ज्ञान, धन र विश्वास तीन जना मिल्ने साथी एउटै टोलमा बस्दथे। आआफ्नो भविष्य बनाउन छुटिने बेलामा उनीहरू चिन्तित भए। छुटिएपछि को कहाँ भेट्ने भनेर छलफल गर्दै थिए।
ज्ञानले भन्यो, “मलाई पुस्तक, विद्यालय, पुस्तकालय र मन्दिरमा भेट्न आउनू! उसो त म अचेल विद्युतीय माध्यमहरूमा पनि भेटिनेछु।’’
धनले भन्यो, “मलाई साहु, महाजन, धनीहरू र बैंकमा भेट्न आउनू।’’
विश्वास केही बोलेन। मुख अध्याँरो पारेर रोइ मात्र रह्यो। त्यो देखेर दुवैले सोधे, “किन, के भयो?’’
उसले आँसु पुछ्दै भन्यो, “साथीहरू! म गएपछि त तिमीहरूले मलाई कतै भेट्दैनौ।’
प्रकाशित: १२ कार्तिक २०८० ०४:२७ आइतबार