‘हेर न ताउरमाउर, यो मुर्दारको!’ गलामा माला लट्काएर हिंडिरहेको पाङ्ग्रेलाई केहीबेर नियालेपछि जङ्गलका राजाले भन्यो।
‘आज हाम्रो तिहार हो नि, महाराज! मानिसहरूले पूजा गरेर यो माला लगाइदिएका। अझ बोलाएको सबै ठाउँमा त जान पनि सकिएन। कस्ताकस्ता परिकार थिए, खानाको त कुरै छाड्दिनुस्!’ पाङ्ग्रेले फूर्ति लगायो।
कुकुर भएर पनि मानिसहरू पाङ्ग्रेलाई त्यत्रो इज्जत गर्छन्। मसँग सत्ता, शक्ति र ताकत के मात्रै छैन! रूप र शारीरिक बनावट हेर्दा पनि कहाँ म, कहाँ त्यो। मै हुँ भन्ने प्राणी पनि मेरो बल देखेर छुलछुल हुन्छन्। तैपनि लोकले मेरो पूजा गर्दैनन्। यही कुरा सोच्दै सिंह निकैबेर टोलायो।
एकाएक सिंहले मायालाग्दो गरी सोध्यो, ‘किन होला पाङ्ग्रे! लोकले मेरो पूजा नगरेका?’
पाङ्ग्रेले गम्भीर भएर भन्यो, ‘महाराज! हजुर आफ्नो ताकत केमा लगाउनुहुन्छ, विचार गर्नुहोस् त!’
पाङ्ग्रेको कुरा सुनेर सिंह सोचमग्न भयो।
कुकुरले गर्वका साथ भन्यो,‘हजुरभन्दा हरेक कुरामा कमजोर छु म। अरू केही गर्न सक्दिनँ।तर, आफू बस्ने घरको रक्षा त गर्छु नि!’
-कुमुदप्रसाद शर्मा
प्रकाशित: १५ मंसिर २०८० ०४:३५ शुक्रबार