‘लहै बहिनी! घरको ख्याल गर्नुहोला है। दाइ पसलबाट घर फर्कन सधैं ढिला गर्नुहुन्छ। छतमा जान हामीसँग एउटा मात्रै चाबी छ। तपाईहरूलाई लुगा सुकाउन र धाराको पानी थाप्न गाह्रो हुन्छ होला। दुईचार दिनलाई इनारको पानी चलाउँदै गर्नू। लुगाहरू बाहिरको बारहरूमा सुकाउनू। म केही दिनमै फर्किहाल्छु ल!’ माइती हिंड्दै गरेकी घरबेटीले भाडामा बस्ने अर्पितालाई जानकारी गराइन्।
घरबेटीकी छोरी र डेरावालकी छोरी एउटै स्कुलमा पढ्ने र असाध्य मिल्ने भएकाले ती दुई परिवार बिचमा बाध्यताकै भए पनि एक प्रकारको सम्बन्ध भने कायमै थियो।
जाडो बिदा सुरु भयो। घरबेटीकी छोरी श्वेताले डेरावालकी छोरी स्रष्टासँगै गाउँ जान्छु भन्दै जिद्दी गर्न थाली। ती बच्चाहरूसँग अर्पिता आफैं जाने भएपछि घरबेटी पनि ढुक्क भए र छोरीलाई पठाउन राजी भए।
आमाछोरी गाउँ गएपछि डेरावाल अर्जुन एक्लै भए। घरबेटीसँग उनको खासै हिमचिम थिएन। त्यसैले उनी घरमा भए नभएको थाह नै हुँदैनथ्यो।
एक दिन काम विशेषले घरबेटीका बुढाबुढी जिल्ला प्रशासन कार्यालय पुगे। उनीहरूले त्यहाँ अर्जुनलाई हाकिमको कुर्सीमा बसेको देखे। काम सकेर बाहिर निस्केर ढोकामा हेरे। प्रशासकीय अधिकृत ‘अर्जुन जिसी’ भित्र’ भनेर लेखिएको रहेछ।
केही दिनपछि अर्पिता पनि नानीहरू लिएर गाउँबाट फर्किन्। घरबेटी दाइ र दिदीले आफ्नी छोरी श्वेतासँग स्रष्टाको गाउँ कस्तो रहेछ भनी सोधे।
श्वेताले गाउँको सुन्दरता र त्यहाँ आफूले पाएको मायाका कुरा गरी। साथै उसले स्रष्टाको त गाउँमा मात्र होइन, अर्को शहरमा हाम्रोभन्दा पनि निकै ठूलो घर रहेछ भन्ने कुरा सुनाई।
भोलिपल्ट बिहान अर्पिता गाउँको कोसेली बोकेर घरबेटीकहाँ गई। यसअघि केही न केही बहाना बनाएर कोसेली लिन आनाकानी गर्ने घरबेटीले यसपालि भने खुसी हुँदै कोसेली लिए।
अर्को दिन बिहानै हर्क दाइ तल आएर छतको ताल्चा खोल्ने अर्को चाबी दिंदै भने, ‘अर्पिताजी! अब एकदुई दिनमै ट्वाइलेट र किचनमा पनि धाराको पानी आउने व्यवस्था हुँदै छ, ल! अरू केही असुविधा छ भने भन्नुहोला है!’
-हरिप्रसाद गौतम
प्रकाशित: ७ मंसिर २०८० ०६:२५ बिहीबार