५ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

आलोकित पर्व-सौन्दर्य

अनुभूति

दसैंअघि अध्यापनका लागि कक्षा कोठामा प्रवेश गर्दा विद्यार्थीहरू उत्साहित भएजस्तो अनुभूत हुन्छ। दसैंपछि तिनै विद्यार्थी अघिजस्तो उत्साहित देखिँदैनन्। मलगायत अधिकांश शिक्षकको अनुभूति हो यो। दसैंअघि अब छिटै रमाइला पर्व आउँदै छन् भन्ने मनोविज्ञान हुन्छ भने दसैंतिहारपछि रमाइलो निम्त्याउने ठुला पर्व सकिए, अब यस्ता पर्व आउन एक वर्ष लाग्छ जस्तो मनोविज्ञानले विद्यार्थी निरुत्साहित देखिन्छन्।

जिन्दगीलाई ताजकीकरण गर्ने सांस्कृतिक अस्त्र हुन्– पर्व। यस्ता पर्व केटाकेटी छँदा जति रमाइलो भेषमा आउँथे, उमेर ढल्कँदै जाँदा यिनले दिने मनोरञ्जनको रङ उग्लिँदै जाँदो रहेछ।

दसैंतिहारजस्ता महान् पर्वहरूको त कुरै छाडौं। पर्वको सुरुवात गराउने साउने सङ्क्रान्ति नै बाल्यकालमा भव्य बनेर आउँथ्यो। बेलुका लुतो फाल्ने कार्यक्रम हुन्थ्यो। लुते झार खोज्न हामी दिनभर बारी तथा नर्सरीका कुनाकन्दरा घुमिरहन्थ्यौं।

अझै भनौं, लुते झार कहाँ कहाँ छन् भन्ने कुरा साउने सङ्क्रान्तिभन्दा अगाडिदेखि नै पत्ता लगाउँथ्यौं। आफूले देखेको लुतेझार अरूले देख्छन् कि भनेर त्यसलाई छोपछाप पारेर लुकाउँथ्यौं। अर्थात् कसले धेरै थरी लुतेझार भेटाउँछ भन्ने प्रतिस्पर्धा नै चल्थ्यो। अरूले नभेटाएको झार भेटाइयो भने ठुलै युद्ध जितेजस्तो लाग्थ्यो। छिमेकीले त्यो झार भेटाएनन् भने विजेताले मिठाइँ बाँडेझैं थोरै थोरै झार अरूलाई पनि बाँड्थ्यौं।

हामीले लुतेझार खोज्दै गथ्र्यौं, घरमा हजुरआमाले फुरौला पकाउँदै गर्नुहुन्थ्यो। फुरौला मजाले खाइन्थ्यो। रोग न शोक, खान पाएपछि सबै चिज भुलिन्थ्यो। लाग्थ्यो– जसको घरमा यस्ता लुतेझार धेरै हुन्थे, उसैको घरबाट भुतप्रेत, त्रास, लुतो सबैभन्दा पहिला भागेर जान्थे।

पाँच औंले, कुरिलो, कुकुरडाइनो, कागभलायो, सिस्नो, पानीसरो, पुरेनी, गलेनी आदि। त्यतिबेला सङ्कलन गरिने लुतेझार थिए यी। आज चिकित्सा विद्वान्हरूले औषधीका रूपमा प्रयोग गर्ने यी वनस्पति नै हामीले लुतेझार भनेर सङ्कलन गर्दा रहेछौं। आज लाग्दै छ, बाउबाजेका पालादेखि लुतेझार भनेर खोजिने यी जडीबुटी त साँच्चै लुतोलगायतका रोग फाल्ने औषधी रहेछन्। जसको घरमा लुतेझार धेरै हुन्थ्यो, त्यही घरबाट रोगव्याधि छिटो भागेर जाने परम्परागत कुरामा वैज्ञानिक तथ्य लुकेको रहेछ।

बाल्यकालमा साउने सङ्क्रान्तिजस्तै दसैं, तिहार, माघे सङ्क्रान्ति, होलीजस्ता चाडपर्व खुब रमाइलो तरङ्ग बोकेर आउँथे।

