१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

च्यातिएको डायरी

कथा

‘आमा, यी नचाहिने थोत्रा सामान किन ल्याउनुहुन्छ? त्यसै त कोठा सानो, त्यैमाथि यी चिजले कोठा साँघुरो हुन्छ, दिक्क लाग्ने,’ म आमालाई कराउँदै भन्छु। आमाले सुन्नु भए पो। मेरी आमा टिचिङ अस्पतालमा सरसफाइको काम गर्नुहुन्छ। बाबासँग छुट्टिएर आमाले मलाई दुःखले पढाउँदै हुनुहुन्छ। मलाई पछि बाबाआमासँगै राख्ने मन छ। कोटेश्वरमा कोठा छ आमा र मेरो। बिहान-बेलुकी घरबेटीका छोराछोरी ट्युसन पढाउँछु। त्यही भएर कोठा भाडा तिर्नुपर्दैन। आमालाई अलि सहज छ। म पनि ध्यान दिएर पढ्दै छु। आमाको सहारा बन्नु छ। अस्पतालदेखि के के सामान बोकेर आउनुहुने आमाको बानी पटक्कै मन पर्दैन मलाई। कति सम्झाउँछु मान्नुहुन्न। यसपालि एउटा पुरानो च्यातिएको डायरी ल्याउनुभएको रहेछ।

‘आमा, यो डायरी कसको? किन ल्याउनुभएको?’

‘तँलाई काम लाग्छ कि भनेर ल्याएको नि।’

‘जे पायो त्यै बोकेर नआउनु भन्छु,’ म रिसाएँ।

‘अबदेखि ल्याउँदिनँ। यो खाताको माया लाग्यो। एउटा बिरामी केटीको हो। लैजान बिर्सेछन्। धेरै दिनसम्म लिन आएनन्। आधा खाली रहेछ, तँलाई लेख्न काम लाग्छ भनेर।’

‘अब केही काम नपाएर म यस्तैमा लेखेर बस्छु,’ मलाई दिक्क लागेर आयो। त्यो डायरी टेबुलको एक कुनामा हुत्याएर म घरबेटीका छोराछोरी पढाउन माथिल्लो तलातिर लागें।

शनिबारको दिन कोठा सरसफाइ गर्न भनी म तयारीमा लागें। अस्ति आमाले ल्याउनुभएको डायरीमा आँखा पर्‍यो। राम्रा अक्षरले लोभ्यायो। मेरो त सा¥है नराम्रो  छ अक्षर।

‘आमा, म मरेपछि पशुपति आर्यघाटमा जलाउनु ल।’

कस्तो सिरिंग भयो शरीर डायरीको एक हरफले। म पनि कहिलेकाहीं उपन्यास, कथाहरू पढ्ने गर्छु तर आमाले कोर्सको किताबबाहेक अरू पढेको देख्नेबित्तिकै कराउनुहुन्छ। दिनभर थाकेर आउनु भएकी आमालाई कराउन पार्न मन लाग्दैन। एकपटक फररर डायरीका पाना पल्टाउँछु।

सफा, शुद्ध अक्षरले डायरीका पाना भरिएका छन्। कुनै कुनै पाना त खाली पनि छन्। कहीं अलि अलि लेखिएका छन्। लेख्ने समयको सिलसिला नमिलेको जस्तो लाग्यो। डायरीको पहिलो पानामा लेखिएको एउटा नाम थियो-निराजन। डायरीका पानाहरू पल्टाउदै जान्छु। झन् उत्सुकता बढ्दै जान्छ। म डायरी पढ्न थाल्छु:

लेख्न त मन छैन तर नलेखी बस्न सकिनँ। लेखिनँ भने झन् मन खरानी बन्छ भन्ने डरले लेख्दै छु।

विराटनगरको त्यो गर्मीमा म पछ्यौरी ओढेर बसिरहेकी देख्दा आश्चर्यले मेरी आमाका आँखा खुलेका खुल्यै भए।

‘किन पागल भएकी बाबा?’ आमाका आँखामा आँसु डबडब भयो।

‘आमा, यो पछ्यौरी ओढेपछि मनलाई शान्ति मिल्छ। म मरेपछि यो पछ्यौरी ओढाएर नै जलाउनु ल !’ म आमाको हात समातेर भन्छु। आमा उता फर्केर आँसु पुछ्नुहुन्छ।

म मृत्यु पर्खेर बसेकी छु। बिस्तारै गल्दै, हार्दै जाँदै छु जिन्दगीदेखि। आमा जुरुक्क उठेर जानुभयो। यसो हेर्छु, पछ्यौरीमा उसका ठुलाठुला आँखा, हँसिलो मुहार, छोटो कपाल, ठुलो निधार, ओठमा राखेको अलिअलि जुँगा अनि चिउँडाको कोठी देख्छु। हुरुक्क हुन्छ मन। यही पछ्यौरीमा लपेटिएर म उसको छातीमा एक रात निदाएकी थिएँ। यही पछ्यौरी ओढाएर मलाई छोडेर गएको थियो। वर्षौं बितेर गयो तर यो पछ्यौरीमा भएको उसको शरीरको तातोपन र सुगन्ध अझै महसुस गर्छु। उसको यादमा रोएको आँसुले निथ्रुक्कै भिजेको छ यो पछ्यौरी!

