११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

आचार्य प्रभाको ‘विधुर पुरुष’ भित्र एक नजरिया

पाठक्यौली

साहित्यपोस्टले आफ्नो कार्यक्रमअन्तर्गत साहित्यकार विश्वराज अधिकारी र म खेमराज पोखरेलका बिचमा साहित्यिक कुराकानी गराउँदै थियो। त्यसकै छेउमा मैले देखेँ आचार्य प्रभाको हालै प्रकाशित लघुकथासङ्ग्रह ‘विधुर पुरुष’ को ढेरी र पाएँ कोसेली। त्यसो त मैले ‘विधुर पुरुष’ को पाण्डुलिपिमै चप्पाचप्पा चहार्ने सुसंयोग पाएको थिएँ। जन्मेपछि भने कृतिको पहिलो दर्शन थियो त्यो। आफैंले दुई पातो शुभकामना लेख्ने जोहो पाएकाले कृति देख्दा हर्षको सीमा थिएन। र, ब्यागको कोखिलामा च्यापेर समुद्र नाघेको थिएँ।

कृतिको आवरणमा एउटा वृद्ध पुरुषको मूर्त/अमूर्त बिम्ब छ। कृतिको पश्चभागमा लघुकथाकारको सूक्ष्म जीवन चरित्र अङ्कित गरिएको छ। साहित्यपोस्टले २०७९ सालमा प्रकाशन गरेको यो कृतिमा वरिष्ट कथाकार माया ठकुरी, डा. शेखरकुमार श्रेष्ठ, शेषमणि आचार्य, खेमराज पोखरेल, लता केसी, दीपक लोहनीका शुभकामना छन् भने डा. पुष्करराज भट्टको विहङ्गम भूमिका छ। त्यसपछि लघुकथाकार आचार्य प्रभाको कृतिको रचनागर्भ समेटिएको आफ्नो भनाइ छ। एक सय लघुकथा समेटिएको यो लघुकथाकृति कलेबरका हिसाबमा खँदिलो मात्र छैन; सुन्दर र आकर्षक पनि छ।

२०१९ सालमा दार्जिलिङमा जन्मिएर नेपालको दमक हुँदै हाल अमेरिकाको कोलोराडोमा बसोबास गर्ने आचार्य प्रभामा जीवन भोगाइको भौगोलिक विविधता मात्र होइन, अस्मेलता पनि देखिन्छ। उनले नेपाली विषयमा स्नातकोत्तरसमेत गरेकाले विषयगत अध्ययन, चिन्तन तथा मनन गरिएका बग्रेल्ती आयाम छन्।

२०३४ सालदेखि नै साहित्य साधना गरिआएकाले उनमा लेखनीको परिपक्कता देखिनु स्वाभाविक हो। कविता, गीत, कथा, नाटक, गीतिकथा, भजन, गजललगायत कविताका रम्बास जस्ता नवकाव्यप्रविधाहरूमा समेत हररर कलम चलाएकी आचार्य प्रभाका अनेक कृति प्रकाशित छन्।

पुरस्कार, पदक, सम्मान आदिले सुशोभित भइसकेकी सर्जक हुन् आचार्य प्रभा। अनेसास लगायत अनेकन साहित्य संस्थासँग प्रत्यक्ष जोडिएको, योगदान दिएको तथा नेतृत्व गरेको अनुभव छन् उनमा। यसरी हेर्दा लघुकथाकार आचार्य प्रभामा विधागत विविधता तथा तिखारिएको बहुविधा शिल्प पाइन्छ।

अब कृतिभित्र समेटिएका एक सय ओटा लघुकथाका विषयतिर नै प्रवेश गर्छु। आचार्य प्रभामा देखिएको विविध विधागत शिल्प लघुकथामा पनि विविध विषयको विन्यासशिल्प देखिन्छ। प्रत्यक्ष वा अप्रत्यक्ष समाजमा लैङ्गिक हिसाबमा नारीले भोग्नुपर्ने वा भोगिरहेका पारम्परिक तथा आधुनिक चिन्तनले ल्याएको समस्याभित्र नै कथावस्तु घुमेका छन्।

