२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

आशीर्वाद

लघुकथा

उसलाई शिखरमा पुग्नु थियो। उसले एउटा आशालाग्दो चाकरीको भर्‍याङ देख्यो।

निहुरिंदै भन्यो,“प्रभु! मलाई अवसरको ढोका खोलिदिनुस्।”

“तथास्तु, चढ् माथि!” उसलाई आशीर्वाद प्राप्त भो।

विवेकमा लगाम लगाएर एक खुट्किलो  उक्लियो।

उसले माथि फर्केर हेर्‍यो त्यहाँ  गुलियो अङ्गुरको झुप्पा देख्यो र लालचको लामो  हात फैलाउँदै भन्यो,“हजुर, मलाई त्यहाँ पुग्नु छ!”

”समाऊ हात!” कृपादृष्टि भो!

चाप्लुसीको डोरी समायो र चढ्यो माथि।

उसले जिन्दगीको रंगीन सपना देख्न थाल्यो धेरै माथि उड्ने लालसाले महत्त्वाकांक्षाको पखेटा फिंजाउँदै भन्यो,“स्वामी मलाई शिखरमा नै पुर्‍याइदिनुस्!

“अवश्य!”  मिठो आश्वासन प्राप्त भो।

निष्ठालाई कुल्चिँदै ऊ माथि पुग्यो। त्यहाँ ऊ जस्तै अवसरवादीहरू नैतिकताको सौदाबाजी गर्दै रहेछन्।

उसले सोध्यो,“मालिक म के गरूँ!”

“देऊ बलिदान!”

उसले आफ्नो नैतिकताको बलिदान दियो र अवसरको झ्यालबाट फुत्त भित्र पस्यो। इमानको ढोकामा चुकुल लगायो।

उचाइँको शिशमहलभित्र सुस्ताउँदै ऐनामा अनुहार हेर्‍यो। ऊसँग स्वाभिमानको शिर थिएन।

-किशन पौडेल

प्रकाशित: १० कार्तिक २०८० ०३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App