२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

फेरिए गीत र लय,हरायो चेली लिन जाने चलन

तीज संस्कृति

भदौरे झरीमा खोला र खहरेमा उर्लेको भेललाई छिचोल्दै तीजकै लागि छोरीचेली र दिदीबहिनी लिन जाने चलन अब हराउँदै गएको छ। हातहातमा मोबाइल र इन्टरनेटको पहुँच तथा यातायातको सुविधाले छोरी चेली र दिदीबहिनीलाई लिन अब घरमै जान नपर्ने अवस्था आएको छ।

ससाना छोराछोरी पिठ्यूँमा बोक्दै र हातमा डोर्‍याउँदै भाइको अघिपछि हुँदै साँझपख मात्रै माइतीको आँगनमा पाइलो टेक्दा मिल्ने खुसी अहिले वर्णन नै गर्न नसकिने बेनी नगरपालिका-२ की ६९ वर्षीया यामकुमारी शर्माले बताइन्।

तीज आयो जाउ न बाबु दिदी लिनलाई

खुट्टैमा ढोँग गरे है भेट्दा भेनालाई।

हुन्छ आमा दिदी लिन जान्छु जान त  

कोसेली पो के लानी हो पर्छ लान त।।

‘गाउँमा मोटर गुड्ने सडकको पहुँच थिएन, चेलीबेटी लिन माइती मावली नै हिंडेर जानुपर्ने बाध्यता थियो। सासू, ससुरा, घरपरिवारको मन जितेर र उनीहरूलाई मनाएर मात्रै माइत जान पाइन्थ्यो’, शर्माले भनिन्,‘हिजोआज भने गाउँगाउँमा सवारी साधन पुगेका छन्, हातहातमा मोबाइल छ, न दाजुभाइलाई दिदीबहिनी लिन जाने झन्झट र न दिदीबहिनीलाई कोसेलीपातको व्यवस्था गर्न गाह्रो, पैसा भए बजारमा सबै चिज पाइन्छ, आनन्दै।’

मालिका गाउँपालिका-४ का डेकबहादुर घर्तीले भने, ‘तीजको रौनक पनि हराउँदै जाँदा पुराना दिन सम्झना मात्रै बन्न थालेका छन्, हिजोआज तीजको लय हराउँदै गएको छ, विकृति फस्टाउँदै गएको छ।’

ज्यामरुककोटकी ८९ वर्षीया खिरकुमारी कार्कीका अनुसार वर्षामास धान रोपेर सकिएपछि तीजकै लागि अनदी, झिनुवाको चामल, घ्यू पहिल्यै नै बन्दोबस्त गरेर राखिन्थ्यो। दर खाने दिन घ्यूमा पकाएको खाजा, तामा, गावाजस्ता परिकार बनाएर दरका रूपमा खाने चलन थियो।

केरा, निमारोको पातमा घरको मझेरी, आँगनीमा सबै जम्मा भएर दर खाने परम्परा छ। तर, हिजोआज भने माछा, मासु, खिर लगायतका विभिन्न परिकार बनाएर दर खाने प्रचलन बढ्न थालेको छ।

राति अबेरसम्म दर खाने र भोलिपल्ट तीजको निराहार ब्रत बस्ने चलन अहिले भने हरायो। तर, अहिले एक महिनाअघिदेखि होटल तथा पार्टी प्यालेसमा दर खाइन्छ, भड्किला गीत बजाउँदै नाच्ने गरिन्छ। यसो गर्दा तीजको सांस्कृतिक र आध्यात्मिक पक्ष नासिंदै गएको छ भने सामाजिक सद्भाव पनि बिग्रँदै गएको छ।

अहिले दर खाने निहुँमा ठूलाठूला पार्टीप्यालेस, होटलमा जम्मा भई महँगा लत्ताकपडा, गरगहनामा सजिएर प्रतिस्पर्धात्मक रूपमा जानेको पनि लहर छ। बेनी बजारका विभिन्न होटल, पार्टी प्यालेसमा दर खान जानेहरूको आकर्षण बढ्दै जाँदा विकृति पनि निम्तिएको छ।