सामाजिक जीवनमा हुनुपर्ने नैतिक चेतना, मेलमिलाप, सामञ्जस्य, व्यवहारिक ज्ञान तथा कुशलता जस्ता लौकिक बन्धन नै लघुकथाकार प्रभा आचार्यका कथावृत्त हुन्।

यसो भन्नुको तात्पर्य यो संसार निर्माण गर्ने सामाजिक तथा पारिवारिक वैयक्तिक जीवनभित्र नरनारी सम्बन्धका सुमधुर रूपहरू नै हुन्। यो रूपको आधार सहअस्तित्व, सहविश्वास, सहमति तथा सहकार्य हुनुपर्ने पक्षमा व्यक्त गरिएको सशक्त विचार नै हो।

लघुकथाकृति स्वरूपगत तथा प्रयोजनका हिसाबमा धेरै सशक्त विशेषताहरूले सुसज्जित छन्। समग्रमा यी विशेषतालाई सामाजिक मनोविज्ञानमा आधारित भन्न सकिन्छ। उनका लघुकथाभित्र सूक्ष्म रूपले प्रवेश गरियो भने समाजको प्रेमिल रूप देख्न पाइन्छ। आदर्शवादी तथा प्रेमिल नारीको कल्पना गरिएको पाइन्छ।

नारी मात्र होइन; लैङ्गिक हिसाबले पुरुषमाथि हुने मनोवैज्ञानिक विभेद तथा प्रभाव पनि देखिन्छ। कृतिको शीर्षक ‘विधुर पुरुष’ ले नै विधुर तथा वृद्ध एकल पुरुषको भौतिक तथा मनोवैज्ञानिक दशा बताएको छ।

वर्तमान नेपाली साहित्यिक वृत्तमा प्रधान भएर देखापरिरहेको नारीमाथि हुने शारीरिक, मानसिक तथा वैचारिक विभेदका बिचमा पुरुष मनोविज्ञान तथा समस्या देखाउनु कृतिको वैशिष्ट्य हो। पुरुषका दयनीय विषय बोल्नु वास्तवमा कृतिको नवीन सौन्दर्य हो।

लघुकथाहरू पढ्दा दार्शनिक पाराका देखिन्छन्। परम्परावादी तथा यथास्थितिवादी दर्शन देखिन्छ भने कतिपय लघुकथामा अग्रगम्यता तथा भौतिकवादी चिन्तन पनि देखिन्छ।

अग्रगम्यता तथा भौतिकवादी चिन्तनलाई पनि सरल तथा सलिल तरिकाले व्यावहारिक बनाएर प्रक्षेपण गर्नु अर्को विशेषता हो। तर पनि लघुकथालेखनको पृष्टभूमिचाहिं कुनै खास एउटा दर्शन होइन। अर्थात् कुनै एउटा दर्शनको कुम्लो बोकेर पश्चपीठिकामा राखेर त्यसकै आधारमा लेखिएका लघुकथा भने होइनन्। यसो भएकाले लघुकथालाई दार्शनिक कथानक भन्न सकिन्न। बरु लघुकथाकारको स्वतन्त्र चिन्तनको परिणति हो।

‘विधुर पुरुष’ भित्र सँगेटिएका लघुकथाहरू समाजमा विद्यमान समस्याका बिचोबिच कुदेका छन्। ती लघुकथाले समाजभित्र छरपस्ट भएका मुद्दाहरूलाई उठाएका छन्। वर्तमानमा भोगीय अवस्थाको सामाजिक दृष्टिकोणमा देखिने मुद्दामा आधारित छन् लघुकथा। उदाहरणका लागि वृद्ध पुरुषको मुद्दा, महिलाका विषय, स्पर्म डोनरका वैचारिक अवधारणा आदि लघुकथाले उठाएका मुद्दा हुन्।

यसैगरी लघुकथाकारको दृष्टि वैदेशिक जीवनका समस्यामा पनि पुगेको छ। किनभने लघुकथाकारको व्यक्तिगत जीवनको भोगाइमा अनन्य  अनुभूति छ। याने अनुभूतिको घेरामा अत्यन्त व्यापकता छ।

