१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

संस्कृति उत्थान

लघुकथा

संस्कृति उत्थान समूहले देउसी भैलो कार्यक्रमको आयोजना गर्‍यो। भट्याउने नाइकेलाई ’देउसी रे!’ भन्दै अन्यले साथ दिएका थिए।

’ए, भनभन भाइ हो, देउसी रे!

राम्ररी भन,देउसी रे!

स्वर मिलाईकन,देउसी रे! ...’

साङ्गीतिक कार्यक्रम शून्य रहेको अवस्थामा भित्रिएको रमाइलो माहोलमा गाउँका बाल वृद्ध सबै ओइरिएका थिए।

‘तिहारै आयो लौ झिलिमिली,

सुन हजुर भैलिनी आइन् आँगन ...’

यो तिहारे गीतमा कलाकारको बेजोड प्रस्तुतिले अझै रौनक थपेको थियो।

बिचबिचमा भट्याउने क्रम पनि जारी नै थियो। भट्याउन छोडेर नाइकेले एकछिन भाषणको पारामा बोल्यो, ‘हामी अहिले मौलिक नेपाली लोकगीत, सङ्गीत र संस्कृतिको उत्थानमा लागिपरेका छौं र हजुरहरूबाट दानको आशा राखेका छौं। कृपया हाम्रो यस अभियानमा साथ दिएर पुन्य लाभ लिनका लागि अनुरोध गर्दछौं।’

अरू बेलाको जस्तो दान चन्दा भएको भए मान्छे तर्किन्थे। तिहारको देउसी भैलो न पर्‍यो। देउसीभैलो कार्यक्रममा प्रभावित गाउँलेहरू एकएक गर्दै घरघर पुगे र एकछिनपछि फर्किए।

गाउँलेले मन फुकाएर थालमा चामल पैसा, दियोमा बत्ती अनि सेल रोटी समेत ल्याएर रिङ्गै राख्न खोज्दै थिए तर ’तु  चीज बडी है मस्त मस्त’ बोलको धमाकेदार गीतमा युवायुवतीको बेजोड नृत्य टुङ्गिएकै थिएन।

-रमेशचन्द्र घिमिरे

प्रकाशित: ३० कार्तिक २०८० ०२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App