‘हरितालिका तीज पर्व महिलालाई सशक्त बनाउन, परम्परा र संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने, घरायसी, सामाजिक, हिंसालाई बाहिर निकाल्ने अवसरका रूपमा लिइन्छ तर हिजोआज तीज गीतका नाममा विकृति पनि केही देखिएको हुँदा ती विकृतिविसङ्गतिलाई हटाई महिलाका वेदना पोख्ने पर्वका रूपमा अगाडि बढाइनुपर्छ’, म्याग्दी बहुमुखी क्याम्पसका पूर्वप्रमुख रामजी सुवेदीले बताए।

धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन्।

पार्वतीले महादेवलाई श्रीमानका रूपमा पाउन एक सय सात जन्मसम्म घोर तपस्या गरे पनि १०८औं जन्ममा मात्र उनको तपस्या पूरा भएको कुरा विभिन्न शास्त्रमा उल्लेख छ। यही मान्यता अनुसरण गर्दै विवाहित महिलाले श्रीमानको दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने चलन छ।

तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ। अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ। तीजका दिन व्रत बसिन्छ। चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषि पञ्चमीका दिन व्रर्तालु महिलाले तीन सय ६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन्।  

अपमार्ग लेपनले छालामा हुने एलर्जी हटाउँछ। पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ। यो दिन श्रीमानले पकाएको भोजन खाए आपसी आत्मीय एवं सद्भाव बढ्ने विश्वास छ।

तीजका गीतमा नारी वेदनालाई लयात्मक तरिकाले अभिव्यक्त गर्ने चलन पनि विस्तारै हराउँदै गएको छ। घरपरिवारभित्रको दुःख, समाजको अत्याचार, कुरीति र विसङ्गतिविरुद्ध सङ्गीतबद्ध गरिएका आवाज समाज परिवर्तनका संवाहक बन्दथे तर अहिले ठीक उल्टो भएको छ।

 समाजलाई सही बाटोमा हिँडाउने गीत भद्दा र मजाकका वस्तु जस्तै बनेका छन्। ‘भाइरल’ र चर्चित बन्ने नाउँमा गीतलाई अपभ्रम गराइएको छ। लय, ताल र सुरमा तीजको कुनै छनक नै पाइँदैन। मङ्गला गाउँपालिका ५ की ७१ वर्षीया पूर्णकुमारी पौडेललाई उहिलेको तीजबारे सोध्दा गुनगुनाइन्,

घ्यू भरेर राखे आमा फूल भरेको टिनमा

बाँचे आमा भेटौंला वर्ष दिनमा।

उनले भनिन्, ‘अहिलेका गीतमा मलाई खासै रुचि छैन। यी तीजका गीत जस्ता पनि छैनन्।’

अहिलेका गीतहरू सुन्दा दिक्क मान्ने उनले आफूहरूले पहिलापहिला गाएका गीतहरू सम्झँदै पहिलाको जस्तो रमाइलो अहिलेका तीजमा हुन छाडेको बताइन्।

अहिले तीजभन्दा अगाडि नै दर खाने चलन बढ्दै गएको र तीजमा पहिलाको जस्तो रौनक पनि नरहेको बेनी नगरपालिका-९ की तारा सुवेदीले बताइन्।

‘समयअनुसार चाडपर्व मनाउने परिपाटी पनि परिवर्तन भएको हुन सक्छ’, उनले भनिन्, ‘पहिलेपहिले गाउँघरमा बसेर तीज मनाउने गरेको भए पनि अहिले त पार्टी प्यालेसमा गए दर खाए,आए। गीतमा समेत विकृति भित्रन थालेको छ।’

गीत गाउँदा पहिला दिदीबहिनी भेला भएर सुख-दुःखका कुरा र सासूले दिएका पीडा लगायत विषयमा गाउने गरेको भए पनि अहिले कसको श्रीमान्ले कति कमाउँछ भन्नेमा मात्रै केन्द्रित भएको उनको भनाइ थियो।

प्रकाशित: ३१ भाद्र २०८० ०७:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App