यद्यपि लघुकथाहरू सामाजिक जीवनका नरनारीको सम्बन्धह खल्बल्याउने पक्षमा छैनन्, तथापि उनका लघुकथाहरूमा विद्रोहात्मकता पनि पाइन्छ। कृतिभित्र रहेको ‘मौकाको पर्खाइ’ श्रोणीका लघुकथाले शालीन तर विद्रोह पस्केका छन्।

अधिकारको आह्वान गरेका छन्। यसो गर्दा उनका लघुकथाहरू सामाजिक प्लेटफर्ममा व्यङ्ग्यात्मक चेतना पस्किन सक्षम छन्। सकारात्मक विचारभावको मेरुदण्डमा लघुकथाहरू सिर्जित भएका छन्। सुन्दर, शान्त, विशालको वृत्तमा चिन्तनीय विशेषता अङ्कित छन्। दार्जिलिङमा जन्मेर झापामा लामो कालखण्ड बिताएकी लघुकथाकार आचार्य प्रभाको हालको बसाइ अमेरिकाको कोलोराडोमा भएकाले उनका लघुकथामा बहुसंस्कृति तथा बहुअनुभूतिको प्रभाव टड्कारो देखिन्छ।

उल्लिखित विशेषताहरू लघुकथाभित्र पाइने कथात्मकता तथा सन्देशको आधारमा उल्लेख गरिएका हुन्। लघुकथाकारको लघुकथा लेखनीको प्रयोजन याने समाजलाई दिएको सन्देशलाई केन्द्रमा राखेर विशेषता केलाइएको हो। यसरी हेर्दा वैचारिक रूपले समाजको समग्र प्रगतिजन्य अवधारणा बोकेका छन् लघुकथाले। प्रगतिकामना नै लघुकथाको प्रमुख ध्येय हो। सुन्दर सामाजिक चित्रको विनिर्माण नै प्रमुख उपादेयता हो।

अब लागौँ ‘विधुर पुरुष’ भित्रका लघुकथाको रूपविधानभित्र। किनभने लघुकथा भनेको प्रचलित कथाको सानो रूप होइन। विशिष्ट बुनौटका आधारमा तयार गरिएको पृथक तथा स्वतन्त्र आख्यानात्मक लघुसिर्जना हो लघुकथा। शीर्षकीकरणमा समेत संक्षिप्तता, कौतूहलता तथा विषयसापेक्षतालाई ध्यान दिनुपर्ने हुन्छ।

लघुकथाको उठान याने आरम्भमा आकस्मिकता, कौतूहल तथा सूत्रता अपरिहार्य हुन आउँछ। सूक्ष्मता, सूत्रता, लघुत्व, प्रभावोत्पादकता, तिक्ष्णता, साङ्केतिकता, प्रतिध्वन्यात्मकता, गहनता, एकोन्मुखता आदि लघुकथाका रूपविधानका गहना हुन्।

‘विधुर पुरुष’ भित्रका लघुकथाहरूलाई रूपविधानको मानकमा राखेर हेर्यो भने लघुकथाकार आचार्य प्रभाका लघुकथाहरू छासमिसे प्रकृतिका देखिन्छन्। कतिपय प्रयुक्त लघुकथाको शीर्षकमा संक्षिप्तता, उठानमा आकस्मिकता, विकासमा तीव्रता, उत्कर्षमा चुस्तता, समापनमा प्रतिध्वन्यात्मकता पाइन्छ।

दुई वा दुईभन्दा बढी घटनाहरूका बिचमा द्वन्द्व निर्माण गरेर व्यापक प्रभाव उत्पादन गरिएका छन्। याने विपरीत भावको आधारलाई अनुसरण गरिएको देखिन्छ।

उदाहरणका लागि उठानमा आकस्मिकता भएका लघुकथामा ‘एकल वृद्ध’, ‘स्पर्म डोनर’ शीर्षकका लघुकथाहरूलाई लिन सकिन्छ।

यसैगरी सूक्ष्मता तथा लघुत्व र चुस्त समापन भएका लघुकथामा ‘पाठ’ लघुकथालाई उदाहरण मान्न सकिन्छ। विपरीत भावमा समापन गरिएका लघुकथामा ‘मौकाको पर्खाइ’ लाई लिन सकिन्छ, जसमा वीरमान नामक पात्रका दुई रूप देखिन्छन्। समाजमा नैतिकताको पाठ पढाउने वीरमान अनि सोही वीरमानले घरमा श्रीमती कुटेकाे घटना समायोजन गरिएको छ।