यी हरफ पढ्दा कस्तो कस्तो लागि रह्यो। ‘यो डायरी कसको होला? डायरी लेख्ने केटीलाई के भएको थियो? के रोग लागेको थियो? आमालाई सोध्छु,’ मनमनै सम्झे। म बिस्तारै डायरीका पाना पल्टाउछु। ३–४ पाना खाली छोडेर लेखिएको रहेछ।

कहिलेकाहीं त लाग्छ-पत्थरलाई माया गरेकी रहेछु। उसको बाटो हेरेर आँखा कहिल्यै थाकेनन्। प्रत्येक दिन उसले पठाउने चिठीको आस लाग्थ्यो। हर साँझ उसलाई सपनामा भए पनि देख्न पाउँछु भनेर खुसी हुने म बिहान चिठी आउने आशाले बिउँझन्थें। बिस्तारै समयले घुम्तीहरू पार गर्दै गयो। सञ्चार सेवा विस्तार भइरहेको थियो।

शान्ति प्रक्रियामा देश प्रवेश गरिसकेको थियो। केही मान्छेका हात हातमा नेपाल टेलिकमको नमस्ते, स्काई सिम पुगिसकेको थियो। उसको प्रतीक्षासँगै म आफ्नो जागिरे जीवनमा व्यस्त थिएँ। मानव अधिकार आयोगमा कार्यरत म घरबाट नै अफिस जान्थें।

 द्वन्द्वपीडित महिला तथा बालबालिकाको हकहित र संरक्षण अनि सामाजिक पुनःस्थापनाका लागि काम गर्दै जाँदा ऊ अर्थात् निराजनसँग जिप्रका इलाममा भेट भएको थियो। ऊ जिप्रका इलाममा कार्यरत प्रहरी नायब निरीक्षक थियो। एउटा केसमा हामीले सँगसँगै काम गरेका थियौं। केही नसोची मैले मन पराएकी थिएँ उसलाई। दिन बित्दै गए। म झन् झन् निराजनप्रति गहिरिँदै गएँ। ऊ मेरा लागि सब थोक थियो। उसको इलामदेखि सरुवा भइसकेको थियो।

बिस्तारै ऊ सपनामा पनि आउन छाड्यो। कहिलेकाहीं फोनमा कुरा हुन्थ्यो। फेसबुकको सहायताले उसका हरेक काम थाहा पाउँथें म। जति दिनहरू बित्दै जान्थे, उसको सम्झना र तिर्सना झन् गाढा बन्दै जाँदै थियो। मैले ऊबिनाको जिन्दगी कल्पना पनि गरेकी थिइनँ।

बेलाबखत हात गोडा सुन्निनु अनि ओछ्यान पर्नु मेरा लागि सामान्यजस्तै बनेको थियो। प्रायःजसो अब उठेका भन्दा ओछ्यान परेका दिन धेरै हुँदै थिए। बिस्तारै बाँच्ने मन हराउँदै जाँदै थियो। घरिघरि शारीरिक पीडाले मरिजाऊँ कि जस्तो लाग्थ्यो। फेरि ऊ कुनै दिन मलाई सम्झेर, खोजी गर्दै आउला, ‘सानी’ भन्दै बोलाउला, मलाई नदेख्दा, नभेट्दा ऊ कसरी बाँच्ला? अनि मेरी आमा?

ऊ आउने भ्रम र आमा यथार्थ हुनुहुन्थ्यो। म यही भ्रम र यथार्थले बाँचिरहेकी थिएँ तर ऊ आउने भ्रम बिस्तारै धमिलिँदै जाँदै थियो। यसो आँखा पुछेर हेर्छु, नर्स हातमा इन्जेक्सन बोकेर उभिएकी रहिछिन्।

म निःशब्द भएकी छु। डायरी झन्-झन् पढ्न मन लाग्दै छ। डायरीको अर्को पाना पल्टाउँँछु।

म यताउता हेर्न खोज्छु। आँखा उघ्रँदैन। ऊ मुसुक्क हाँस्यो। ओठमा अलि अलि राखेको जुँगा र चिउँडाको कोठी आँखामा दिव्य ज्योति बनेर चम्क्यो। उसका नरम आंैलाहरूले मेरा आँखा, कपाल सुमसुम्याइरहेका थिए। मैले शारीरिक पीडा भुलिसकेकी थिएँ। उसका दुवै हात बेसरी समाएर छातीमा टाँस्छु। असीम आनन्द लाग्छ। म बाँचेकोमा ढुक्क लाग्छ। उसको हँसिलो मुहार देखेर म अलिकति हाँस्न खोजिरहेकी छु तर झसङ्ग  सपनादेखि ब्युँझिएँ।

‘यो पेन किलर है’ मुसुक्क हाँस्दै नर्सले क्यानुलामा एक इन्जेक्सन लगाइदिन्छिन्।

हत्तपत्त मोबाइल हेरें। उसले मेसेज लेख्यो कि? मिस कल गर्‍यो कि? मोबाइल रित्तै थियो, म पनि रित्तै भएँ।

