२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

पहाडमा पैह्रो जाँदा हिमाल खुसी साट्छ

मुक्तक

१. मुक्तक

पहाडमा पैह्रो जाँदा हिमाल खुसी साट्छ,

विजयोत्सव मनाउन तराईले केक काट्छ।

एउटा रुँदा अर्को हाँस्ने रीतिथिति बसालेर,

भाइ-भाइमा एकताको डोरी कसले बाट्छ?

२. मुक्तक

आऊ न साथी जाऊँ पारि माझीले डुङ्गा खियाउँदै छ त,

दालभात खोसिए पनि मुक्तिले फाँडो त पियाउँदै छ त।

शङ्ख फुक्दै दलबलसहित रात बस्तीमा मडारिए पनि,

आकाशगंगाबाट उज्यालोले धरतीलाई चियाउँदै छ त।

३. मुक्तक

सिक्किम पोख्छ मनको बह मेची सुनिरहन्छ,

दार्जिलिङका दर्दहरू पनि मनमा गुनिरहन्छ।

पीडा धुन सहयोग माग्छ तर नपाएपछि कतै,

बिछोडिंदा फाटेको मन रुँदै एक्लै तुनिरहन्छ।

४. मुक्तक

झुत्रेझाम्रे बिर्सिसकें सुकिलाको भर लाग्छ,

लाज छोप्न सम्झिएको नाटक गर्न कर लाग्छ।

अटे, दूधे खान छोडें जुम्लीमार्सी मीठो लाग्छ,

पखालाचाहिं लाग्ने हो कि भन्ने थोरै डर लाग्छ।

५. मुक्तक

बहाउँछौ ममताका धारा कहिल्यै नघर्कने गरी,

सिकाउँछौ हिंड्न र दौड्न गोडा नमर्कने गरी।

बाँच्न सिकेपछि मारेर लात खोटाङ तिमीलाई,

धेरै लाखापाखा लाग्छन् कहिल्यै नफर्कने गरी।

 -नानुमैया दाहाल

प्रकाशित: ९ मंसिर २०८० ०८:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App