२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

कवि रम्घालीको ‘साँझको संगत’ बजारमा

लामो समयदेखि काव्य साधनामा क्रियाशील कवि प्रकाश रम्घालीले यसपल्टको बडादशैंको छेको पारेर आफ्नो पहिलो कवितासंग्रह ‘साँझको संगत’ बजारमा ल्याएका छन्। इटर्नल पब्लिकेसन प्रालिले प्रकाशन गरेको यस कवितासंग्रहमा उनका  छोटा र चोटिला ४४ गद्य कविता सङगृहीत छन्।

समाजमा सायद त्यस्तो मान्छे पाइन्न जसले जीवनमा एउटै कविता नकल्पेको होस्। तैपनि औसत मान्छे कविताप्रति सदासयता कम र वैमनस्य ज्यादा राख्छ। कविप्रति हार्दिकता हैन, हेयभाव ओकल्छ। किन? किनभने, आज आम बुझाइमा ‘त्यो’ पनि कवि हो जसलाई कविता र अकविताबीच पार्थक्यकै पत्तो छैन। भावचित्रविनाका शब्दाडम्बरलाई नै कविता मानेर वाहवाही गर्ने/गराउने झुण्ड एकातिर छ भने कवितामा अनन्त अन्वेषणको सम्भावना देख्ने र आत्मानुभूतिका अलौकिक अभिव्यञ्जनामार्फत् मानवीय सम्वेदनाको उच्चतम उडान भर्ने खास कवि अर्कोतर्फ।

त्यही अर्को किनाराका थोरै कविमध्ये हुन् प्रकाश रम्घाली जो समकालीन गद्य कविताका फाँटमा चीरपरिचित भइसक्दा पनि आफ्ना सिर्जनालाई बजारीकरण गर्न खासै हुर्दुराएनन्। छोटा तर चोटिला कवितालाई खास पहिचान बनाएका रम्घालीको काव्य-चेत शीर्षक, विषयवस्तु, अन्तर्लय, बिम्ब र व्यञ्जना-विधान लगायत हरपक्षमा उत्तिकै उदात्त छ जो प्रेमका अक्षरले मावन हृदयको वास्तविक आयतन नाप्ने सामर्थ्य राख्छ।

कवि रम्घालीले आफ्ना कविताहरूमा मिहीन दार्शनिक चेतनाको पुट दिएका छन्। सामाजिक-सांस्कृतिक परिवेशहरूको आँखीझ्यालबाट मानिसका सम्बन्धहरूलाई नियाल्नु उनको अर्को विशेषता हो। बिम्व र प्रतीकहरूको स्वाभाविक प्रयोगमा पोख्त प्रकाश सामान्य जनबोलीका शब्द र पदावलीहरूबाटै जीवन र जगतका विविध विषय र विधाहरूको सूक्ष्म पर्यवेक्षण गर्न समेत उत्तिकै अभ्यस्त छन्।

शुद्ध कविता चिन्ने पाठक मुठ्ठीभर हुन्छन्। पुस्तक बजारमा कविताकृति या सबैभन्दा पुछारमा हुन्छन् नभए हुँदै हुँदैनन्। ‘यो जान्दा जान्दै प्रकाश रम्घालीका कविताहरूको यो संग्रह प्रकाशन गर्नुको अर्थ कविताको मानकभित्रै नपर्ने कविताले गिराएको कविको साखलाई कविताका नयाँनयाँ मानक बनाउन सक्ने कविहरूबाटै जोगाउनुपर्छ भन्ने हाम्रो बुझाइ हो,’ प्रकाशन संस्था इटर्नल पब्लिकेसनले कवितासंग्रह प्रकाशन गर्नुको कारण प्रष्ट पार्दै भनेको छ, ‘वास्तविक कविताहरू ढिलोछिटो पाठकको पहुँचमा पुग्नैपर्छ भन्ने मान्यता पनि हो।’

पश्चिम नेपालको ग्रामीण परिवेशमा हुर्किएर जीवनको सार्वधिक उर्वर समय सैनिक सेवामा बिताएका रम्घालीले आधुनिक नेपाली गद्य कविता विधामा यसअघि नै आफ्नो अलग्गै पहिचान बनाइसकेका छन्। ‘यो कवितासंग्रहले रम्घालीको काव्य यात्रा अझ उचाइँमा पुग्ने विश्वास लिइएको छ,’ पब्लिकेसनले भनेको। किताबको मूल्य दुई सय रूपैयाँ छ।

प्रकाशित: ४ कार्तिक २०८० ०६:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App