पठनपाठन तथा रोजगारीका सिलसिलामा बाहिरिएका बुबा तथा दाजुहरू अनि धेरै समय भेट नभएका साथीभाइ, भान्जाभान्जी, ज्वाइँचेलीहरू दसैंमा जम्मा हुन्थे। छोराछोरी, ज्वाइँचेली आउँदै छन् भनेर बुबाआमाले आँटीभरि पाकेका काँक्रा, तरुल, गिठा साँचेर राख्नुहुन्थ्यो।

झ्यालमा राखिएका भरिभराउ मौरीका घार काढिनका लागि बाहिरिएका छोराछोरीलाई कुरेर बस्थे। युवायुवतीविहीन रित्तिएका गाउँले दसैंभरि ऊर्जाको सञ्चार पाउँथ्यो, दसैं सकिएपछि त्यो सञ्चार विस्तारै मत्थर हुँदै जान्थ्यो। टीकाको दिन गाउँभरि टीका लगाउँदै हिँड्दाको मजा नै छुट्टै हुन्थ्यो। अझै वर्षमा एकदुई पटक मात्र गाडी देख्ने केटाकेटीलाई गाडी चढेर मामा घर जाँदाको रमाइलो बेग्लै हुन्थ्यो।

तिहार झनै रमाइलो। यो पर्व मिठामिठा खाना, रङ, देउसीभैलो बोकेर आउँथ्यो। वर्षभरि काम गर्ने कर्मी, विदेश गएर पसिना बगाउने श्रमिकहरूले समेत दसैंतिहारको एक महिना शरीरमा आनन्द र स्फूर्ति साँचेर काममा फर्कन्थे। यसले नै देखाउँछ कि पर्वहरू मनोरञ्जन, आनन्द र ऊर्जाका जिउँदा अस्त्र हुन्।

मनले कहिलेकाहीं बाल्यकालका चाडपर्व र आजभोलिका चाडपर्वबिच तुलना गर्छ। त्यतिबेला तीजमा गीतमार्फत् आमाहरूले पोखेका विरह र आजका तीज गीतमा पोखिएका उत्ताउला प्रेमका कुरा। उतिबेला तीजभन्दा अगाडि खाइने दर र आज दरका नाममा महिनौं अघिदेखि खाइने भोज। उतिबेलाको दरमा दुध, घिउ, चामल, मह, तरकारी, सलाद सबै आफ्नै घरमा उत्पादित हुन्थे। आज टोलभरिका सबै मिलेर खाने दर पकाउनका लागि लाखौं खर्च गरेर क्याटरिङ बोलाइन्छ।

पहिलाको गाउँ र अहिलेको गाउँ नै फरक छ। पहिला बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूको मिलन देख्दा आनन्द आउँथ्यो। तीजमा दाजुभाइले दिदीबहिनीलाई लिन घण्टौं लगाएर जान्थे। दिदीबहिनी अनि फुपूहरू आएपछि घर बल्ल भरिलो हुन्थ्यो। अहिले चेलीबेटीलाई लिन जाने फुर्सद कसैलाई छैन। सामाजिक सञ्जालमा दिनदिनै कुराकानी हुने हुनाले पनि आफन्तजनको महत्व घटेको हो कि? अहिले त निम्ता पनि म्यासेन्जर, भाइबर, ह्वाट्सएपबाट हुन्छ। दिदीबहिनीलाई लिन जाँदाको जस्तो रमाइलो म्यासेन्जरबाट निम्ता दिँदा कहाँ पाइन्छ र?