दिन प्रतिदिन मेरो शारीरिक पीडा बढ्दै छ। एक्ली आमालाई हेर्छु, झन् गा¥हो लाग्छ। शरीर सुन्निएको अलिकति घट्छ, फेरि केही दिनमा उस्तै भइहाल्छ। कहिलेकाहीं रगत नै बान्ता हुने समस्या झन् बढ्दै गएका कारण आमा आत्तिनुभएको छ। रिपोर्टअनुसार मेरो मिर्गौलामा जटिल समस्या छ। अलि अलि बुझ्छु तर आमाले सबै कुरा मलाई भन्नुभएको छैन।

मेरो हड्डी-छाला भएको शरीर हेरेर घुँक्क घुँक्क रुँदै गर्नुभएकी आमालाई देख्दा आफ्नै जन्मप्रति ग्लानि महसुस हुन्छ। मेरै मुख हेरेर बाँच्छु भनेर सङ्घर्षरत आमालाई म बिस्तारै बोझ भएकी छु जस्तो लाग्छ।

बुबाले अर्की आमा लिएर छुट्टै बस्नुहुन्छ। हिजो अस्पतालमा मलाई भेट्न आउनुभएका बुबालाई देख्दा सपना जस्तो लाग्यो। यसो सम्झन्छु, मबाहेक मेरी आमाको कोही र केही छैन। रगत बान्ता हुने समस्या बढ्दै गएपछि आमाले मलाई काठमाडौं लैजाने तयारीमा हुनुहुन्छ। मैले जान मन छैन भन्छु, आमा रुनुहुन्छ।

मलाई टिचिङ अस्पताल लैजाने कुरा फिक्स भएको थाहा पाउँछु। त्यहाँ लक्ष्मी दिदी (मामाकी छोरी) नर्स हुनुहुन्थ्यो। अलि सहज हुन्छ भनेर होला। बिस्तारै म गल्दै गएकी थिएँ। मेरो पीडाले आमा बढी दुख्नुहुन्थ्यो। मलाई आफू बाँच्छु जस्तो पटक्कै लागेको थिएन। म नै रहिनँ भने आमा कसरी रहनुहोला? पिर थपियो।

एकदिन घरमा ताला लगाएर आमाले मलाई काठमाडौं लिएर हिँड्नुभयो। काठमाडौं जानुअघि सबै कोठा हेरें, मैले रोपेका फूलहरू हेरें। हृदय चिसो भएर आयो। मलाई अब ती फूलहरूप्रति कत्ति पनि मोह थिएन। मनभित्र लाग्यो–अब यी फूलहरू फुलेको कहिल्यै पनि देख्न सक्दिनँ। एउटा मेरो डायरी र गुलाबी रङको पछ्यौरीबाहेक साथमा रहोस् भन्ने केही थिएन। विराटनगर एयरपोर्ट पुग्दा बुबा उभिइरहनुभएको रहेछ।

‘बुबा, आमाको ख्याल गर्नुहोला,’ मैले यत्ति भनें। बुबाले टाउको हल्लाउनुभयो। बुबाले केही दिनमा काठमाडौं आउँछु भन्नुभयो। मैले पनि टाउको हल्लाएँ। आमा बिनाप्रतिक्रिया उभिरहनुभएको थियो। जहाजभित्र बसिसकेपछि विराटनगरको खुब माया लागेर आयो।

 विराटनगरमै जन्मिएर, हुर्किएर, आफ्नो खुट्टामा उभिएकी थिएँ। सानै उमेरमा जागिरे भएर आमाको ठुलो आड–भरोसा बनेकी थिएँ। जिन्दगी चलिरहेको थियो। कसरी मलाई यो रोग लाग्यो? अचम्म लाग्छ। जहाज उडेपछि झ्यालबाट यसो विराटनगर हेरेर आँखा चिम्लिएँ। आँखाभरि विराटनगर नाँचिरह्यो, हाँसिरह्यो, बोलिरह्यो। मेरा आँखाबाट आँसुका थोपा बनेर खस्यो विराटनगर। म विराटनगरदेखि टाढा हुँदै थिएँ।

‘हामी घर चाँडै फर्केर आउनेछौ नानी, तिम्रो केही टेस्ट गरेर,’ आमाले मलाई छातीमा टाँसेर भन्दै हुनुहुन्थ्यो।

‘आमा, म आइनँ भने?’

‘नचाहिने कुरा किन गरेकी नानी?’ आमा बोल्न सक्नुभएको छैन।

टिचिङ अस्पतालको क्याबिनमा बसेको पनि १५ दिन भइसकेछ। ‘आमा, मलाई घर जान मन छ।’

‘चाँडै निको भएर घर जाने है बाबा,’ मेरो हात समातेर भन्दै सारीको सप्कोले आँखा पुछ्नुहुन्छ, कठै! मेरी आमा।

मेरो पिसाब थैली हातले समालेर मलाई बाथरुम लैजाने बेला मलाई असह्य हुन्छ। म त आमाको सहारा बन्नु थियो, तर ...!

