२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

लोकपर्व सामा-चकेवा: गाउँमा मनाइँदै, शहरमा हराउँदै

संस्कृति

सामचे सामचके आबिहे हो,

जोतला खेतमे बैठिए हो,

सब रङ पटिया ओछाइहियै हो,

तै पटियामे के–के सुते,

छोटे बरहे लादहैन सुते

अर्थात् सामा-चकेवा सधैं आउनू है, जोतेको खेतमा बस्‍नू है, सबै रङको गुन्द्री ओछ्याउनू है, त्यो गुन्द्रीमा कोको सुत्‍ने? सानाठुला सबै भाइ सुत्‍ने।

मिथिलावासीको महान् पर्व छठ सकिएसँगै यस क्षेत्रमा सामा-चकेवाका यी र यस्तै गीतले गाउँबस्ती मुग्ध छन्। यस पर्वलाई यहाँका आदिवासीसँगै मधेसी समुदायले पनि उत्तिकै आस्था र उत्साहका साथ मनाउँछन्। दिदीबहिनीहरूले दाजुभाइको दीर्घायुको कामना गर्दै सामा-चकेवा पर्व मनाउँछन्।

मधेसी गाउँबस्तीमा बाँसका नाङ्लामाथि काँचो माटोले विभिन्‍न आकारका मूर्ति बनाइएका छन्। जसमा सामा–चकेवा, चुगला, बिरदाबनी, मौहौतिया/मालिन, कुत्ता, नाह खैबैया, तितिर (समाको साथी), नटुवा, न्‍याक्दी भलाजी, ढोलकिया/झाइल बजिया र भँवरा राखेर सामा-चकेवा खेलिरहेका छन्।

कात्तिक शुक्ल द्वितीया तिथिदेखि सुरु हुने यो पर्व कात्तिक पूर्णिमाको मध्यरातिसम्‍म दिदीबहिनीहरू प्रत्‍येक साँझ आफ्नो टोलमा समाचकेवा गीत, भजनकीर्तन गर्दै हर्षोल्लासका साथ मनाइरहेका छन्।

मधेसका सहरमा हराउँदै गए पनि गाउँघरमा यो पर्व अझै जीवन्त रहेको मधेस प्रदेशसभा सदस्य सञ्जिलाकुमारी यादव बताउँछिन्।

उनले भनिन्, ‘यहाँको संस्कार र संस्कृतिलाई जीवन्तता दिँदै व्यापक बनाउन सांस्कृतिक जागरण अभियान चलाउनु आवश्यक छ। गाउँसहर जहाँ बसे पनि सांस्कृतिक मौलिकता नहराओस् भनेर जताजतै सांस्कृतिक जागरण सुरु गर्नुपर्छ।’

‘सामा-चकेवा’ पर्व मुख्यतया चेलीबेटी र माइती पक्षबिच रहेको अटुट श्रद्धा एवम् प्रेमको प्रतीक हो। त्यसैले होला, सहरमा यो पर्व हराउँदै गए पनि मधेसका गाउँगाउँमा महिलाहरू यस लोकपर्वमा सहभागी हुने गर्छन्।

यसको बहुआयामिक स्वरूप, गायन-विविधता, प्रकृतिप्रतिको अगाधप्रेम, माइती र चेलीबिचको स्नेहपूर्ण सम्बन्ध, चुगला (समाजविरोधी)प्रतिको सामूहिक-संगठित विरोध, लोककल्याण भावना, संस्कारगत-प्रशिक्षणजस्ता अनेक खण्डमा बाँडेर यस पर्वलाई विश्लेषण गर्न सकिने प्रदेश सभा सदस्य यादव बताउँछिन्। रात्रिका बेलामा मनाइने यो पर्व एघार दिनसम्म मनाउने चलन छ।

छठ पर्वको भोलिपल्टदेखि मनाइने यो पर्व कहिलेदेखि मनाउन थालिएको हो भन्ने ऐतिहासिक पृष्ठभूमि स्पष्ट छैन। यस पर्वका सम्बन्धमा संस्कृतिविद्हरूबिच पनि मतभिन्नता पाइन्छ। पद्म पुराण, स्कन्द पुराण र साम्बपुराण जस्ता विभिन्न पुराणमा यस पर्वको चर्चा गरिएको पाइन्छ।

