

सिमरा र वीरगञ्ज क्षेत्रमा छायांकन गरिएको चलचित्र ‘देव वाणी’ मा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुव कोइराला, घनश्याम गिरी, रवीन्द्र झा, नन्दु श्रीवास्तव, मौसम पौडेल, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिनालगायतले अभिनय गरेका छन्।

अनुजा इन्टरटेनमेन्ट र मौसम फिल्मस् प्रोडक्सन हाउसले निर्माणमा सहकार्य गरेको चलचित्र ‘देव वाणी’ मा नीराजन मेहता मञ्जिलले कथा लेखन, श्री श्रेष्ठले द्वन्द्व निर्देशन, हरिबहादुर घलेले छायांकन, रामजी लामिछाने र तेञ्जु योञ्जनले नृत्य निर्देशन, मनोहर सुनामले संगीत सिर्जना तथा बन्दे प्रसादले सम्पादन गरेका छन्। –रासस

प्रकाशित: २३ मंसिर २०८० ०९:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App