१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

जताततै सकम्बरी र गंगुबाईहरू

कैफियत

‘कहिल्यै पनि बिहे नगर्नू है !’ लगभग २३ वर्षकी उनीसँग मेरो भेट हुनासाथ भनिन्। हेर्दा सानी थिइन्। हाफ पाइन्ट लगाएर आएकी। मैले मनमनै कलेजमा पढ्ने विद्यार्थी होलिन् भन्ने सोचें।

केहीबेरपछि उनीसँग गफगाफ भयो। ‘कलेजबाटै आउनुभएको ?’ मैले सोधें। उनले भनिन्, ‘कहाँ कलेजबाट हुनु। मेरो त ५ वर्षको बच्चा छ। म सानै देखिन्छु हो ? कसैले मेरो बच्चा छ भनेर विश्वास नै गर्दैनन्।’

साँच्चै हेर्दा पनि सानीले ५ वर्षको बच्चा छ भन्दा मलाई पनि विश्वास लागेको थिएन। बुढासँग छुट्टिएकी उनी बच्चालाई हुर्काउन यो यौन पेसामा लागेको भन्छिन्। उनले पालो कुरिरहेकी थिइन् र मैले पनि उनलाई दिक्क नलागोस् भनेर बेलाबेलामा ‘अब चाहिँ आइहाल्यो है, अब तपाईंकै पालो हुन्छ’ भन्थें। रगत जँचाउन उनी पालो कुर्दै थिइन्। एकै छिनमा हामी बोल्ने जिस्किने गर्दै थियौं। अलि अलि विगतका कुरा र आफ्नो जीवनमा घटेका घटना सुनाउँदै थिइन्।

‘तपाईंको बिहे भयो?’ उनले अचानक सोधिन्। मैले आफ्नो बिहे नभएको बताएँ। ‘मैले भनेको मान्नुहुन्छ भने बिहे चाहिँ कहिल्यै पनि नगर्नू। एकदम दुःख पाइन्छ,’ आफूभित्रको पीडा व्यक्त गर्दै उनले थपिन्, ‘परिपक्व नहुँदै मन पराएर सानैमा बिहे भयो। कुरा नमिलेपछि छुट्टिनुपर्‍यो। जीविकोपार्जन गर्न र छोरी हुर्काउन यो पेसामा लागें।’

बाल विवाह, अपरिपक्व हुँदा लगाएको माया र भागेर गरेको विवाहको एउटा परिणाम पनि हो यौन पेसा। बाल विवाहपछि परिपक्व हुँदा एकअर्काबीच मन नपर्ने अनि छुट्टिनुपर्ने। न पढाइ, न जागिर। त्यसपछि यौन पेसामा लागेर पैसा कमाउनेबाहेक केही उपाय नै नहुने रहेछ। उनी पनि मायालु स्वभावकी थिइन्। ‘ल अब तपाईंको पालो है, बेस्ट अफ लक’ भनें। सबै काम सकिएपछि जाने बेलामा उनले मलाई ‘राम्रोसँग बस ल, मेरो सानु’ भनिन्। सायद उनलाई मैले कहिल्यै पनि बिर्सन सक्दिनँ होला।

उस्तै कथा, उमेरले २८ वर्ष भने पनि उनी सानी नै देखिन्थिन्। पछाडि सानो नाबालक छोराले पछ्याउँदै थियो। बुढाले किचकिच र सधैं शङ्का गर्ने भएकाले डिभोर्स गरेकी रहिछिन्। उनी भन्छिन्, ‘दुःख पाएको देखेर घरपरिवारले पनि हेप्छन्। अरूको हेपाइ कति सहनु। त्यसैले कसैकोमा पनि जान्नँ। एक्लै छोरालाई हुर्काउँदै छु।’

पढ्दापढ्दै किन छोडेको त? भन्ने प्रश्नको जवाफमा ‘मति बिग्रेर’ भन्ने उत्तर दिइन्। उनी भन्छिन्, ‘साथीहरूको गलत सङ्गतमा लागेर कुलतमा फसें। चुरोट खाँदै हिँडें। उनीहरूले जे गरौं भने त्यही गर्न दिएँ। घरबाट पढभन्दा पनि पढिनँ। पछि घर छोडेर हिँडें।’