‘सामा-चकेवा’ लोक पर्वको शुभारम्भ द्वापर युगमा भगवान् कृष्णको समयदेखि सुरुवात भएको पाइन्छ। यो पर्व भगवान् श्रीकृष्णकी छोरी साम्बा र छोरा साम्बको कथामा आधारित छ।

 यस कथाप्रसङ्ग अनुसार भगवान् श्रीकृष्णकी पत्नी जाम्बवतीतर्फ १० भाइ छोरा र एउटी छोरी गरी एघारजना सन्तान थिए। तीमध्ये जेठा छोराको नाम साम्ब र छोरीको नाम साम्बा थियो।

साम्बा जति सुशीला र चरित्रवती थिइन्, त्यत्तिकै उनको सुन्दरताको बखान हुने गथ्र्यो। साम्बाको सौन्दर्यमा मोहित भई भगवान् श्रीकृष्णकै पुरी द्वारिकामा बसोबास गर्न ‘चूडक’ लट्ठ भएको थियो। तर उसको एकतर्फी प्रेम साम्बालाई थाहा नै थिएन।

उता साम्बाको ‘चारुवाक’ नामक युवकसित गान्धर्व विधिले विवाह सम्पन्न हुन्छ। त्यसपछि आफ्ना पतिको घरमा बसोबास गर्न थाल्छिन्। साम्बालाई आफूले प्राप्त गर्न नसकेकाले प्रेमान्ध चूडक श्रीकृष्णको दरबारमा जाने र उनकी छोरी साम्बाको चरित्रबारेचियोचर्चा गर्न थाल्छन्।

वृन्दावनको दिव्य जंगलबिचमा गोपेश्वर महादेवको मन्दिर थियो। आफ्नो दाम्पत्य जीवनमा उतारचढाव नआओस् र दीर्घ सौभाग्य प्राप्त होस् भन्ने उद्देश्यले उनी पति चारुवाकको आज्ञा लिई नित्य दिन उक्त मन्दिरमा गई पूजा आराधना गर्छिन्।

उक्त पूजाअर्चनाको प्रभाव तथा भगवान्को अनुकम्पाले साम्बाका पति चारुवाकको स्वरूप देवतातुल्य मनोहर र दिव्य हुन पुग्छ। त्यसपछि उनी पति चारुवाकसँगै विभिन्न सुरम्य स्थलमा वनविहार गर्न थाल्छिन्।

यसै प्रसङ्गलाई जोड्दै ‘साम्बाले पतिको हत्या गरी परपुरुषसँग वृन्दावनमा विहार गर्दै गरेको’ कुरो गाँसेर चूडकले भगवान् श्रीकृष्णलाई भए-नभएको उपाख्यान सुनाई पोल लगाउँछ। कुरो सुन्नासाथ सत्यताको निरूपण नै नगरी श्रीकृष्णले छोरी साम्बालाई पन्छी हुने सराप दिन्छन्। देख्दादेख्दै पत्नी पन्छी भएपछि चारुवाक रुँदै-कराउँदै भगवान् श्रीकृष्णको शरणमा पुग्छन् र वास्तविकता बताउँछन्।

कृष्णलाई आफ्नो निर्णयप्रति पछुतो हुन्छ र चूडकलाई चुगलखोरी गरेवापत देशनिकालाको सजाय हुन्छ। उता ससुरा कृष्णसँग आफू पत्नीबिना बाँच्न नसक्ने भन्दै चारुवाकले विलाप गर्छन्। अनि भगवान् श्रीकृष्णले आफ्नो श्राप आफै फिर्ता लिन नमिल्ने बताउँछन्।