त्यसैले अहिलेका पर्व पहिलाझैं उत्साहित र स्वस्थ नभएका होलान्। हजुरआमा, आमाहरूको सक्रियतामा मनाइने सादा तर निश्चल चाडपर्व आज धुमिल भइसके। आधुनिकताका नाममा हाम्रो भान्सामा मौलिक खानेकुरा पाक्न छोडिसके। चाडपर्वमा पाक्ने खानेकुरा पूर्णतः अस्वस्थ बन्न थाले।

चाडपर्वमा ऋण खोजेरै भए पनि चाहिनेभन्दा बढी खाना खान्छौं। अरू बेलाभन्दा चाडपर्वमा बढी मिठो बनाउनुपर्छ भनेर भातमा धेरै घिउ हाल्छौं, तरकारीमा धेरै तेल–मसला हाल्छौं।

अरू बेला जति मासुले भान्सा अघाउँथ्यो, चाडपर्वमा हरेक छाक साबिकभन्दा दुईतीन गुणा बढी मासु भुट्छौं अनि कोची कोची खान्छौं। रक्सी पनि अघिपछिभन्दा बढी नै खान्छौं, अचेत हुने गरी।

ज्यानले थेगुन्जेल रक्सीको तालमा ठुला ठुला गफ गर्छौं अनि आधा राततिर अचेत भएर सुत्छौं। भोलिपल्ट उठ्दा सूर्यदेव आकाशमाथि पुगिसकेका हुन्छन्। खानपान बिग्रन्छ, निद्रा बिग्रन्छ, मन बिग्रन्छ, शरीर बिग्रन्छ अनि दुख्न थाल्छ टाउको। आजकल यसरी चाडपर्वमा अस्वस्थ खानाको मात्रा बढ्दै छ। पर्वखाना पहिलाभन्दा बिग्रँदै छ।

दसैंआसपास हरेक वर्ष सामानको उल्लेख्य मूल्यवृद्धि हुनु परम्परा नै बनेको छ। नुन–तेल, आलु–प्याज, चामल, खाना पकाउने ग्यास, पेट्रोल–डिजेलको आनुपातिक तथ्यांकले नै मूल्यवृद्धि अहिले कति उच्च बिन्दुमा छ भन्ने देखाउँछ।

चाडबाडमा हुने कालोबजारी तथा मूल्यवृद्धिको नियमन गर्ने काममा सरकार पूर्णतः बेखबरजस्तो देखिन्छ। मूल्यवृद्धिबारे सरकारलाई थाहा नभएको होइन, थाहा हुँदाहुँदै पनि मूल्यवृद्धि तथा कालोबजारी रोक्ने जिम्मेवार निकाय नै निष्कृय देखिँदा यस्तो कुप्रवृत्तिमा सरकार नै जिम्मेवार रहेजस्तो अनुभूत हुन्छ।

अहिले सबै चिज किन्न थालियो। अरू सामानको त कुरै छाडौं, जमरासमेत बजारमा किन्न पाइन्छ। जमरा त घटस्थापनाका दिन साइत हेरेर चोखोनिष्ठ ठाउँमा रोपण गर्नुपर्ने हुन्छ। हाम्रो संस्कार यसरी बिग्रिसक्यो कि सानो ठाउँमा एकैछिनको मिहिनेतले सम्पन्न हुने घटको स्थापनासमेत कृत्रिम बनिसक्यो।

फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालले यस्ता पर्व झनै भडकपूर्ण बनाएका छन्। खाएको लगाएको सामाजिक सञ्जालमा राख्दा प्रतिस्पर्धाको नकारात्मक संस्कृति विकसित हुँदो रहेछ।

उसले यस्तो कपडा लगाएछ, उसले यति मिठो खानेकुरा खाएछ, ऊ कति धेरै ठाउँमा घुमेछ, मैले भने यसपालि उसका जस्तो कपडा किनिनँ, उसको भान्सामा पाकेजस्तो खाना मेरो भान्सामा नपकाई हुँदैन, म पनि धेरै घुमेर अरूलाई देखाउनुपर्छ जस्तो प्रतिस्पर्धात्मक मनोविज्ञान चाडपर्वसँगै मौलाएर जान्छ।

सामाजिक सञ्जालको व्यापकतासँगै चाडपर्व रोकिने क्रममा समेत उल्लेख्य वृद्धि भएको देखिन्छ। दाजुभाइको ठुलो लहरो भएका गाउँमा त दसैंतिहारको टीका लगाउन पाइने हो वा होइन भन्ने अन्तिमसम्म नै टुङ्गो हुँदैन। देशविदेश पुगेका दाजुभाइहरूमा जुठो पर्‍यो वा सुत्केरो पर्‍यो भने त्यो खबर एकैछिनमा विश्वभरि फैलिइहाल्छ।

