१९ असार २०८१ बुधबार
image/svg+xml
कला

डा. दामोदर पुडासैनी ‘किशोर’ लाई यानीति साहित्य पुरस्कार

स्याङ्जा साहित्य प्रतिष्ठान, स्याङ्जामा वरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी ‘किशोर’ लाई यानीति साहित्य पुरस्कार अर्पण गरेको छ।

स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीको अध्यक्षता, प्राडा गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यता एवं पुरस्कार संस्थापक तुलसी गिरी एवं कृष्ण गिरीको उपस्थितिमा डा. पुडासैनीलाई उक्त पुरस्कार प्रदान गरिएको थियो।

उक्त समारोहमा डा. पुडासैनीलाई  दोसल्ला ओढाई, नगद पुरस्कार र सम्मानपत्रसहित सम्मान गरिएको थियो।

सो अवसरमा प्रमुख अतिथि प्राडा गोविन्दराज भट्टराईले डा. पुडासैनी जस्तो अत्यन्त ऊर्जावान् र स्वच्छ छविका लेखकलाई यो पुरस्कार प्रदान गर्दा पुरस्कार संस्थापकहरू र पुरस्कार प्रदान गर्ने संस्थाको समेत गरिमा बढेको बताए।

कार्यक्रमका सभाध्यक्ष विश्वप्रेम अधिकारीले स्याङ्जा साहित्य प्रतिष्ठानले निष्पक्ष ढङ्गले पुरस्कारका लागि पात्र छनौट गरेकाे बताए।

सो अवसरमा यानीति साहित्य पुरस्कारबाट विभूषित डा. दामोदर पुडासैनीले भने,‘पुरस्कारले रासायनिक मलको जस्तै काम गर्छ। सही स्रष्टालाई पुरस्कार दिइयो भने त्यसले स्रष्टालाई थप मद्दत मिल्छ। मोलाहिजा र आग्रहपूर्वाग्रहको आधारमा कसैलाई पुरस्कार दिइयो भने त्यसको प्रतिफल प्रत्युत्पादक हुन्छ। अहिले नाम चलेका पुरस्कारहरू समेत आग्रह पूर्वाग्रहमा वितरण गरिन थालेको चर्चा चलिरहेको बेला कुनै दाग र गुनासोबाट मुक्त स्याङ्जा साहित्य प्रतिष्ठानका क्रियाकलापहरूमध्येबाट पुरस्कार पाउनु खुशीको कुरा हो।’

पुरस्कारको निष्पक्षताले नै त्यसको गरिमा बढ्ने भएकाले निष्पक्ष ढंगले पुरस्कारका लागि छनौट गर्ने निर्णायक, स्याङ्जा साहित्य प्रतिष्ठान र यानीति साहित्य पुरस्कारका संस्थापकप्रति पनि डा. पुडासैनीले आभार व्यक्त गरेका थिए।

यानीति पुरस्कार स्याङ्जा जिल्लाका प्रसिद्ध समाजसेवी यादव गिरी र उनका दुई पत्नी : नीलकण्ठ गिरी र तिलकुमारी गिरीका नाममा उनका पुत्रहरू तुलसी गिरी, कृष्ण गिरी र विश्वेश्वर गिरीले स्थापना गरेका हुन्।

डा. दामोदर पुडासैनी नेपाली साहित्यका एक ऊर्जाशील नक्षण हुन्। उनका दश कवितासङ्ग्रह, सात नियात्रासङ्ग्रह र एक दर्शन कृति समेत अठार कृति प्रकाशित छन्। साझा प्रकाशनले छापेकाे उनको डोल्पो! ओ डोल्पो!! नियात्राकृति निकै चर्चामा छ।

सो कार्यक्रममा साहित्यकारहरू:  वनमाली निराकार, लक्ष्मण वियोगी, विजय हितान, धनराज गिरी, पूर्णप्रसाद अधिकारी, राजेन्द्रदेव आचार्य, चिन्तु गिरी र पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीप्रसाद रेग्मीसहित काठमाडौ, चितवन, रुपन्देही, कास्की, पाल्पाका साहित्यकारहरूको सहभागिता रहेको थियो।

सो अवसरमा प्रमोद पंगेनीले सम्पादन गरेकाे द्रष्टाका दृष्टिमा स्रष्टा विश्वप्रेम अधिकारी, पूर्णप्रसाद अधिकारीकाे अनुरञ्जन आफैंभित्र र चिन्तु गिरीकाे आमा जन्मेको देश कृतिहरूको विमोचन पनि गरिएको थियो। कार्यक्रमको संयोजन तथा सञ्चालन साहित्यकार प्रमोद पंगेनीले गरेका थिए।

प्रकाशित: १३ आश्विन २०८० ०५:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App