आमा बेलाबखत चिया खान्छु भनेर क्यानटिन जानुहुन्छ। कोठामा म एक्लै हुन्छु। त्यतिबेला निराजनको सम्झनाले मलाई बेसरी अँठ्याउँछ। म बिरामी भएको कुरा त उसलाई थाहा थियो तर उसले एकपटक पनि सोधेको छैन। कहिलेकाहीं मेसेन्जरमा कस्तो छ? के छ? भन्नेबाहेक। मलाई लाग्छ, उसले सोधिदिए मात्रै पनि म ठम ठम हिँडेरै विराटनगर पुग्थें। एकपटक आइदेओस् तर ऊ किन आउँथ्यो र?

मेरो शिरमा कोमल हातका आंैलाहरू चलिरहेका थिए। बिस्तारै आँखा खोलें, उही प्रिय मायालु चिउँडोमा कोठी भएको अनुहार!

‘तिमीलाई कस्तो छ सानी?’ उसको मधुर बोली। मेरो बोली नै आएन। उसैगरी निराजनले मेरो निधारमा गहिरो चुम्बन गर्‍यो। अक्सिजन माक्स नभएको भए ओठमा पनि उस्तै गहिरो चुम्बन गर्थ्याे होला। मेरा हातका औंलाहरू प्रेमले चुम्यो र गहभरि आँसु पारेर भन्यो, ‘अब तिमीलाई एकपल पनि छोड्ने छैन। तिमीबिना म एक्लो रहेछु दुनियामा।’ उसको आँसु मेरो हत्केलामा तातो आगोको लप्का बनेर खसिरहेको थियो। म निःशब्द छु।

झसङ्ग भएँ, सपना पो रहेछ। बिपनामा हाल खबर नसोधे पनि सपनामा ऊ मसँगै हुन्छ। नर्स मुसुक्क हाँस्दै मेरो प्रेसर नाप्दै थिइन्।

झ्यालबाट अस्पतालको गेटबाट भित्र आइरहेका गाडीहरू हेर्छु। लाग्छ, निराजन पनि यसरी नै एक दिन मलाई भेट्न आउनेछ। म प्रत्येक दिन झ्यालबाट अस्पतालको गेट नियालेर हेरिरहन्छु। आउने गाडीहरूले उसकै माया बोकेर ल्याइदिए जस्तो लाग्छ।

 गाडीहरू फर्केर जान्छन्। मन भारी हुन्छ। यसो ऐना हेर्छु, हड्डी र छालाबाहेक केही छैन। आँखामा उसको प्रतीक्षा र ओठमा अलिकति रहर देख्छु। टाउको छाम्छु। उसले छोएको, स्नेहले सुमसुम्याएको मेरो लामो कपाल झरेर सिद्धिन लागेको छ। उसको प्रतीक्षामा टोलाएका आँखा कहिल्यै थाकेनन्, बरु आँखाका नानीहरू आँसुमा डुबिरहे। किन होला? हिजोआज ऊ सपनामा पनि पातलो रूपमा देखा पर्छ, मसँग नबोलेरै छलिन्छ। झस्केर बिउँझन्छु र रुन्छु।

उसको आवाज सुन्न मन लाग्छ, उसको छातीमा बेसरी रुन मन लाग्छ। क्याबिनमा नर्स फाइल बोकेर पस्छिन्। म आँखा पुछेर हाँसिदिन्छु।

‘आज पनि गाडी हेरेर रुँदै हो?’ उनले जहिल्यै सोध्ने गर्छिन्, म अलिकति हाँसिदिन्छु।

डायरीका शब्दहरू कति गहिरो लाग्ने। ‘सानी’ रहेछ उनको नाम। कता कता निराजनसँग रिस उठ्यो मलाई। उसको बाध्यता के थियो होला? मैले सोचें, म कहिल्यै पनि कसैलाई यति धेरै प्रेम गर्दिनँ! लेखिएका शब्दहरूले कता कता निराजनले पनि खुबै प्रेम गथ्र्यो जस्तो पनि लाग्ने।

सानीलाई केही नहोस्, म मनमनै भगवान्सँग भन्छु। २–३ पाना छोडेर फेरि लेखिएका शब्दहरू पढ्न थाल्छु।

निराजन, यही पछ्यौरी ओढाएर छातीमा टाँसेका थियौ। हेर त, जति नै घाम लागे पनि शीतलता दिन्छ। सिरेटोमा न्यानो बनिदिन्छ। अहिले पनि हातमा लिन्छु, छातीमा टाँस्छु। तिम्रो मिठो सुगन्ध नाकमा ठोकिन्छ। तिम्रो हातको न्यानोपन यहीं भेट्छु म अनि तिम्रो हृदयको ढुकढुकी पनि यहीं सुन्छु। तिम्रो हँसिलो मुहार यसैमा देख्छु।

साँझ–बिहान यसो ओढ्छु, तिम्रो बलिष्ठ अँगालो पाउँछु। हाम्रो मिलनको साक्षी बनेर बसेको यो पछ्यौरीमा प्राण बसेको छ मेरो, जहाँ गए पनि मेरो साथैमा हुन्छ। अब त हाम्रो भेट हुँदैन होला, सम्झनुबाहेक बाँकी के रह्यो र? तिमी र म गन्तव्य फरकफरक भएका यात्री त रहेछौं। चौतारीमा भेटियौं, एकछिन सुस्तायौं अनि छुट्टियौं। फर्केर फेरि तिमी त्यो चौतारीमा आउने साहस गरेनौ। मैले मात्रै पर्खेको के अर्थ रह्यो र? साँच्चै मायाबाहेक केही रहेनछ हाम्रो सम्बन्ध तर हेर न, म त तिमीलाई नै पर्खेर बसेकी छु!