समाचार अनि तस्बिर नै देखिइसकेपछि टीकाटालो गर्न नहुने नेपाली रीत अनुसार दाजुभाइ चल्ने भएकाले सामाजिक सञ्जालमा राख्ने यस्ता समाचार, तस्बिरको समाजमा सकारात्मक–नकारात्मक कस्तो प्रभाव पर्छ भन्ने हेक्का राख्नुपर्ने हुन्छ। यस्तो अवस्थाले सत्तरीको दशकमा व्यापकता पायो। भर्चुअल संसारको विकास तीव्र गतिमा भइरहेको अवस्थामा आउँदा वर्षमा समेत सामाजिक सञ्जालका सकारात्मक–नकारात्मक दुवै प्रभाव नेपाली समाजले भोग्ने निश्चितप्रायः छ।

प्रतिस्पर्धात्मक मनोविज्ञानकै कारण मान्छेमा मनोगत दुःखले बास गर्ने हो। अहिलेका मान्छेको बेचैनीको मुख्य कारण हो यो। यस्तो बेचैनीको महसुस मान्छेले अरू बेलाभन्दा चाडपर्वका बेला बढी गर्ने गर्छ। चाडपर्वका बेला सामाजिक सञ्जालमा खसी काटेका, बलि दिएकाजस्ता दृश्य धेरै देखिने गर्छन्। यस्ता त्रासद दृश्यले मान्छेलाई कहिल्यै शान्ति दिँदैन।

संस्कृति हाम्रो पहिचान हो। चाडपर्व, खानपान, भेषभूषा, भाषाजस्ता तत्वले नै संस्कृतिलाई जीवन्त बनाउने हुन्। संस्कृति जीवन्त भए मान्छेको सभ्यता जीवन्त रहने हो। मान्छेले संस्कृतिलाई बचाउने हो, संस्कृतिले मान्छेलाई बचाउने हो। संस्कृति स्वस्थ रहे संस्कृतिका अवलम्बी स्वस्थ रहने हुन्।

संस्कृतिका सबल पक्षले मान्छेमा सकारात्मक ऊर्जा दिने हो। त्यसैले हामीले मनाउने चाडपर्व, संस्कारगत कर्महरू, गीतसङ्गीत सकारात्मक सन्देश प्रवाह गर्ने खालका हुनुपर्छ। हाम्रा चाडपर्व अनि संस्कारगत कर्ममा विकृति आउनु हुँदैन।

जब समाजको संस्कार–संस्कृतिमा खलल पैदा हुन्छ, त्यस समाजमा रोग, झैझगडा, तनाव, सम्बन्धमा दरार, आतङ्क, त्रासजस्ता नकारात्मक परिघटना देखिन्छन्। संस्कृतिले मान्छेलाई मनोरञ्जन दिने गर्छ। यसप्रकारको मनोरञ्जनले मान्छेलाई स्वस्थ बनाउने गर्छ।

टाढिएका आफन्तबिच मिलन हुँदा, सधैं काममा व्यस्त मान्छे फुर्सदिलो बनेर गाउँघरमा घुलमिल हुँदा, आफन्तजनसँगै बसेर खानपान गर्दा, घरमा इस्टमित्रहरूको आगमन हुँदा मान्छेमा स्वतः ऊर्जा तथा आनन्द प्रवाह हुन्छ। त्यसैले त हाम्रो समाजमा यस्ता चाडपर्वहरू परम्परादेखि चलिआएका छन्।

यस्ता सुन्दर पर्वलाई हामीले विकृत नबनाऔं। यस्ता सुन्दर चाडपर्वलाई हाम्रा नकारात्मक क्रियाकलापले कुरूप नबनाऔं। स्वास्थ्यका दृष्टिकोणले चाडपर्वलाई विद्रूप नबनाऔं। हामीसँग यति सुन्दर पर्व छन्, यिनलाई मानवीय अराजक क्रियाकलापरूपी विष घोलेर मार्ने काम नगरौं। 

प्रकाशित: ४ कार्तिक २०८० ०१:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App