काठमाडौं- झण्डै २७ वर्ष अघि गोपाल कलाप्रेमीलाई भक्तपुरका कुमाले समुदायलाई तालिम दिन पठाइयो । त्यतिबेला गोपाल ललितकला पढ्थे र रत्नकाजी महर्जन उनका गुरु थिए । नेपालमा सेरामिक्स प्रवद्र्धन परियोजना सुरु भएको थियो । त्यसैमा महर्जनले गोपाललाई भक्तपुरका कुमालेलाई सेरामिक्सका भाँडा सिकाउने जिम्मेवारी दिएका थिए । उनले तीन महिना तालिम दिए तर उनीहरूले सिक्न सकेनन् । ‘हामी माटोमै खेलेर हुर्केकालाई सिकाउने’ भन्ने आरोप खेपे । तर, यो आरोपले उनलाई सेरामिक्सप्रति नकारात्मक बनाएन । उनले यही बेला नै यसको महत्व बुझे र यसको सिर्जनामा लागे । उनले आफ्नै भाइ र साथीसँग चार चार सय रुपैयाँको साझेदारीमा सेरामिक्सका भाँडा बनाउन सुरु गरे । दुःखका साथ चलेको उनको व्यवसाय एकदिन प्रल्हाद केसी नामका व्यापारी आएर दुई लाखको अर्डर दिएपछि दौडियो ।
भक्तपुरको कुमाले समुदायलाई सेरामिक्स सिकाउन , सेरामिक्सको दुनियाँमा छिरेका गोपाल कलाप्रेमीले यसलाई उच्चकोटिको कलाको रुपमा विकास गर्न लागिपरेका छन् ।
‘बल्ल भक्तपुरका कुमाले समुदायले चिने वास्तविक सेरामिक्सको महत्व ,’उनले भने , ‘ए यसरी पनि राम्रा बन्ने रहेछ भनेर सिक्न आए ।’ त्यो बेला स्थानिय कुमालेले बनाएका माटोका भाँडाको २ रुपैयाँ पथ्र्यो तर सेरामिक्सका भाँडाको १५० रुपैयाँ पथ्र्यो । राम्रो मूल्य पाउने भएपछि धेरै कुमाले समुदायका आकर्षित भए । उनैले सिकाएकाले झण्डै डेढ दर्जन सेरामिक्सका फ्याक्ट्री पनि खोले । गोपाल कलाप्रेमीले भने सेरामिक्सलाई पैसा कमाउने व्यवसाय बनाउनुको साटो कलात्मक बनाउन अग्रसर भए । ‘यसबाट मलाई धेरै पैसा त आउँदैनथियो तर नेपाली कलाको एउटा नयाँ माध्यम बन्न सक्थ्यो ’, उनले सुनाए ।
चाइनिज माटोका भाँडामा विभिन्न विधाका कलालाई मिसाउदै उनले परिक्षण थाले । कहिले पेन्टिग्ंस त कहिले इचिगं अनि कहिले इम्ब्रोइडरी र प्रिन्टका कथा फरक स्वरुपमा भर्न थाले । कक्षा ११ मा १० पटक फेल भएका उनले सैद्धान्तिक शिक्षा छाडेर परिक्षण र अनुसन्धानमुलक शिक्षा अंगाले । ‘उनीहरू कलाका किताब पढेर पास हुन्थे म भने सेरामिक्सका नयाँ नयाँ परिक्षण गर्थे,’ उनले विगत सम्झिए । यतिसम्मकि जिंक पाता नहुँदा औषधीको जिंक ट्याबलेट अनि आइरन नहुँदा महिलाले खाने आइरन चक्की पनि प्रयोग गरे । त्यमिात्र हैन नेपालीपन थारु, नेवार मैथली लगायतका कलालाई सेरामिक्समा भर्न थाले । आइतबार कलापत्रकार समाजले गरेको अन्तरकृयामा उनले सेरामिक्स एउटा भाँडोमात्र हैन मानव सभ्यताको साथी भएको उल्लेख गरे । आयुर्वेदको जमानामा बढी प्रयोग हुने सेरामिक्सका आधुनिक रुप अहिले बजारमा चाइनिज माटोको भाँडाका नामले चर्चित छ । नेपालमा भने सेरामिक्स नेपाली कला प्रवद्र्धन र प्रदर्शन गर्ने सुनौलो माध्यम रहेको बताए । ‘भाँडामा हामी चाइनिजसँग प्रतिस्पर्धा गर्न सक्दैनौ तर क्राफ्ट कलामा तिनै भाँडा चाइनिजका भन्दा उम्दा बन्छन्,’ उनले सेरामिक्सको नेपाली भविष्य बारे उल्लेख गर्दै भने, ‘१८ हौं शताब्दीमा सेरामिक्स सुनभन्दा महंगो थियो । नेपालमा सेरामिक्सलाई यस्तै महंगो बनाउन सकिन्छ । ’
गोपाल माटोमा तामा, पित्तल, सुन, सिसा लगायतका समाग्री मिसाएर कलात्मक वस्तुहरु निर्माण गर्छन् । आफूमात्र हैन नयाँ पुस्ताका लागि सिंगै पुस्तक बनेका छन् उनी । विभिन्न देशका कलाप्रेमीहरू उनकोमा भइरहने कार्यशालामा भाग लिन आउँछन् । यतिबेला पनि पाकिस्तान, डेनमार्क, लन्डन, इरान र दुबईका कलाकार कला सिकिरहेका छन् ।
देश विदेशका कला संकलन गर्न रुची राख्ने उनीसँग इरान,ग्रिक,व्रिटेन लगायत सयबढी देशका कला छन् ।
आफ्नो कला अरुलाई सिकाउदै आफ्नै घरको छतमा भट्टी बनाएर उनले भाँडा पोल्ने गरेका छन् । तर, धेरैले यसलाई कठिन सम्झेर पहिल्याउन नसकेको पिरलो उनीसँग छ । स्थानीय निकाय, कला हेर्ने निकाय कसैको सहयोग नभएकाले पनि नयाँ पुस्ता सेरामिक्स कलाप्रति निराश रहेको उनले औंल्याए ।
प्रकाशित: ८ मंसिर २०७४ ०६:२३ शुक्रबार