उनका लघुकथा लेखनका विशेषतामा स्वैरकल्पनाको पनि प्रयोग छ। नबोल्ने जीव, वनस्पती तथा कल्पना गरिएको मूर्त/अमूर्त वस्तुलाई मानवीकरण गरेर मानवजीवनको चर्चा गर्नु स्वैरकल्पना हो। ‘घुँगुँरुको गुनासो’ लघुकथा यस्तै स्वैरकल्पनामा लेखिएको छ।

लघुकथा लेखनमा हठात अन्त्य तथा प्रभावकारी प्रतिध्वन्यात्मकता बनाउँदै जाँदा चुट्किला बन्ने खतरा सधैं हुन्छ। कफल्लो विषयवस्तु, प्रयोजनमा सस्तो हास्य, बुनौटमा अकथा चुट्किलाका सामल हुन्। तर आचार्य प्रभाको यो कृति ‘विधुर पुरुष’ लाई जसरी र जतिपल्ट पढे पनि चुट्किलाबाट पुरापुर जोगिएका छन्। यो कुरा लघुकथा विनिर्माणको ज्यादै सुन्दर पक्ष हो।

जेजसो भए पनि संसारमा पूर्णता खोजिन्छ। पूर्णता खोज्नु उन्नतिको आधार हो। तर पूर्णता भन्नु भ्रम हो। भ्रम नै फेरि यथार्थ पनि हो। याने यो संसारका सवै कुरा अपूर्ण छन्। म, मैले भोगे/देखेको संसार, मेरा अमूल्य भनिएका आस्था, मैले जाने भनेका विद्वता आदि आदि गुढ अर्थमा राखेर हेर्‍याे भने सबै अपूर्ण छन्। यही अपूर्णताको सैद्धान्तिक कसीमा हालेर म आचार्य प्रभाको लघुकथाकृतिमा एक भ्रमित नजरिया प्रवाह गर्दै छु।

कृतिको कलेवर सुन्दर छ। गुदी सकारात्मक र सलिल छन्। सुन्दर संसारको परिकल्पनामा रस प्रवाह भएको छ। तथापि केही कथ्यगत र केही रूपगत कुरा भने अपूर्ण सिद्धान्तका आधारमा छन्। याने अपूर्ण छन्। याने सुधाराकांक्षी छन्। यद्यपि अपूर्णता तथा सुधारकांक्षा अनवरत चलिरहने प्रक्रिया हो। यसको कुनै जेनिथ वा अपरिवर्तनीय उच्चता मापक यन्त्र छैन।

प्राविधिक कुरामा थोरै कमी भएको देखिन्छ। पुस्तकमा कुनै ठाउँमा प्रकाशकको नाम ‘साहित्यपोस्ट’ छ भने कुनै ठाउँमा‘ शब्द मिडिया प्रालि’ रहेको छ। यद्यपि यो सर्जकको समस्याचाहिं होइन। सर्जकले सुझबुझका साथ सिर्जना गर्ने हो। त्यसलाई आकारीकरण गर्ने क्रममा प्रकाशकको आँखा चिम्ल्याइ भने हो।

लघुकथा एउटा छुट्टै प्रकारको शैलीमा लेखिने आख्यान हो। विवरण, बयान, विस्तार, वर्णन आदि लघुकथा लेखनका बाधा हुन्। प्रयुक्त कृतिका धेरै लघुकथामा वर्णनात्मक शैली अवलम्बन गरिएको देखिन्छ।

यो कुरा लघुकथा लेखनको ऐजेरु हो भन्छन् लघुकथाका विज्ञ। रूपविधानका हिसाबमा कृतिलाई हेर्ने हो भने शैली कथात्मक देखिन्छ। लघुकथा लेखनमा कथात्मक शैलीबाट जोगिनुपर्ने हुन्छ। कथात्मक शैलीमा लेखिंदाा लघुकथालाई छोटा कथा बनाइदिन्छ। किनभने लघुकथा भनेको कथाको सानो रूप होइन। यो त छुट्टै प्रविधा हो।