त्यसो भए पत्नी पन्छी नै रहने भएपछि आफूलाई पनि पन्छी बनाइदिन ज्वाइँले अनुरोध गर्छन्। श्रीकृष्णले उनलाई पनि पन्छी नै बनाइदिन्छन्। यसरी पन्छीका रूपमा साम्बा दम्पत्ति रहन लागे। बहिनीले श्राप प्राप्त गरेको र पन्छी भएको समाचार दाजु साम्बले प्राप्त गर्छन्। उनी पनि निर्दोष बहिनीज्वाइँलाई पन्छीयोनीबाट मुक्त तुल्याउन पिता श्रीकृष्णसित अनुनय–विनय गर्छिन्। तर, श्रीकृष्णले राजधर्मको बाध्यता र विवशताका कारण उक्त श्राप फिर्ता लिन नसक्ने बताउँछन्।

पितासित साम्बले बहिनीज्वाइँ मुक्त हुने उपाय बताउने आग्रह गर्छन्। श्रीकृष्णले समस्त व्रज क्षेत्रका साध्वीहरूलाई साम्बाको पातिव्रत्य धर्म डगेको छैन भनी विश्वस्त तुल्याई ती सम्पूर्णले कात्तिक शुक्ल पञ्चमीदेखि कात्तिक शुक्ल पूर्णिमासम्म ११ दिन प्रत्येक दिन सायम्कालमा गोपेश्वर महादेवको मन्दिर परिसरमा गीत र नृत्य गरी भगवान् भोलेनाथलाई प्रसन्न तुल्याएमा ती दम्पत्तिले पन्छीयोनीबाट छुट्कारा हुने उपाय बताउँछन्।

यसै उपायलाई अनुशरण गरी साम्ब महिलाहरूलाई संगठित बनाउँछन् र आफूले पनि शिवको आराधनामा घनघोर तपस्या गर्छन्। ती संगठित साध्वी स्त्रीहरूले शिवालयको परिसरमा साथै श्रीकृष्णको दरबार जाने चौबाटोमा प्रत्येक साँझ गीत र नृत्य प्रस्तुत गर्छन्।

साम्ब र द्वारिका पुरीका समस्त साध्वी स्त्रीको आराधनाले शिव प्रसन्न हुन्छन् र साम्बाका जोडीलाई पन्छीयोनीबाट मुक्त बनाउँछन्। स्त्रीहरूको संगठित प्रतिरोध, चेलीबेटी र माइतीबिचको अटुट प्रेम र घुसघुसे एवम् पोल्याहा (चुगला)हरूलाई सजाय दिने सन्देश बोक्ने यही उत्सव हो-‘सामा-चकेवा’ पर्व।

मधेसका दूरदेहातमा महिलाहरू अझै ‘सामा-चकेवा’को अभिनय गर्छन्। यस पर्वमा यो र यसै कथानकसँग जोडिएका पात्रहरू शाम्बा (सामा), चकेवा (चारुवाक)का अतिरिक्त शाम्ब, सतभैया, खडरिच, चुगला (चूडक), वृन्दावन, चौकीदार, झाँझी, कुकुर (कुत्ता) आदिको माटोको मूर्ति निर्माण गरी रोचक अभिनय ग्रामीण क्षेत्रमा अझै जीवन्त रहेको मिथिला भाषाका सहप्राध्यापक उमेशकुमार झा बताउँछन्।

‘दाजुबहिनीबिचको आत्मीय प्रेमको प्रतीकका रूपमा मनाइने यस पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्य र दीर्घायुको कामना गर्छन्,’ सहप्राध्यापक झा भन्छन्, ‘यस पर्वका दुईवटा प्रमुख पात्र हुन्छन् ‘सामा र चकेवा’।

सामा स्त्री पात्र हुन् भने चकेवा पुरुष पात्र। त्यसैगरी समाजको खलपात्रको प्रतीकका रूपमा चुक्ली लगाउने अर्को पात्र ‘चुगला’ पनि हुन्छ।’

एक दशकअघिसम्म मिथिला तथा मधेस क्षेत्रमा विभिन्न पात्रको प्रतीकका रूपमा बनाइएको माटोका मूर्तिलाई बाँसको टोकरीमा राखी कात्तिक शुक्ल पञ्चमीको साँझदेखि टोलछिमेकका दिदीबहिनीहरू गाउँबाहिर खुला ठाउँमा एकत्रित भई सामा-चकेवासम्बन्धी गीत गाएर अभिनय गर्थे।