कलिलादेखि बुढो उमेरसम्मका महिला यौन पेसामा लागेको देख्दा म अचम्ममा परें। फ्लिमहरू हेर्दा पनि १५-१६ वर्षबाटै कसैलाई बेचेर यो काम गराएको मात्र देखिन्थ्यो। कतिपय यथार्थ टेलिभिजन, सिरियल र फ्लिमभन्दा भिन्न हुँदोरहेछ। कोही आफू खुसी यो पेसामा आएका देखिन्थे भने कोही दुःख परेर।

अर्को दिन एक जना अर्की दिदीसँग कुराकानी भयो। सबैलाई हँसाउने, आफू पनि हाँस्ने, मनमा जे आउँछ, फ्याट फ्याट बोल्ने कल्पना दिदी (काल्पनिक नाम) थिइन् उनी। उनी बेला बेला भनिरहन्थिन्– रिसाए रिसाऊन, मलाई त केही मतलब छैन। मनमा जे आउँछ, राम्रो होस् वा नराम्रो प्याच्च भनिदिने हो।

उनी १३ वर्षदेखि यौन पेसामा लागेकी रहिछिन्। ‘बुढाले पनि छोडेर अर्कै बिहे गर्‍यो। आमा र छोरालाई पाल्नुपर्छ तर आम्दानीको स्रोत केही छैन। त्यसैले बाध्यताले यो पेसामा लाग्नुपर्‍यो,’ उनले आफ्नो कथा सुनाउँदै गइन्। म मौन भएर सुन्दै थिएँ। स्वास्थ्यसमेत बिग्रँदै गएपछि भने मन पनि खस्किएको बताइन्।

‘आफूलाई चिनी रोग लागिसक्यो। यसले आँखामा पनि हानिसकेको रहेछ। आफू केही गरेर मरिहालियो भने छोरा र आमालाई कसले पाल्छ?’ यति भनेर एक छिन भक्कानिइन् उनी। आफूलाई होटल लाइन मन परेको तर सरकार अथवा कुनै संस्थाको सहयोगबिना सानो खाजा घर पनि खोल्न नसक्ने बताइन्। ‘मैले कहिलेसम्म यो यौन पेसा गर्न सक्छु र? ग्राहकहरूले पनि तँ बुढी भइस् भन्छन्। ग्राहक पनि भेटिनै गारो छ,’ उनी भन्छिन्।

छोराले कति पढेको छ नि दिदी भनी सोध्दा १२ सम्म मात्र पढाएँ, त्यहाँभन्दा उता पढाउन सकिनँ भनिन्। ‘विदेश पठाउने भनेको कागजात नमिलेर पठाउन सकिनँ। बरु मेरो हातमा एक रूपैयाँ पनि नराख्दिनू। मलाई एउटा सानो खाजा घर खोल्दिन भन्दिनू न है। मेरो दुःख ठुला मान्छेहरूलाई सुनाइदिनू न। यस्ता दुःख पा’का दिदीबहिनी रै’छन्, जो परिवर्तन हुन चाहन्छन्। म पनि परिवर्तन हुन चाहन्छु भनिदिनू न है।’

घरीघरी मलाई प्रकाश सपुतको सकम्बरी गीत याद आइरहेको थियो भने कहिले आलिया भट्टको गंगुबाई फ्लिम। आखिर ती कथामा पनि स्वेच्छाले महिलाले आफूलाई बेचेका थिएनन्। फ्लिम र गीत पनि त त्यसै बनेका रहेनछन्।

मबाट ठुलो अपेक्षा थियो उनको तर ‘म जानकारी लिन र हजुरको कुरा पुर्‍याउन मात्र आ’को हुँ’ भन्न पनि सकिनँ। मेरो हातमा भए त गर्थें पनि। यौन पेसा पनि सजिलो छैन। उनी पुलिसले पनि आफूहरूमाथि विकृति फैलाएको सोच्ने गरेको बताउँछिन्। पुलिसले पनि आफूहरूलाई नराम्रा अनेक नामले बोलाउने गरेका र उनीहरूले त दिनमा ५ हजार कमाउँछन्, हामीले त महिनामा बल्ल ५ हजार कमाउँछौं भनेको सुन्ने गरेको बताउँछिन्।

कसैले आफ्नो इच्छाले यस्तो काम गर्छ र? बाध्यता त हो नि भनेर प्रायः सबैले भने। अहिलेको महँगाइमा जीविकोपार्जन गर्न र आफू पनि धेरै नपढेको हुँदा राम्रो काम नपाइने भएकाले यस्तै काम गर्नुपरेको अनुभव सुनाइन्। कोही सानै उमेरमा बिहे गरेर फसेका छन्, कसैलाई बुढाले छोडेको छ, कसैलाई छोराछोरी हुर्काउनु छ।

