१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

हिति प्रणाली!

पुस्तक

इतिहास–वर्तमान–भविष्य। एकताका नेपाल शब्दले चिनिने काठमाडाैं उपत्यका ऐतिहासिक उथलपुथलपछि राजधानी भनियो। यथार्थ वर्तमानको ! परम्परागत क्रमभङ्ग भयो। राजधानी काठमाडौंको क्रम यथावतै कायम छ। क्रमभङ्ग भएन। क्रमभङ्ग एकछत्र भएन। हुन सक्दो रहेन। क्रमभङ्गका नारा घन्काई बाजलाई भर्दो छ यथार्थ चेत यसले। ‘हिति प्रणाली’ ग्रन्थ पढ्दै झल्यास्सिएँ।

‘हिति प्रणाली’ स्वस्थ जीवन प्रणालीका निमित्त मध्यकालीन नेपालको सम्पदाको मूल स्रोत रहे–बनेको ग्रन्थ। पानी यसै स्रोतमा आधारित मूल। नभन्दै जल जीवनाधार! पानीबिना बाँचिन्छ कसरी? हामी आश्रित प्राणी पानीमा। बिनापानी बाचिन्न। अनुभव सिद्ध शाश्वत सत्य। अन्नप्रासन्न गरी प्राण धानिन्छ। पानीले नरसाई जिब्रोमुनिबाट र्‍यालै निश्रित हुन्न। अनुभूति हाम्रै।

जसरी प्रत्येक नरनारीको जिब्रोमुनि मुखजिब्रो रसाउने थुकको स्रोत विद्यमान छ। त्यसरी नै हितिको मूल स्रोत घना जंगलका रुखका जरा हितिबाट निश्रित हुने पानीका मुहानदेवी रहेका हुन्छन्। ‘हिति प्रणाली’ ग्रन्थ पढ्दै आत्मसात गरें। अध्ययनले उजागर थप ज्ञानको स्रोत–मुहान भेटाउँदै छु। लेखन विषयवस्तुको मूल अध्ययन सामग्री भित्रभित्रैबाट फेला पारिंदो रहेछ।

धन्य परमात्मा! आत्माभन्दा परमात्मा कहाँ कहाँ उच्च रहेछ। परम आत्मा, हे प्रभु, भगवान्, जसमा शाश्वत रहन्छ भग। भग–जननेन्द्रीय, पुरुष–भगवान्, नारी–भगवती। अकाट्य, अटल, ध्रुव सत्य, अमर, अविनाशी, अमरावती भूतलमा। हराभरा, असरल्ल, सरल, सलसल बग्दो। प्रकृतिप्रदत्त, प्राकृतिक, सदाबहार, अमर बिजयिनाम्। सदाबहार वसन्तम्, हृदयारबिन्दम्। घटघटवासी प्राणी मात्रका स्थूल शरीर निवासिनी चेतधारीका चेतनाबिन्दु। निक्खर धर्मान्धता होइन यो धारण। धर्म भन्नु शाश्वत प्राकृतिक पालना नै त हो।

‘हिति प्रणाली’ ग्रन्थ घतलाग्दो छ। यस निमित्त कि परिच्छेद, अनुच्छेदमा अनुस्थानित छ। परिच्छेदले मूल मुद्दा जाहेर गर्छ, अनुच्छेदले तिनका हाँगाबिँगा। माथिल्ला तहका अनुच्छेदले जमिनमुनि फैलिँदो जराहरूको। जरा फैलिन नपाई हराभरा रुखका बहार सदा हुन्छ नै कसरी? हिति प्रणालीका नालीबेली चाहार भित्रबाट अनुभूत भएको मेरो अनुभूति पस्कँदै छु।

 पल्टाउँदै गर्दा पानाहरू, अनुपोषित हुँदो छु। कछुवा गतिमा शनैःशनैः। विषयसूचीमा अङ्कित हिति प्रणाली अन्तर्गत परिचय, उद्गम, हिति प्रणाली विधि र काठमाडौं उपत्यकाका हिति प्रणालीहरू समेटिएको पाएँ। मूलतः हिति प्रणालीको मूलथलो काठमाडौं उपत्यका नै रहेको छ। यद्यपि काठमाडाै उपत्यकाबाहिरका विभिन्न उपत्यकामा पनि हिति प्रणाली कामयाब नभएका होइनन्। जुम्लाजस्ता देशका सुदूर पश्चिमवर्ती हिमाली जिल्लाका हाटसिन्जा उपत्यका, दैलेखको दुल्लु, डोटीको सिलगढी आदि नेवार समुदायका संस्कार–संस्कृतिमूलक सभ्यताले जरोकिलो हालेका ठाउँमा पनि हिति प्रणाली कामयाब नभएका होइनन्।

