२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

साहित्यकार तिमिल्सिनाको ‘अक्कर’ उपन्यासमाथि परिचर्चा

साहित्यकार योगेन्द्र तिमिल्सिनाको ‘अक्कर’ उपन्यासमाथि परिचर्चा गरिएको छ। काठमाडाँको धापासीस्थित ‘ह्वाइट माउन्टेन स्कुल’मा आयोजित एक कार्यक्रममा उक्त उपन्यासबारे परिचर्चा गरिएको हो।

प्राडा शैलेन्दुप्रकाश नेपाल तथा साहित्यकार, समालोचक ज्ञानु अधिकारीले विद्यार्थी र शिक्षकमाझ उपन्यास ‘अक्कर’बारे परिचर्चा गरेका हुन्। प्राडा नेपालले अक्कर उपन्यास सामाजिक र पारिवारिक विषय वस्तु समेटिएको उत्कृष्ट कृति भएको बताए।

उनले भने, ‘उपन्यास पढ्दै गर्दा त्यसभित्र मैले आफूलाई भेटे, उपन्यासमा गाउँठाउँ र शहर बिचको यथार्थ तथा फरकपनलाई देखाइएको छ। गाउँलाई बाहिरबाट हेर्दा दुःख देखिन्छ। तर आन्तरिक रूपमा गाउँ निकै खुसी छ, शहर बाहिरबाट हेर्दा खुसी र सुखी देखिए पनि दुःखी छ।’

पुस्तक सरल र सहज भएकाले पाठकले सजिलै बुझ्ने उनको भनाइ छ।

उपन्यासको समिक्षा गर्दै साहित्यकार तथा समालोचक अधिकारीले पुस्तक पढ्दा साहित्य र शब्दमाथि गर्व लागेको बताइन्। उनले भनिन्, ‘प्रकृति र परिवेशको उत्कृष्ट चित्रणले उपन्यास सुन्दर बनेको छ, यो पढ्दा चलचित्र हेरेको आभास हुन्छ।’

उपन्यासमा  पुरूष पात्रलाई  केन्द्रमा राख्नु सकारात्मक र अन्य उपन्यासभन्दा फरक पाटो भएको अधिकारीको भनाइ छ।

कार्यक्रममा प्राडा गोविन्द भट्टराईले उपन्यास र त्यसका लेखक तिमिल्सिनाको खुलेर प्रशंसा गरे। उनले उपन्यास पठनयोग्य र उत्कृष्ट भएको उल्लेख गरे। उपन्यास परिचर्चामा सहभागीले यसमा कल्पनाभन्दा यथार्थ विषय वस्तु बढी समेटिएकाले त्यसमा निबन्धको भाव झल्किएको बताए। सो अवसरमा उपन्यासका लेखक तिमिल्सिनाले उपन्यासका कथावस्तु, परिवेश २०२८ सालतिरको भएको बताए।

पूर्वी पहाडबाट तराईका उर्वर भूभाग तथा सुगम शहर हुँदै व्यक्ति कसरी अवसरको खोजीमा आइपुग्छन् लगायत घटनालाई आधार बनाएर उपन्यास लेखिएको उनी बताउँछन्। पुराना र नयाँ पुस्ताका विषयवस्तु समेटिएकाले आफ्नो उपन्यास सबै वर्गका पाठकका लागि पठनीय भएको तिमिल्सिनाको भनाइ छ।

सामाजिक तथा पारिवारिक विषयवस्तु समेटिएको ‘अक्कर’ तिमिल्सिनाको चौथो कृति हो। उपन्यासको मूल्य २५० रुपैयाँ रहेको छ। लेखक तिमिल्सिनाको यसअघि ‘पुनर्मिलन’, ‘फूल र काँडा’ र ‘अन्त्यहीन यात्रा’ उपन्यास प्रकाशित भइसकेका छन्। यसका साथै कथा लेखनमा समेत सक्रिय तिमल्सिनाका ‘बैंसको निर्वासित सहर’, ‘अनन्त आकास’ तथा ‘तीन धारा’ कथासङ्ग्रह प्रकाशित भइसकेका छन्।

प्रकाशित: २८ भाद्र २०८० ०५:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App