सानीले आफ्नो रोगका बारेमा खासै खुलेर लेखेकी थिइन। मैले उनलाई कलेजा सिरोसिस भएको अड्कल काटें। पढ्दापढ्दै सानीलाई एकपटक भेट्न मन लाग्यो। उनका बारेमा बुझ्न मन लाग्यो। उनलाई भेटेर एकपटक निराजन भएको ठाउँसम्म पुग्न मन लाग्यो। पानाहरू पल्टाउँदै जान्छु। ती पाना सानीको आँसुले छपक्कै भिजेको छ जस्तो लाग्छ।

 डायरीका पानाहरूमा कतै कतै पानीका थोपा खसेर सुकेको दाग उनको आँसुको हो, मेरा आँखाले खुट्याइहाल्छन्। मेरा आँखा आँसुले भरिए। म अब सानीलाई भेटेर नै छाड्छु। म आमालाई उनका बारेमा सोध्ने छु। फेरि डायरीको अर्को पाना पल्टाउँछु।

म मोबाइल युगमा प्रवेश गर्नुअघि निराजनलाई चिठी खुब लेख्थें। मेरा चिठीले दिक्क लाग्दो हो कहिलेकाहीं तर पनि लेख्न मन लागिहाल्थ्यो। ऊ त्यतिबेला जिप्रका धनकुटामा थियो। बिस्तारै जवाफ आउन पातलिँदै गएपछि मैले पनि चिठी लेख्न छाडेकी थिएँ तर साँझ उसको नाममा एउटा चिठी जरुर लेख्थें।

अहिले पनि उसलाई चिठी लेखेर भन्न मन थियो, ‘तिमीमा मेरो प्राण बसेको थियो। जीवनका अन्तिम पलहरू तिमीसँग बिताउन मन थियो। तिमीसँग रुन मन थियो। तिम्रो हँसिलो मुहार हेरेर मलाई मनपर्ने तिम्रो चिउँडाको कोठी अनि अलिअलि राखेको ओठको जँुगा सुमसुम्याएर आँखा चिम्लन मन थियो।

अन्तिममा तिमीलाई एकपटक मेरो भनेर हक जताउन मन थियो। तिमीले सानी भनेको सुन्न मन थियो अनि तिमीलाई एउटा हाम्रो तस्बिर फिर्ता दिनु थियो। मोबाइलमा भएका तिम्रा तस्बिरहरू कसरी डिलिट गरूँ? म मरेपछि तिम्रा तस्बिरहरू बेवारिसे बनाउन पटक्कै मन छैन। मलाई अब बाँच्न  पुगिसक्यो निराजन।

मेरो मुटु ढक्क फुल्यो। मेरो आँखाभरि सानी छटपटाएको दृश्य नाँचिरह्यो। साह्रै नमिठो लाग्यो। डायरीलाई उनले २ भागमा बाँडेकी रहिछिन्। म दोस्रो भाग पढ्दै थिएँ।

उसले मलाई छोडेर हिँडेपछि परसम्म पछ्याउँदै गएँ तर उसले फर्केर एकपटक पनि हेरेन। बिस्तारै मदेखि टाढा हुँदै गएको उसलाई मैले फर्काउन सकिनँ। ऊ आकाशमा उड्न चाहन्थ्यो, धेरै अघि बढ्न चाहन्थ्यो। म पनि त्यस्तै चाहन्थें तर ऊ जहाँ पुगे पनि साँझ फर्केर मकहाँ नै आइपुगोस् जस्तो लाग्थ्यो। उसको काँधमा जिम्मेवारीका फुलीहरू थपिँदै जाओस्, ती सबै दर्ज्यानी चिह्नमा सबैभन्दा पहिला मेरो हक लागोस्...।

कस्तो मृगतृष्णा रहेछ मेरो मनको। ऊ गएको पनि धेरै वर्ष बितिसकेछ। उसका र मेरा चिठीहरू पढ्छु। सामाजिक सञ्जालमा जोडिएपछि भएका कुराकानी हेर्छु। कहिले हाँस्छु, कहिले रुन्छु। मैले उसका र मेरा सबै कुराकानी डायरीमा सारेर राखेकी छु। उसका सबै तस्बिर पनि सेभ गरेर राखेकी छु। खै किन हो कुन्नि, माया त उसले पनि चटक्कै मार्न सकेन। कहिलेकाहीं फोन गरेर सन्चो–बिसन्चो सोध्ने गर्थ्याे।