यस क्रममा समूहमा महिलाहरू डालो (ढाकी)मा मूर्तिहरू सजाउँदै कात्तिक शुक्लपक्षको पञ्चमीको बेलुकाबाट गाउँगाउँको दोबाटो, चौबाटो, चोक आदि स्थलमा भेला भई लोकगीत गाउँदै नृत्य गर्थे।

यसरी मनाउँछन् सामा-चकेवा

‘सामा खेले चलली सखीसँग सहेली हो,

साम चके साम चके अइहो हे

जोतला खेत में बैसिहो है,

चुगला करे चुगलपन बिलैया करे म्याउँऊ,

चुगला के फाँसी देऊ’

यस्ता लोकगीत गाउँदै चुगलाको मूर्तिमा टाँसिएको दाह्री र जुँघालाई प्रत्येक दिन डढाउँदै त्यस प्रतिमालाई महिलाहरूले कुटेपिटे झैं पनि गर्ने चलन छ। गीतमा आफ्ना दाजुभाइको प्रशंसा तथा चुक्ली लगाउने पात्रलाई गाली गरिएको हुन्छ।

त्यसैगरी सामा-चकेवालाई शीत र दुबो खुवाइन्छ। सामा-चकेवालाई शीत र दुबो खुवाइसकेपछि मूर्ति राखिएका टोकरीलाई बिचमा राखी त्यहाँ उपस्थित दिदीबहिनीहरू वृत्ताकारमा बस्छन् र टोकरीलाई दाहिने हातले एकले अर्कालाई दिँदै बायाँ हातले फेरि लिने गर्छन्।

दिने र फर्काउने यो क्रम नथाकेसम्म गीत गाउने र अभिनय गर्ने क्रम चलिरहन्छ। त्यसपछि असत्य, पाप र असामाजिक तत्वको प्रतीकका रूपमा रहेको चुक्ली लगाउने पात्रको जिउमा आगो लगाइन्छ।

त्यसपछि दिदीबहिनीहरू सामा-चकेवाको गीत गाउँदै आआफ्नो घर फर्कन्छन्। घर पुगेपछि सामा-चकेवाको टोकरीलाई आँगनमा राखी धानको बाला खुवाई रातभरि बाहिरै राखिन्छ।

यो क्रम पञ्चमीदेखि चतुर्दशीसम्म चलिरहन्छ र पूर्णिमामा यो लोकपर्वको विसर्जन गरिन्छ। पूर्णिमाका दिन बिहान मूर्तिलाई सफासुग्घर बनाई रङरोगन गरी विशेष किसिमले सजाइन्छ। त्यसपछि किशोरीहरूले आफूले गाउँगाउँ डुली अभिभावकहरूबाट संकलन गरेको रकम र अन्नादिको उपयोग गरी तयार गरिएको प्रसाद दही, चिउरा, चिनी र मिठाईसहित विभिन्न परिकारको भोजन तयार गर्छिन्।

साँझ सर्वप्रथम मूर्तिहरूलाई भोजन गराइन्छ। त्यसपछि दिदी–बहिनीहरूले आआफ्ना दाजुभाइलाई मूर्तिकै जुठोस्वरूप त्यही भोजन प्रसादका रूपमा दिन्छन्। प्रसाद ग्रहण गरेपछि दाजुभाइले ती मूर्तिलाई आफ्नो घुँडामा राखी भाँच्छन्। त्यसबेला दाजुभाइले दिदीबहिनीलाई नगद, गहना, लुगाफाटा आदि उपहार दिने चलन छ। अनि सामा, चकेवा र अन्य भाँचिएका मूर्तिहरूलाई गाउँनजिकैको खोला, पोखरी वा तलाउमा विसर्जन गरिन्छ। तर, चुगलाको मूर्तिलाई भने फोहोर ठाउँमा फाल्ने गरिन्छ र यस पर्वको समापन गरिन्छ।

प्रकाशित: ९ मंसिर २०८० ०६:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App