लघुकथाकारले समस्याको समाधान आदर्शवादी थिममा गरेको जस्तो लाग्छ। समाजमा आदर्शवाद यस्तो विचार हो जो मिठो त हुन्छ तर त्यसमा न्याय हुन्न। आदर्शवादी कथानक सुन्दा/सुनाउँदा निकै गहन लाग्छ। पारम्परिक समाजले त्यसको उच्च मूल्याङ्कन पनि गर्छ। तर आदर्शवादले दिएको समस्या समाधानमा न्याय हुन्न। स्वतन्त्रता हुन्न। मान्छे न्याय र स्वतन्त्रताका लागि सङ्घर्ष गरिरहने प्राणी हो त्यसैले आदर्शवाद जति मिठो भए पनि जिन्दगी त्यसरी चल्दैन। चल्यो भने पनि न्याय हुन्न।

कृतिभित्र शीर्षकीकरणमा पनि समस्या देखिन्छन्। लघुकथाको शीर्षक संक्षिप्त, कौतूहलता र विषयसँग सम्बद्ध हुनुपर्ने हुन्छ। किनभने लघुकथाको शरीर नै लघु हुने भएकाले टाउको याने शीर्षक लामो राख्नाले घनटाउके बन्न जान्छ। यो लघुकथाकृतिमा यस्ता धेरै शीर्षक छन्, जो अत्यधिक लामा छन्। उदाहरणको लागि ‘ऊ आगो भए तिमी पानी बन्नु’ लाई लिन सकिन्छ। लघुकथाकार प्रभाले किन यस्तो लामो शीर्षक राखेको होला भन्ने पाठकलाई जिज्ञासा हुन सक्छ।

मेरा विचारमा जुन बेला (२०३४ साल) मा आचार्य प्रभाले लेख्न सुरु गरेको हो, त्यो बेला असाध्य लामा शीर्षक राख्ने प्रचलन थियो। त्यसको प्रभाव परेको हो भन्न सकिन्छ। कृति शीर्षक ‘विधुर पुरुष’ छ। विधुर भनेपछि पुरुष भन्नु सायद आवश्यक थिएन। किनभने विधुर भन्नासाथश्रीमती गुमाएको पुरुष भन्ने नै बुझिन्छ।

अर्कोतिर कृतिभित्र ‘विधुर पुरुष’ शीर्षकको एउटा लघुकथा पनि छ। र, त्यसैलाई आधार बनाएर कृतिको शीर्षक राखिएको छ। तर, वर्तमान साहित्यिक परिवृत्तमा कृतिमा सँगेटिएका सवै विषयगत विविधता अटाउने खालको कृति शीर्षक राखिनुपर्छ भन्ने मान्यता सुरु भएको छ।

लघुकथाको आरम्भ याने उठान कथात्मक हुन हुन्न। उठानमा आकस्मिकता, कौतूहल तथा चुस्तता खोजिन्छ। यो कृतिका कतिपय लघुकथामा यो धर्म शतप्रतिशत निर्वाह गरेको पाइन्छ। तथापि कतिपय लघुकथामा उठानमा कथात्मक शैली अवलम्बन गरेको देखिन्छ। कथात्मक शैली भन्नाले मूल कथामा प्रवेश गर्नका लागि बनाइने परिवेश हो। बयान हो। भूमिका हो। लघुकथामा भूमिका नबाँधी सोझै मूल कथामा नै प्रवेश गर्नुपर्दछ। उठानमा मात्र होइन, कथ्यको विकास, उत्कर्षमा पनि कथात्मक शैली बाधा हो। यस्ता कथात्मक उठान, विकास तथा उत्कर्ष भएका लघुकथाको उदाहरणका लागि ‘आफ्नैको प्रहार’ लाई लिन सकिन्छ।  

लघुकथा लेखनमा सबै तत्त्वको ज्यादै महत्त्वपूर्ण भूमिका हुन्छ। त्यसमाथि समापन थप महत्त्वको हुन्छ। लघुकथाको थिमलाई उत्कर्षमा पुर्‍याएपछि सोझै समापनतिर ओर्लनु सुन्दर समापन हो।

