८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
कला

झर्यो पहेंलो गुलाफ

काठमाडौं–साहित्यकार प्रेमा शाहको बिहीबार अमेरिकास्थित साल्ट लेकमा निधन भएको छ । ७५ वर्षीया शाहको उपचारका क्रममा इन्टर माउन्टेन हस्पिटलमा निधन भएको हो । शाह छोरी जल शाहको परिवारसँगै अमेरिकामा बस्दै आएकी थिइन् । जल शाह ५० दशककी चर्चित अभिनेत्री हुन् ।
शाहको जन्म विसं २००२ सालमा वीरगन्जको श्रीपुरमा भएको थियो । पिता पूर्णेन्द्रविक्रम तथा माता अरुणा शाहको छोरीका रूपमा जन्मे पनि जन्मेको १४ दिनदेखि नै उनी आफ्नो मावलीको रेखदेखमा हुर्केकी थिइन् । शाहले मावलीघर बसेरै औपचारिक शिक्षा लिइन् । सम्भ्रान्त परिवारकी छोरी भएकीले पनि घरमै विषय शिक्षकहरू आएर उनलाई प्रारम्भिक शिक्षा पढाउँथे । उनले आदर्शकन्या निकेतनबाट २०१६ सालमा एसएलसी उत्तिर्ण गरेकी थिइन् ।
साहित्यिक जीवन सफल रहे पनि पारिवारिक जीवन भने उनको असफल नै मानिन्छ । दुई–दुई पटक बिहे गरेर पनि कालान्तरमा उनले एक्लै छोरी जललाई हुर्काएकी थिइन् । २०२८ सालमा पाटनका जेपी शाहीसँग उनको पहिलो बिहे भएको थियो । बिहेलगत्तै उनले बनारस हिन्दु विश्वविद्यालयबाट पेन्टिङमा स्नातक गरिन् । त्यही समयकै उनले सेरामिक कला सिकिन् । पतिसँगको खटपटका कारण पारपाचुके गरिन् । अध्ययनकै सिलसिलामा जापान पुगेकी शाहले त्यहाँबाट फर्केपछि बानेश्वरस्थित एभरेष्ट सेराटन होटलमा काम गर्न थालिन् ।
त्यहीँ काम गर्दागर्दै आरएम कर्माचार्यसँग प्रेममा परिन् । २०३८ मा शाहले दोस्रो बिहे गरिन् । त्यसको एक वर्षपछि छोरी जलको जन्म भयो तर दोस्रो पतिसँग पनि उनको सम्बन्ध सुमधुर हुन सकेन । उनी छोरी बोकेर तराई झरिन् । वीरगन्ज, सर्लाही, नेपालगन्ज हुँदै विभिन्न जिल्लाका क्याम्पसमा पढाउँदै छोरी हुर्काइन् ।
शाहको चर्चित कृतिहरूमा ‘पहेंलो गुलाफ’ कथासंग्रह, ‘विषयान्तर’ कथासंग्रह, ‘मम्मी’ उपान्यास, ‘आकाश विभाजित छ’ उपन्यास , ‘रामेको कथा’ बालउपन्यास, ‘आनन्दको आविस्कार’, ‘मनु र भँगेरा’ आदि कृति प्रकाशित छन् ।  शाहले मैनाली कथा पुरस्कार र मैना पुरस्कार पाएकी थिइन् ।
आफ्नो लेखनीबाट यौन मनोविज्ञानको वकालत गर्ने शाहका ‘लोग्ने’ र ‘पहेंलो गुलाफ’ यसका उम्दा उदाहरण मानिन्छन् । विपी कोइराला र भवानी भिक्षुले लेख्ने मनोवैज्ञानिक धारमा फ्रायडवादी धार थपेर उनले महिला मनोविज्ञानलाई चित्रण गरेको साहित्यकारहरू बताउँछन् । मानिसको मनभित्र पलाएका यौन अतृप्तिका अंशलाई कथामा मूल रूप दिनु, पुरुष अस्तित्वका अघि महिला अस्तित्व छायाँमा परेको देखाउनु, मनोदशाको चरित्र चित्रण गर्नु, बिम्बात्मक प्रयोग कथामा ल्याउनु, प्रकृति र मानिसबीचको सम्बन्ध देखाउँदै अति यथार्थवादी र नारीवादी धारलाई प्रश्रय दिने काम यिनले लेखन जीवनमा गरेकी थिइन् ।

 

प्रकाशित: ७ पुस २०७४ ०१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App