मलाई त्यति नै काफी हुन्थ्यो हाँस्न र बाँच्न। उसका बारेमा समाचारहरू पढिरहन्छु, हेरिरहन्छु। उस्तै छ हाँसो, उस्तै छ मधुर मिठो आवाज। फरक केही छैन। ऊ राष्ट्रका लागि कर्तव्यनिष्ठ नागरिक बन्यो, परिवारका लागि भरोसा र साहस बन्यो, मेरा लागि ऊ मुटुको घाउ बन्यो तर पनि ऊ मेरो सर्वस्व थियो। उसको भौतिक साथ पो थिएन त मलाई, ऊ सधैं मेरो मुटुमा थियो।

अहिलेसम्म संसारमै सुन्दर लागेको उसको मुहार ! उसको मुहारको वर्णन गर्न कुनै शब्द छैन। मलाई उसको रूप, दर्जा, जागिर, सम्पत्ति केहीसँग सरोकार थिएन। मैले ऊसँग कुनै अपेक्षा राखेकी थिइनँ तर पनि कहिलेकाहीं मन बहकिन्थ्यो। सम्झन्थें, ऊ मेरै मात्र भएको भए। ऊ मेरा लागि आकाशमा उदाएको जुन थियो, जसलाई हेरेर मेरो आँखालाई शीतलता मिल्थ्यो। उसलाई जति प्रेम गरे पनि अब छुन सक्दिनँ, उसको हुन सक्दिनँ तर पनि लाग्दोरहेछ बोलाए हुन्थ्यो, सम्झिदिए हुन्थ्यो।

‘सानी, तिमीलाई भुलेको छैन’ यति सुने म सबै पीडा भुलेर हाँस्थें होला, अझ धेरै बाँच्थें होला। म फेरि झ्यालबाट गेटमा हेर्छु। गाडीहरू आइरहेछन्, गइरहेछन्। हरेक गाडी आउँदा उसको आस लाग्छ आयो कि भनेर।

ठुला आँखा झिमझिम गरेर मुसुक्क हाँस्दै निलो एडिडास ब्रान्डको ज्याकेट खोलेर टेबुलमा राख्नेछ, बोकिरहेको रेड्युल सेट पनि टेबुलमा राख्नेछ अनि मलाई अँगालो हालेर भन्नेछ-सानी तिमीलाई केही हुँदैन, म छु नि तिम्रो।

गाडीहरू फर्केर जाँदै छन्, म रोएँ।  

धेरै दिनपछि केही लेख्न लाग्दै छु। बिचमा लेख्न सकिनँ। हातका औंलाहरू सुन्निएका थिए अब केही निको भएको छ।

मलाई कता कता अझै निराजनको आशा छ, ऊ अन्तिम पटक भेट्न आउनेछ।

‘उ आउँदैन, बिर्सने कोसिस गर,’ एक मन बोल्छ। ‘कसरी बिर्सनु? ऊ त मेरो प्राण हो !’ अर्को मन बोल्छ। मलाई नसम्झे पनि संगठन, परिवार र राष्ट्रप्रति बफादार छ। कतै म पनि सम्झन लायक थिइनँ कि? काँधमा जिम्मेवारी बनेर बसिरहेको दज्र्यानी चिह्न मलाई खुब मन पर्छ। हिजोआज त युट्युब, टिकटक, इन्स्टाग्राम, ट्विटरतिर पनि भेट्छु उसलाई।

समाचारमा आएका तस्बिरहरूले मेरो मोबाइलको ग्यालरी भरिएको छ। उसका केही भिडियोहरू सेभ गरेर राखेकी छु। साह्रै अत्यास लागेका बेला उसको आवाज सुन्छु, साथैमा छ जस्तो लाग्छ। मेरो जीवनको अन्तिम क्षणमा उसलाई एकपटक भेट्न पाए हुन्थ्यो भन्ने मात्रै एउटा रहर थियो। उसले ओढाएर गएको पछ्यौरी अहिलेसम्म धोएकी छैन, उसको हातको स्पर्श हराउला भनेर। मैले आफ्नो भन्दा धेरै ख्याल राखेकी छु त्यो पछ्यौरीको। उसको नम्बर दिनमा सयौं पटक डायल गर्छु तर हरियो बटम दबाउन सक्दिनँ।

म डायरीका पानासँगै स्तब्ध छु। केही पाना छाडेर फेरि लेखिएका शब्दहरू पढ्छु: 

आज मेरो अस्पतालदेखि बिदा हुने दिन। अब फेरि कहिल्यै नआउने गरी यो कोठादेखि पनि बिदा हुँदै छु। अब कुनै आशा नभएपछि अन्ततः आमाले हार खानु भएछ। अलि ढुक्क भयो, सत्यलाई आमाले मनन गर्नु भएकोमा। आमालाई हेर्छु, नाक, कान, घाँटी, हात सबै खाली छन्, उजाड छन् मजस्तै। मेरो उपचारका लागि मेरी आमाले सबै आफ्ना गरगहना बेचिसक्नुभयो। म किन जन्मेछु।

अब त हातहरू पनि चल्न गाह्रो मान्न थालेका छन्। अब खासै लेख्न सक्दिनँ होला। मलाई मामाघर गौशाला लैजाने तयारी भएको बुझ्दै छु। अलिअलि आमाको फुङ्ग उडेको मुहार हेरिरहन सक्दिनँ म, आँखा चिम्लन्छु।  

यसो मोबाइल हेरें। निराजनको मिस कल देखें। मुटु फेरि काँप्यो। मैले कसरी उसको कल आएको थाहा पाइनँ?

