मेरो हतारिने बानी। मनमा लागे बोलिहाल्नुपर्ने। यस्तो बानी कतै त ठिकै हुने, कतैकतै भने झपारिइनुपर्ने।
ओहो तपाईं काटीकुटी सन्दिपा जस्तै हुनुहुँदोरहेछ! के भन्न भ्याएको थिएँ-को सन्दिपा, कहाँ सन्दिपा, कसकी सन्दिपा,जो पायो उहीं सन्दिपा? जान्दिनँ म सन्दिपा बन्दिपा!
खनिइन् जिस्क्या अरिंगालझैं बाई! यतिले कहाँ पुग्नु! थपिइन्-म मै हुँ। मलाई कसैसित जोखेको मन पर्दैन। मलाई अरूसित जोखिएर तौल बढाउने रहर छैन। म म जस्तै छु। म अरू जस्तो होइन। आफू जस्तै छु र त मम हुँ। अरू कोही हुँदै होइन बुझ्नुभो?
मान्छे हेर्दा इतिर्की मेरी छोरीकी बहिनीकी भान्जीकी नातिनीकी साक्खै दिदी पर्नेकी छोरी जस्तै लागेर सोधिहालें भन्नुहुन्छ, हैट कति कडाकडा! अलिकतिले कान समाउनुपरेन। मन त झापडिइनुपर्ने भो भनेर थरथर भइसक्या नि! नहोस् पनि किन? ठूलो सङ्ख्यासँग अधिकारै अधिकार छ। हराएको त कर्तव्य न हो। म हुस्सुको जिब्रो चिप्लिएपछि सुद्धी फिरेर के गर्नु? जहाज झन्डै डुबिसक्या!
बल्लतल्ल छुट्कारा पाएर अलिक पर पुगेपछि साहस बटुलेका मित्रले कानेखुसी-गरे तिनकाे नाम त धनवर्षा हाे। नाम सुनेपछि भने अलिकति चेत खुल्याे पुँजीमैत्रीसँग सर्वहाराले मित लाउन खाेज्दा के परिणाम आउँछ?
-डा.छायादत्त न्याैपाने
प्रकाशित: १ मंसिर २०८० ०७:११ शुक्रबार