२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

राजेन्द्र कार्कीको ‘खाइराइड’ को चर्चा

त्रिवेणी साहित्य प्रतिष्ठान, भोजपुरको आयोजनामा राजेन्द्र कार्कीको हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘खाइराइड’ परिचर्चाका साथ कविता गोष्ठी र सिर्जना वाचन कार्यक्रम भएको छ।

सिद्धेश्वर मावि दावाँको सभा हलमा त्रिवेणी साहित्य प्रतिष्ठान, भोजपुरका अध्यक्ष सुवास विभास श्रेष्ठको अध्यक्षता, सचिव घमचन्द्र दाहालको सञ्चालन र जिल्ला समन्वय समिति, भोजपुरका प्रमुख कमल थुलुङको प्रमुख आतिथ्यमा  ११५औं लक्ष्मी जयन्तीको अवसरमा सम्पन्न उक्त कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष कमला प्रधानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्व, कृतित्व र जीवनीमाथि र उपाध्यक्ष शरण खत्री ‘मृदुल’ले राजेन्द्र कार्कीको बाल्यकाल, शिक्षा, जागीर, व्यक्तित्व र कृतित्वमाथि बोलेका थिए।

उक्त कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार एवं साहित्यकार गणेश श्रेष्ठ ‘विप्लव’ले कार्कीको ’खाइराइड’ हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रहको परिचर्चा गरेका थिए। उनले नेपाली हास्यव्यङ्ग्यको सिद्धान्त र इतिहासको वर्णन गर्दैनिबन्धकार कार्कीले नेपाली हास्यव्यङ्ग्य लेखनको राजनीति केन्द्रित परम्परालाई परिवर्तन गर्दै सामाजिक र अन्य विषयमा पनि केन्द्रित गरेको उल्लेख गरे।

काव्यिक अनुप्रास, उखान-टुक्का,गीत, कविताको प्रयोग गरी निबन्धलाई मीठासपूर्ण र पाठकको चित्ताकर्षक बनाउनु उनको चातुर्य हो भने। सरल र आम लेखकहरूले नदेखेका/नलेखेका विषयलाई उठाएर विशिष्ट, रमाइलो, ठट्यौलो र रोचक पाराले प्रस्तुत गर्नु कार्कीको हास्यव्यङ्ग्य निबन्ध लेखनको प्रमुख विशेषता रहेको उनले बताए।

पढ्न थालेपछि  पढिरहूँ लाग्ने , पाठकको मनलाई आल्हादित बनाउने, राजनीतिक, सामाजिक, साँस्कृतिक विकृति, जातीय विभेदलाई मूल विषयवस्तु बनाउदै निर्माण भएको उनको हास्यव्यङ्ग्य निबन्धकारिता वास्तवमै लोभलाग्दो र उत्कृष्ट रहेको पनि परिचर्चाकार श्रेष्ठले  प्रष्ट पारे। साथै कुनैकुनै निबन्धमा देखिएको हास्य र व्यङ्ग्यमा विचलनबाहेक अधिकांश निबन्धहरू हास्यव्यङ्ग्यको सैद्धान्तिक पथमै हिडेको कुरा अवगत गराए।

यसै गरी कार्यक्रमका अर्का वक्ता प्रमुख अतिथि कमल थुलुङले लेखक जन्मेहुर्केकै भूमिमा उनको कृतिको परिचर्चा कार्यक्रम हुनु र दिन प्रतिदिन कृतिको ख्याति बढ्दै जानु समग्र दावाँ, भोजपुर र हास्यव्यङ्ग्य निबन्ध साहित्यका लागि नै सुखद् र गौरवको विषय रहेको प्रसंग उल्लेख गरे।

सो अवसरमा भोजपुरका सर्जकहरू अमृका ताम्राकार, संग्राम राई, कमला प्रधान, अविनाश राई, टंकराज खड्का, शरण खत्री ’मृदुल’ लगायतले सिर्जना वाचन गरेका थिए भने कविता प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीहरू क्रमशः दिवाकर दाहाल, विशाल कार्की, मुनाबुङ राई, ममता बिसुङ्खे र दिवेश जोगीलाई कार्यक्रमका अध्यक्ष एवं प्रमुख अतिथिद्वारा पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रममा सिद्धेश्वर मावि का प्रअ सुवासचन्द्र दाहाल, पूर्व स्रोत व्यक्ति तथा शिक्षक टेकबहादुर खड्का, विद्यालयका पूर्व अध्यक्ष हरिबहादुर खड्का, भोजपुर बहुमुखी क्याम्पसका उप प्राध्यापक सरन राई लगायत स्थानीय समाजसेवी, शिक्षक, बुद्धिजीवी एवं विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रकाशित: ३० कार्तिक २०८० ०८:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App