‘के भन्नलाई कल गरेको थियो होला?’ उसको कल हिस्ट्री हेरेर सोचिरहें। मन भारी भयो। उसले भुलिसक्यो भनेर मन बुझाउँदै थिएँ। फेरि उसको कल आएपछि मन बिथोलियो। माया त रहेछ, सम्झना त आउँदोरहेछ, मेरो नम्बर डिलिट गरेको रहेनछ। मन फुरुङ्ग भयो। सिरानीमा राखेको पछ्यौरी ओढें। उसको शरीरको न्यानोपन भेटे जस्तो लाग्यो।

हड्डी र छाला मात्रै भएको शरीर र मरिसकेको मनमा जीवन भरिएर आयो। कता फेरि एक पटक बाँच्न पाए हुन्थ्यो जस्तो लाग्यो। उसको र मेरो कल हिस्ट्रीको स्क्रिनसट राखेकी थिए, हेर्छु।

एक घण्टाभन्दा कम त हामीले कमै बोलेका रहेछौं। हेर्दै गएँ। समयसँगै उसको इनकमिङ कल घट्दै गएको रहेछ। उसले प्रगति गर्दै गर्दै जाँदा म छुट्दै गएकी रहिछु। उसको काँधमा थपिएको दर्ज्यानी चिह्नको अगाडि म ओझेल पर्दै गएकी रहिछु। आज धेरै पछि उसले सम्झेको देखेर आफैलाई अचम्म लाग्यो। अनि बिस्तारै उसको मेसेजहरू हेरें, मैले नै हत्ते गरेर धेरै लेखेकी रहेछु। मैले नै धेरै माया पोखेकी रहेछु।

मैले उसलाई कल ब्याक गर्न सकिनँ किनकि कल रिसिभ गरेन भने मलाई धेरै पीडा हुन्थ्यो। यसो टिभीमा हेर्छु, महिला तथा बालबालिका बेचबिखन विरुद्धको एउटा कार्यक्रममा प्रमुख अतिथि बनेर बोल्दै रहेछ काँकडभिट्टामा हँसिलो मुहार, ठुलो निधार, ठुला आँखा, छोटो कपाल, हाँस्न तमतयार ओठ अनि चिउँडाको सुहाउने कोठी उस्तै रहेछन्। सर्टको पकेटअगाडि सिउरेको रेड्युल सेट अनि काँधमा चम्किरहेको दज्र्यानी चिह्न खुब सुहाएको थियो उसलाई। अलि मोटाएछ अनि उमेरका खुट्किला उक्लेसँगै ओठमा भएको जुँगा अलि बाक्लिएछ।

उसको तस्बिर हेर्छु, ऊसँग बोल्न मन लाग्छ। बिस्तारै बोलें, ‘निराजन, मलाई इलाम पुग्न मन छ। हामीले रहरले बिताएका ती साँझ अनि दिन एकपटक बाँच्न मन छ। तिमीसित इलाम बजार घुम्न मन छ। तिमीलाई अँगालो हालेर रोएको चियाबारी घुम्न मन छ। तिमी र मैले रातभर कुरा गरेर बिताएको तिमी बस्ने त्यो भाडाको कोठा भएको घर एकपटक पुग्न पाए हाम्रो मिलनको अनमोल स्मृति फेरि ताजा बन्ने थियो।

तिमीले पनि मलाई माया त अति गथ्र्यौ। तिमीलाई केही भन्ने, तिमीसँग केही माग्ने अधिकार भए म तिमीलाई भन्ने थिएँ– निराजन, मलाई एकपटक त्यो इलाम पुर्‍याइदेऊ न। तिम्रो एक पल मलाई देऊ न। तिमी मेरो छेउमा बसेर मेरा केही कुरा सुनिदेऊ न। केही बोलिदेऊ न। फेरि मलाई बाँच्न मन छ, तिमीसँग हाँस्न मन छ।’

उसले मेसेन्जरमा भोइस मेसेज छोडेको रहेछ-‘सानी, कल उठाऊ।’ भक्कानो छोडेर रुन मन लाग्यो, धेरैपछि उसको आवाज सुनेर। बरर आँसु खसे। संसारको कुनै पीडामा नरुने आँखा उसलाई सम्झेर पटक पटक रुने गर्छ। मैले हतार हतार उसको नम्बरमा कल गरें, उठेन। फेरि गरें, उठेन। सम्झ, कुनै मिटिङमा होला।

साँझसम्म उसको कल ब्याकको प्रतीक्षामा बसें। उसले कल गरेन। फेसबुकमा अनलाइन थियो तर मसँग कुरा गरेन। मैले पठाएको मेसेज पनि सिन गरेर छोडिदियो। उसलाई त्यसरी अनलाइन देखिरहन सकिनँ। साह्रै छटपटी भयो। मोबाइल अफ गरिदिएँ। मलाई गाह्रो भएको देखेर लक्ष्मी दिदीले स्लिपिङ ट्याबलेट खुवाइदिनुभयो।