त्यस्तै कथा ३३ वर्षीय एक दिदी सुनाउँछिन्, ‘बुढाले अर्कै विवाह गरेकाले आफूलाई हेर्दैन। आफूले राम्रो जागिर खान पनि त पढेलेखेको हुनुपर्‍यो। बाध्यतावश छोराछोरीलाई पढाउन हुर्काउनका लागि यौन पेसामा लाग्नुपर्‍यो। छोराछोरीलाई एउटा लेवलसम्म पुर्‍याएपछि यो पेसा छोड्न मन छ।’ सरकारका तर्फबाट तालिम त हुन्छ तर काम गर्न, व्यवसायमा लगानी गर्न पैसा नै पुग्दैन। त्यसैले यो काम बाध्य भएर गर्नुपरेको उनी बताउँछिन्।

‘तपाईंलाई त पढाइको मात्र टेन्सन होला। आफूलाई त धेरै थोकको टेन्सन छ,’ कापी-कलम अनि रेकर्डर लिएर उनलाई प्रश्न सोध्दा यस्तो जवाफ दिइन्। सायद उनको नजरमा मलाई पढाइको मात्र चिन्ता छजस्तो देखिएछु। हुन पनि उनको पिर अथाह भएको महसुस हुन्थ्यो।

कसैलाई छोराछोरी पाल्नु छ, कसैलाई आफू पढ्नु छ। घरको जिम्मेवारी र कमाउने बोझले गर्दा आफू यो काममा लागेको भन्ने भनाइ प्रायः सबैको छ। कोही बाध्यताले आउँछन्, कोही मात्तिएर आउँछन्।

‘आखिर एउटी केटी मान्छेलाई जागिर खान पनि त सजिलो हुँदैन। कुनै ठाउँमा जाँदा केटा मान्छेले नराम्रो दृष्टिकोणले हेरेकै हुन्छ हैन र?’ एक बीस वर्षीय बहिनीले भनेको भनाइ हो यो। उनको यो वचन सुनेर मलाई पनि धेरै पीडा भयो। कानुन विषय पढ्दै गरेकी उनीलाई पछि वकिल बनेर महिलाहरूको बेचबिखन अर्थात् यौन दुव्र्यवहारका बारेमा धेरै काम गर्न मन छ रे। महिला हकहितको व्यवस्था गर्ने छुट्टै संस्था खोल्ने परिकल्पना छ रे उनमा। आफूजस्तै बाध्यताले आएका दिदीबहिनीहरूलाई सहयोग गर्ने मन छ रे उनलाई।

आर्थिक समस्यामा परेपछि एक जना दिदीको सल्लाहमा उनी यो पेसामा लागेकी रहिछिन्। ‘पहिला त म निकै दुब्ली अनि कमजोर थिएँ। त्यहाँ पुगेपछि एक मनले म यस्तो गर्दिनँ भन्ने पनि लागेको थियो तर त्यहाँबाट सजिलै उम्कन सक्ने अवस्था थिएन। भाग्न नसकेपछि यस्तै रहेछ मेरो जिन्दगी भन्ने सोच आयो। जति पैसा कमाए पनि खुसी छैन म,’ उनी भन्छिन्। यति कलिलो उमेरमा दुःख भोगेर पनि केही गर्छु भन्ने सोचेकी रहिछिन्। परिस्थिति भने उनले सोचेजस्तो भएन। उनले भनिन्, ‘हाम्रो कानुन पनि दोषीलाई नै सहयोग गर्ने खालको छ। निर्दोषले सहयोग पाउँदैन। कडा नियम आउनुपर्‍यो। एकदम लापरबाही छ।’

घरीघरी मलाई प्रकाश सपुतको सकम्बरी गीत याद आइरहेको थियो भने कहिले आलिया भट्टको गंगुबाई फ्लिम। आखिर ती कथामा पनि स्वेच्छाले महिलाले आफूलाई बेचेका थिएनन्। फ्लिम र गीत पनि त त्यसै बनेको रहेनछन्। आखिर सबै समाजको चित्रण नै त रहेछ ? हामीले के गर्न सक्छौं त, यी दलदलमा फसेका दिदीबहिनीहरूका लागि? परिवर्तन खोजिरहेका यस्ता महिलालाई कसरी उन्मुक्ति दिने? यस्ता प्रश्न मनभरि उब्जिए।

प्रकाशित: २० आश्विन २०८० ०३:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App