जीवनको मध्ययुगीन तन्नेरी यौवनकाल आफै जिउको छायाँ पाइतालो मुनि दबाई पहाड, बेंसी, हिमाल उक्लँदै आर्जेका स्वानुभूति आत्मरति होइनन्। यथार्थ जीवनका सत्यार्थ। भन्दा यसो कतै आत्मरति आत्मश्लाघापरक हुँदो हो। जीवनका यथार्थ सत्यार्थपरक हुनेमा ढुक्क छ यो चेत। ‘हिति प्रणाली’ खोजमूलक। प्रयास भन्दै पुगोइन यसलाई। प्रयत्न नै भन्छु यसलाई। अभियन्ता जोशी, पद्मसुन्दर यसैउसै सरासर। यी दुई नयनजोडीभित्रका अन्तरदृष्टि घचघच्याउँछ। उनी संस्कृति र सिङ्गो परम्परा समाज, सिङ्गो नेपाल राष्ट्रकै सुन्दर कमल जोशी बनेका छन् भन्छु मुक्तकण्ठले।

हिति र हिटि, एकै अर्थबोधक दुई शब्द। नेपाल भाषा र नेपाली राष्ट्र भाषा प्रतिनिधि बोलिबाचन। नेपाली मूर्धन्यप्रधान बोली। नेपाल भाषा दन्त्यप्रधान। दन्त्यप्रधान बोली जिब्राको टुप्पोले दाँत छुन्छ। मूर्धन्यप्रधान शब्द तालुका स्थान लेघ्रोले छोएर उच्चारण गर्छ। अन्तरकुन्तर मात्र ध्वन्यात्मकतामा, बस यत्तिकै। विवादास्पद कलङ्क होइन। कतै कहीं पनि। हाम्रै मानसिकता मात्र। आफ्नै मनलाई तह लगाए हुन्छ पर्याप्त। मनलाई वशमा पार्न पाए पिरमर्का पर्छ नै कहाँ? आनन्दै आनन्द जताततै। सर्वव्यापी तनोहरी। बुढापाका बालबच्चा सबैसबैमा। आजीवन सदासर्वदा। हिति प्रणाली आदिकालीन, प्राण प्रणाली सदा समर विजयीनाम। हिति प्रणाली निर्माण गरेर बसालेको आदि पुख्र्यौली जीवन–संस्कारसंस्कृति गौरवशाली, वैभवशाली, राष्ट्रकै महिमाशाली।

हिति प्रणाली अँगालेर निर्मित ढुङ्गेधारा– निरन्तर निश्रित भइरहने पानीका बहाब। त्यसैबाट पानी जम्मा भई निर्मित पोखरी। तिनबाट बने बनाइएका कुलो–ढल अनि सिँचाइ पटनी। हाम्रा मौलिक पद्धति पर्यटकीय अवलोकन विषयवस्तु। गौण विषयवस्तु उजागर गर्न सक्दा बन्छ राष्ट्रका स्रोत, आयका सबल सार्थक परमार्थक पनि।

अभियन्ता पद्मसुन्दर जोशीले एकै श्वासमा निचोर्नुभएको छ–हिति प्रणाली पुस्तकाकारमा ल्याउन मूलतः तीन आधार देखेका, भोगेका र सिकेका उल्लेख गरेका छन्। यथार्थमा शिक्षण अनुशिक्षणका आधारशीला हुन् पनि यिनै।