यसरी सोझै ओर्लँदा प्रतिध्वन्यात्मकता, एकोन्मुखता, व्यङ्ग्यात्मकताको प्रचुर प्रयोग हुन्छ। यद्यपि यो कृतिमा समेटिएका लघुकथाहरूमा समापनमा चुस्तता देखिएको छ। तथापि केही लघुकथामा समापनमा विस्तार गरिने शैली अपनाइएको छ। यो कुरा लघुकथाको बाधा हो। समापनमा विस्तार भएका लघुकथाको उदाहरणका रूपमा ‘गुलाबसँगै अ‍ौइलिएको माया’ लाई लिन सकिन्छ।

लघुकथा भनेको कौतूहलताको धागामा उनिने माला हो। त्यसो भएकाले शीर्षक, उठान, विकास, उत्कर्ष तथा समापनमा कौतूहलतालाई जोगाउनु नै पर्छ। यो भनेको लघुकथा लेखनको प्रारम्भिक कुरा हो। लघुकथा लेखनको पूर्व सर्त हो। यो सङ्ग्रहका धेरै लघुकथामा त्यो कौतूहलतालाई कायम गरिएको भए तापनि कतिपय लघुकथामा भने कतै शीर्षकमा, कतै उठानमा, कतै विकासमा, कतै उत्कर्षमा र कतै समापनमा कौतूहलताको नास भएको छ। कौतूहलता जोगाउन पाएको भए यो कृति सुनमाथि सुगन्ध हुने थियो भन्ने कुरा हो।

अब पातोको बिटमा छु। लघुकथाकार आचार्य प्रभाले अमेरिकाको कोलोराडोमा नै वरिष्ट आख्यानकार मनु ब्राजाकीसँग सामिप्य पाएको परिघटना म सम्झन्छु। मनु ब्राजाकीले लघुकथाबारे आफ्नो ‘छोटाकथा’ नामक कृतिमा अभिव्यक्त गरेको कुरालाई बिट मरौँनी उल्लेख गर्दै छु।

ब्राजाकीका भनाइमा ‘लघुकथाले एउटा विशिष्ट रूपाकार प्राप्त गरिसकेको छ। लघुकथाको संरचनात्मक विन्यासबारे भन्नु पर्दा यति नै भन्नु यथेष्ठ होला-शिखरमा पुग्ने सबैभन्दा छोटो बाटो सबैभन्दा कठिन र दुरूह हुन्छ। सानो हुन सजिलो छ, तर कलेबरमा छोटो भएर पनि प्रभावोत्पादकत्वमा मोटो हुन गाह्रो छ।’

ब्राजाकीको यो कथन लघुकथा लेख्दै गरेका मजस्ता सिकारुका लागि सञ्जीवनी बुटी हो। शब्दसीमाभित्र आख्यान विनिर्माण गर्नु सामान्य कुरा हो। तर त्यसले बोक्ने ‘अ नोभेल इन अ प्याराग्राफ’ को सिद्धान्तभित्र अटाउन भने निकै शिल्प चाहिन्छ।

अब पुछारमा, आचार्य प्रभाको ‘विधुर पुरुष’ शीर्षकको कृति कस्तो छ भन्ने हो। सारमा भन्ने हो भने खारिएका, सुविचार भएका छन् लघुकथा। त्यसो त लघुकथाकार आचार्य प्रभाको सिर्जना शिल्प सौन्दर्यले भरपूर भएको छ। लघुकथा विनिर्माणमा असाध्य धेरै मेहनत गरेको प्रष्टै देखिन्छ। यसो भएकाले उनका लघुकथाहरू शिल्पीय तथा सन्देशका हिसाबले खारिएका छन्। यो पुस्तकभित्र गवेषण गरिरहँदा मलाई आनन्दानुभूति भएको छ। समयको सदुपयोग भएको छ। त्यसैले बहुविधा विज्ञ लघुकथाकार आचार्य प्रभाको लेखनीको निरन्तरता त्यसमाथि पनि लघुकथाको उन्नयनमा सानदार र अविच्छिन्न उपस्थितिको कामना गर्छु।  

प्रकाशित: १५ मंसिर २०८० ०३:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App