१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

मनको कथा

लघुकथा

‘तनलाई मस्तिष्कको जिम्मा लाएर उड्यो मन। मस्तिष्कले कर्मकाण्डी बनायो। कति निरस, कति उदास, जर्जर मरुभूमि जस्तै लाग्ने यो मनबिनाको जीवन।’

‘हो।’ अनुभवको कुरामा सहमति जनाउदै यथार्थ बोल्यो, ‘के गर्नु बाँध्न नसकिने। हुन त बारम्बार दुखिरहने यो मन उडेरै गए नि ठिक लाग्ने कहिलेकाहीं त। तर...!’

अनुभव र यथार्थ निकैबेरदेखि समयलाई कुर्दै थिए।

‘खाे त! यत्रो बेर भो अझै आइपुगेन।’ हातको घडी हेर्दै यथार्थ बोल्यो।

‘आउला नि!’

‘यो सधैं यस्तै गर्छ। अरूलाई एकछिन पर्खिदैन, हामीले मात्रै पर्खिनुपर्ने।’ यथार्थ रिसायो।

‘के गर्छस् त साथी नै उस्तो। ओई, ऊ पर कुद्ने समय होइन?’

दुवैले पहिचान गरे, ‘हो।’

‘..समय ओ समय! पर्खी त!’ दुवैले बोलाए।

पुलुक्क साथीहरूलाई हेरेर यथास्थितिमै  ऊ बोल्यो, ‘यतै आओ न यतै!’

‘के हो तेरो पारा? हामी उता तँलाई पर्खिरहने,तँ यता कुदिरहने?’

साथीहरूको आक्रोश देखेर नरम भावमा समय बोल्यो, ‘यत्रो संगत गरेर नि मलाई चिन्न सकेनौ नि! भन त मैले कसैलाई रोकिएर पर्खिन मिल्छ?’

दुवै बोलेनन्। फेरि समय नै बोल्यो, ‘छिटो भन कुरा के हो?’

‘मन उडेर गयो।  कतै देखिस्  कि?’ दुवैले एकैसाथ सोधे।

‘म कुदिरहन्छु, ऊ उडिरहन्छ। हा.. हा.. हा...। त्यै भएर पो यस्तो हालत तिमीहरूको? कठै!’

एकछिनपछि अलि सम्हालिएर ऊ फेरि बोल्यो, ‘उसले  बिर्सियो,तिमीहरू पनि  बिर्सी देऊ।’

दुवैका दुवै उजाड आँखाहरू झन उजाडिए। ती उजाडिएका आँखामा सहानुभूति भर्दै समयले ‘मन’ को कथा सुनायो, ‘ऊ खुला छ,  त्यसैले स्वच्छ छ। ऊ स्वच्छ छ। त्यसैले मनमोहक छ। ऊ मनमोहक छ त्यसैले प्रेमिल छ। ऊ प्रेमिल छ त्यसले ऊसँग स्मृति, कल्पना, भावना र आशा छन्। प्रेमको निलदहमा निर्लिप्त छ। जुन दिन रितिन्छ अनि फर्किन्छ।’

-उमेशकुमार कार्की  

प्रकाशित: ३० कार्तिक २०८० ०४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App