‘यसको घिटघिटो के मा छ?’ आमा रुदै हुनुहुन्थ्यो। म निदाएछु।

बिहान निन्द्रा खुलेपछि हतार मोबाइल हेर्छु। उसले कति कल गर्‍यो होला? मेरो बारेमा चिन्ता गरेर सोध्ने पनि कुनै सम्पर्क थिएन। मोबाइल हेर्छु। न मेसेज थियो, न कल ट्राई गरेको मेसेज। मरेको मन झन् मर्‍यो। उसको तस्बिर हेरें। कस्तो नमिठो लाग्यो।

मन मानेन फेरि कल गरें। उसले रिसिभ गर्‍यो।

‘सानी!’ उसको मधुर आवाज।

मलाई कति खुसी लाग्यो, उसले मलाई सानी भन्दै थियो। अब ऊप्रति कुनै गुनासो, सिकायत बाँकी रहेन। ‘तिमीलाई कस्तो छ? आफ्नो ख्याल राख्नू, मेडिसिनहरू टाइममा लिनू, टाइममा सुत्नू, मनमा धेरै कुरा नखेलाउनू। सबै ठिक हुनेछ है।’ म केही समय तालिमका लागि युएस जाँदै छु। काठमाडौं आएको बेला तिमी कहाँ छ्यौ भनेर कल गरेको थिएँ, रिसिभ गरिनौ।’

‘हो? बधाइ छ!’

‘थ्याङ्क यु, मिस यु सो मच !’  

‘कति बजेको फ्लाइट हो?’

‘१० बजेको। एयरपोर्ट पुग्न लागें। १५–२० दिनमा फर्कन्छु।’

म केही बोल्न नपाई कल काटियो। ऊ हतारमा होला भन्ने बुझें।  

खुसी लाग्यो। उसको प्रगतिप्रति शुभकामना दिन मन थियो। शुभयात्रा भन्न मन थियो, कल काटियो। फेरि कल गरें, रिसिभ भएन। म झ्यालबाट एयरपोर्टतिर नै हेरिरहन्छु। खुब रोएँ, रेकर्ड गरेको उसको आवाज सुनेर। समय बित्यो। भित्ताको घडीमा १० बज्यो।

 एयरपोर्टको आकाशमा ठुलो जहाज उड्यो। मेरा आँखामा अँध्यारो छायो। लामो सास फेरें। हातगोडा काँपे। बिस्तारै एक एक गर्दै उसका तस्बिरहरू मोबाइलबाट डिलिट गरिदिएँ। लाग्यो, तस्बिरसँगै मेरो मुटु टुक्रा टुक्रा भइरहेको छ। अब उसको र मेरो बाँकी केही रहेन।  

आँखाको ज्योति हराउँदै छ। आमा रुनुभएको मात्रै सुन्छु बेला बेला। अब त लेख्न सक्दिनँ होला तर म उसलाई हेर्न चाहन्थें, उसको चिँउडाको कोठी चुम्न चाहन्थें, उसको छातीमा बेसरी रुन चाहन्थें। ‘तिमीले मलाई माया गरेका थिएनौ त निराजन?’ सोध्न चाहन्थें।

म साँच्चै रोइरहेकी थिएँ। डायरीका पाना हेर्छु। त्यसपछि केही केरमेट भएका अक्षर छन्। केही पाना च्यातिएका थिए। त्यसपछि खाली खाली पाना छन्। डायरीका रेखाहरू लतपत भएका छन्। सायद सानीका आँसुले होला।

लामो सास लिन्छु, मुटुमा काँडा बिझेझैं पीडा हुन्छ।

‘यो केटी के गरिरहेकी छे? अलिकति गङ्गाजलले...,’ आमाको आवाजले म झसङ्ग हुन्छु। म रुँदै गरेको देखेर आमा आत्तिनुहुन्छ।

‘के भयो नानी?’

आमाका अगाडि डायरी राखिदिएँ।

आमाले लामो सास फेरेर भन्नुभयो, ‘अहिले पशुपति आर्यघाटदेखि नै आउँदै छु। लक्ष्मी सिस्टरसँग गएको थिएँ मलामी।’

‘कसको आमा?’

‘त्यो डायरी लेख्ने नानीको, बिचरी!’

‘आम्मा!’ मेरो हृदयमा ज्वालामुखी विस्फोट भयो।

‘दुवै मिर्गौला सकिएको थियो रे। खै केमा सास रोकिएको थियो अहिलेसम्म,’ सबैले भन्दै थिए, ‘उनकी आमाको लौरो भाँचियो, सबै सकियो। न सन्तान रह्यो, न सम्पत्ति!’ आमा नुहाएर मात्रै कोठाभित्र पस्छु भन्दै बाथरुम पस्नुभयो।

म सानीको डायरी छातीमा टाँसेर रोइरहन्छु।

प्रकाशित: २ मंसिर २०८० ०२:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App