बिन्दुका पनि बिन्दुहरू हौं हामी
हामी हाम्रै खसेका छायाहरूभन्दा निकै मधुरो छौं।
चुटिंदै जोडिंदै बगिरहेका धुवाँका धर्साहरूभन्दा पनि एकदम कफलो छौं।
बन्दै भत्किंदै जाने बटुवा-बादलका आकृतिभन्दा विलकुल निम्छरो छौं।
यो बिजुलीको खम्बामा पछारिरहेको बतासको हिक्काभन्दा पनि क्लान्त छौं।
भुइँमा ओछ्यान लाइरहेको प्रकाशको कापिरहेका औंलाहरूभन्दा पनि निरीह छौं।
हामी-
नदीको छातीमा लड्खडाइरहेका क्षणभरका लहरहरू जति सुरक्षित छैनौं!
न कि धुलोमा खसिरहेको जीर्ण पात जति मजबुत नै छौं
हामी-
निभ्न लागेको दीपको
अन्तिम चीत्कार जति पनि भरपर्दो छैनौं।
मनको पुज्य देवताको के कुरा
आफ्नै कमलो मनसित सुरक्षित छैनौं हामी।
हामीलाई आफ्नै मौनता र एकान्तसित भरोसा छैन
म मेरो सबैभन्दा प्रिय सपनासित भयभीत छु
म मेरो गोलाकार कल्पनासित असुरक्षित छु
के अब हामीले हाम्रो प्रणयमाथि सन्देह नगर्नु?
औंला चिरेर
तिम्रो सिउँदोमा फर्फराइरहेको मेरो रगतको स्निग्ध झन्डा
कसम नै भिज्ने गरी तिम्रो आँखामा छचल्किरहेका आँसुका बुँदहरूप्रति अविश्वास नगर्नु? अहँ!
हाम्रो यो अन्तिम सहयात्रा अब कदापि सुरक्षित छैन
म हृदय काट्ने सम्झनाहरूप्रति रत्तिभर विश्वस्त रहिनँ
जीवन न हो एकबारको
तर, दुर्घटना मलाई किमार्थ स्विकार्य छैन
जब कि कुनै पनि बेला
आफैंले बोकेको ग्रिनेट पड्किएर आफैं समाप्त हुनेछु म
तर, यो क्रान्तिलाई मैले यतै कतै थपक्क बिसाउने छैन!
हामीलाई यो आन्दोलन र उन्मुक्ति दुवैदेखि खतरा छ।
हामीलाई यो चिच्याहट र सन्नाटा दुवैबाट अप्ठ्यारो छ।
यो अँध्यारो र उज्यालो दुवै हाम्रो हितमा छैन।
देश छ
सरकार
संविधान
न्यायलय छ
र त्योभन्दा अझै माथि हाम्रो अप्रमित प्रेम छ
अफसोच!
हामी नाङ्गो तार कुल्चिएर हिंडिरहेछौं
कहीं सुरक्षित छैनौं हामी।
बिछोड त बिछोड हो
मिलनमै पनि सुरक्षित छैनौं हामी
जब हिंड्दा हिंड्दै रोकिन्छौं
थकानले
इच्छाले
निर्मम धकेलिन्छौ पछिल्तिरबाट अरूद्वारा
तब चाल्न थाल्छौं तीव्र गतिमा पाइतला
हठात रोकिन्छौं अघिल्तिर कसैद्वारा
हामी आफ्ना इच्छाहरूबाट स्वतन्त्र छैनौं।
निधारबाट पाउमाथि खसेका मसिका नुनिला उज्यालोले
जीवनभर
जति लेखौं यो गोरेटोमा कविता
कुनै अक्षरहरूबाट सुरक्षित छैनौं हामी।
(कवि रानाहँछा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सदस्य हुन्।)
प्रकाशित: ५ कार्तिक २०८० ०७:१६ आइतबार