८ वैशाख २०८१ शनिबार
कला

पहिले दर्शक, अहिले प्रतियोगी

काठमाडौं- धरानमा जन्मिएर झापामा परिवारसँग बस्दै आएकी केविका खत्री टेलिभिजन रियालिटी शो ‘छमछमी २’को नियमित दर्शक थिइन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने यो सो विरलै छुटाउँथिन् । यिनै केविका अहिले तेस्रो संस्करणमा प्रतियोगीका रूपमा काठमाडौंमा छिन् ।

नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको नृत्य प्रतियोगिता ‘छमछमी’ सिजन ३ मा त्यस्ता प्रतियोगी उत्कृष्ट ११ भित्र परेका छन् जो कुनै समय घरमा बसेर प्रतियोगिता हेर्थे । उपाधिका लागि मेहनत गरिरहेका प्रतियोगी पाए उपाधि नपाए अनुभव लिएर जाने सोचमा छन् ।

‘पहिलो संस्करणको सो राम्ररी हेरेको सम्झना छैन । तर, दोस्रो संस्करणको नछुटाइ हरेकी थिएँ,’ सोको उत्कृष्ट ११ मा परेकी २० वर्षीया केविकाले भनिन्, ‘टेलिभिजनमा हेरिरहँदा म पनि यो सोमा सहभागी भएर दर्शकका अगाडि टेलिभिजनमा नाच्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । अहिले त्यो सपना पूरा भएको छ ।’
झापामा स्नातक दोस्रो वर्षमा अध्ययनरत २० वर्षीया केविकालाई अन्य रियालिटी सो भन्दा ‘छमछमी’ विशेष लाग्छ । ‘अन्य सोहरुको निर्णय के कसरी हुने हो अन्यौल किसिमको हुन्छ, तर यो सोको निर्णय चाहीँ निष्पक्ष हुन्छ भन्ने मेरो विश्वास छ,’ उनले प्रष्ट्याइन् ।
पूर्व झापाकी केविकाभन्दा पश्चिम दाङका जीवन बुढाथोकीको पृष्ठभूमि अलिक फरक छ । यो सोमा सहभागी भएका अधिकांश प्रतियोगी अघिल्ला सोको दर्शक भए पनि जीवन चाहिँ अपवाद हुन् । भारतमा बसेर चार वर्षअघि मात्र दाङ आइपुगेका उनलाई सोका बारेमा जानकारी थिएन । ‘म भारतमा रहँदा त्यताको रियालिटी सोको बारे मात्र थाहा थियो । तर, नेपालमा पनि डान्स रियालिटी सो छ भन्ने थाहा थिएन,’ उनले भने, ‘घर आएपछि मात्र छमछमीको बारेमा थाहा पाएँ । अनि अडिसनबाट छानिएर अहिले काठमाडौंमा छु ।’ भारतमा छँदा डीआइडीको क्षेत्रीय संस्करणमा सहभागिता जनाएका जीवन नेपाली सोमा नाच्न पाउँदा दंग छन् । ‘भारत र नेपालको काम गर्ने शैली फरक छ । तर पनि आफ्नो देशको सो भएकाले उताभन्दा यतै रमाइलो लागिरहेको छ,’ उनले भने । जीवन आफैंले पनि दाङमै डान्स इनिष्टिच्युट खोलेर इच्छुकलाई सिकाउँदै आएका छन् ।
चौधरी ग्रुप र नेपाल टेलिभिजनको सहकार्यमा भइरहेको यो रियालिटी सोको उत्कृष्ट ११ मा परेका प्रतियोगीहरू दैनिक रूपमा ‘क्लोज क्याम्प’को प्रशिक्षणमा व्यस्त छन् । ‘हामीले अहिले प्रतियोगीलाई क्लोज क्याम्पमा राखेर उनीहरूको सबै व्यवस्थापन गरेर प्रशिक्षण दिइरहेका छौं,’ टेलिभिजनका कार्यक्रम महाशाखा प्रमुख माधव कार्कीले भने, ‘प्रतियोगीहरू सबै जुझारु छन् । उनीहरूको लगनशीलताले पनि हामीलाई कार्यक्रम गर्न हौसला मिलेको छ ।’ उनले चौधरी ग्रुपसँग चौथो र पाँचौं संस्करणका लागि पनि सम्झौता भइसकेकाले तेस्रो सिजन सकिएपछि चौथो र पाँचौंको तयारीमा जुट्ने बताए ।