आत्मभरण वा पोषणका आधार यिनै हुन्। शिक्षण पेसाभर जीवनमा आर्जेका अनुभूतिले अनुपोषित भएर जोशीका उद्गारबाट आह्लादित भएछु। वहाँको ठम्याई कटुसत्य सावितिन्छ नै। हिति प्रणाली ग्रन्थ पढ्दै गर्दा उल्लिखित विवरणहरू नितान्त घतलाग्दो पाएँ। कतिपय अवस्थामा दोहोर्‍याई, तेहर्‍याइनु आवश्यक ठानेर त्यसैं गरें, रोचक प्रसङ्गले उब्जाएको प्यास मेटाउन र विशेषतायुक्त प्रसङ्ग भएर। ठाउँ ठाउँका प्रसङ्ग ध्यानयोग्य ऐतिहासिक खोज तत्त्वबोध गरेर। काठमाडौं उपत्यकाभित्रका भक्तपुर, कान्तिपुर र ललितपुर नगरका स्तर आआफ्नै किसिमले विशेषतायुक्त छन्। ललितपुरको वैशिष्ट्य आफ्नै किसिमले स्थापित छ।

भक्तपुर नगरपालिकाको वर्चश्व आफ्नै किसिमले विशेषतायुक्त छन्। यिनले आफ्नो विशेषता पुर्ख्याैली शैलीकै इँटा, टायल पुनरावृत्त गरी स्वतः धानेको छ।

पुर्खाले आर्जेको सम्पत्ति कला–संस्कृति उक्ति नै पर्याप्त अनि जीवन्त सार्थक छ। पुख्र्यौली इँटा, टायल, झिँगटी उद्योगलाई प्रोत्साहन गरेको छ। पुर्ख्याैली टायल, इँटा कुँदेका ढुङ्गा आकारमै ढालेको हुन्छ।

मल्लकालीन घरआँगनका पिँढी पिँढीमा अझै अवशिष्ट छन्। ढुङ्गेधाराहरू उत्तिकै सुन्दर आकर्षक अनि विशिष्टतापूर्ण। आफ्नै साक्ष हुन् यी आँखैदेखि साक्षी। मल्लकालीन दरबार संरचना यति दह्रो हट्टाकट्टा छन्, १९९० सालको महाभूकम्पले मात्र होइन, २०७२ वैशाख १२, १३, २९ को भूकम्पले पनि हल्लाउन सकेका थिएनन्। कहींकतै टेको लगाएको अझै टड्कारो पाइन्छ। हिति प्रणाली प्रासङ्गिक सिरान, नाभीस्थान अनि पादुका स्थानवर्ती पोखरीहरू र भौगर्भिक विज्ञानसम्मत तथ्यपरक प्रमाणहरू छ्यापछ्याप्ती भेटिन्छन्।

हिति प्रणाली पाटन, ललितपुर, ललितपट्टन समयअनुरूपका नाम। राजनैतिक प्रभावले आह्लादित रहेका छन्। विश्लेषण गर्दा विवेचक बन्धुजनले तदनुरूप मस्तिष्कधार प्रयुक्त गर्नुहुने नै छ। अलिकति खानतलासिनुपर्दो हो। पुखुचो नेपाल भाषाको शब्द। पुखु–पोखरी, चो– माथि वा टुप्पो। डाँडा–माथिल्लो सिरान। कालान्तरमा पुखुचो रूपान्तरण हुन पुग्यो। एक भाषिक संस्कार मन्द्रित समुदायका भाषिक लवज अर्कामा रूपान्तरण सहज नहुँदो प्रमाण यो। यो त शब्दावलीको कुरो।

भक्तपुरबाट दुई माइल पश्चिमवर्ती थेमि, बोदेका नेपाल भाषाका ध्वनि स्पन्दन आनका तान अन्तर छ। सभ्य वैज्ञानिक आविष्कार मण्डित पाश्चात्य मुलुकमा पनि अछुतो नभएको आफ्नै अनुभूतिले सिञ्चन अभिषेक गर्छु।

संयुक्त राज्य अमेरिकाको मध्यराज्य मेसिगन स्टेट्सको डेट्रोइट सहरमा हेनरी फोर्ड मोटर कम्पनीको मोटर कारखाना अवलोकनमा जाँदा अर्कै राज्यका सहपाठीको ध्वन्यात्मकतामा अन्तरविभेद देखाई जिस्केको घटना अहिलेझैं झल्यासिन्छु। हिति प्रणाली अध्ययन–चिन्तन अनि मननयोग्य ग्रन्थ। त्यसलाई एकैपटकले पर्याप्तिन्न। बारम्बार फरक फरक विषयमा अन्तर्दृष्टिपात गर्दै लानुपर्दो छ। 

प्रकाशित: ३० भाद्र २०८० ०१:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App