कार्कीले टेलिभिजनले चाँडै नै गायनको रियालिटी सो गर्ने पनि बताए । ‘यो वर्षबाटै गायन सो सुरु गर्ने सोचमा थियौं । तर, दक्ष जनशक्तिको अभावसँग स्थानीय निकाय र प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका कारण कर्मचारी अभावले नृत्यको सो गर्न सकिएन,’ उनले भने, ‘हाम्रो योजनामा गायन सो पनि परेकाले त्यो पनि चाँडै गर्नेछौं ।’
चौधरी ग्रुपअन्तर्गतको सिजी फुडका एजिएम लालबाबु प्रसादले ग्रुपले सामाजिक उत्तरदायित्व अन्तर्गत रियालिटी सोमा संलग्नता जनाएको बताए । ‘हामीले आफ्नो ब्रान्डलाई स्थापित गराउने उद्देश्यसँगै नेपालमा लुकेर बसेका प्रतिभाको पहिचान गर्न रियालिटी सो गरेका हौं,’ उनले भने, ‘त्यसका लागि रियो जुसलाई अघि बढाएर छमछमीसँग जोडिएका हौं ।’
देशभर गरिएको अडिसनबाट छानिएर आएका प्रतियोगीहरू अहिले उत्कृष्ट ११ भित्र परेर उपाधिका लागि आफूलाई निखारिरहेका छन् । उत्कृष्ट ११ मा काठमाडौंका नेहा तामाङ, सुर्खेतका शेखर घर्तीमगर, झापाकी केविका खत्री र एलेक्स विक, बुटवलका अभिनाश हमाल, रामेछापकी रबिता मगर, विराटनगरका मनिष कटुवाल, दाङका जीवन बुढाथोकी, कोहलपुरका रोशन विश्वकर्मा, धरानकी मनिता राई र हेटौंडाका सरोज राना प्रजा छन् ।
धरानकी मनिता दोस्रो संस्करणमा पनि प्रतियोगी थिइन् । तर, उत्कृष्ट ५० भन्दामाथि जान सकिनन् । तर, यो पटक भने उपाधि जित्ने लक्ष्यमा छिन् । धरानलगायतका पूर्वका स्थानमा निर्माण हुने अधिकांश म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी मनिता धरानका विद्यालयमा नृत्य शिक्षिकाको रूपमा पनि काम गर्छिन् ।
नेपाल टेलिभिजनबाट हरेक बुधबार बेलुकी प्रसारण हुने यो सोको विजेताले डाट्सनको रेडी गो कार पुरस्कार पाउने छन् । सोमा दोस्रो हुनेले ५ लाख बराबरको एलजी होम अप्लाइन्स, तेस्रो हुनेले ३ लाखको एलजी होम अप्लाइन्स र उत्कृष्ट १० भित्र पर्ने बाँकी ७ जनाले प्रत्येकले ३२ इञ्चको एलजी स्मार्ट टेलिभिजन पुरस्कार पाउनेछन् ।
अघिल्लो वर्षको मंसिर २४ गते काठमाडौं अडिसनबाट सुरु भएको छनोट प्रक्रिया पोखरा, कोहलपुर, धनगढी, बुटवल, इटहरी, झापा, वीरगन्ज र नारायणघाटमा सकिएको थियो । देशैभरबाट २ हजारभन्दा बढी प्रतियोगी सहभागी भएको यो सोको विजेता फागुनको पहिलो सातासम्म टुंगो लाग्नेछ । शोका प्रतिस्पर्धीलाई गम्भीर विष्ट र दीपेन्द्र शाही ठकुरीले कोरियोग्राफी गरिरहेका छन् भने कोरियोग्राफर कमल राई, मिथिला शर्मा र महेश गोदार निर्णायक छन् । निर्णायक मिथिलाले निर्णायक प्रतियोगीको नृत्य शैली, उसको स्टेपको अध्ययन गर्ने बताउँदै ‘छमछमी’का प्रतिस्पर्धीहरू कोही भन्दा कोही कम नरहेको दाबी गरिन् ।

प्रकाशित: १० पुस २०७४ ०४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App