सन् १४७१ मार्च १४ को मितिमा थोमस मेलोरीको मृत्यु भयो। मेलोरीको मृत्युलाई सर्वसाधारणले सम्झनुपर्ने केही कारण थिएन किनभने उनको मृत्यु जेलमा भएको थियो।
उनी निर्दोष पनि थिएनन्। उनका अपराधको फेहरिस्तमा डकैती, अपहरण, बलात्कारजस्ता जघन्य काण्ड थिए। उनका ती सारा काण्ड हेर्दै न्यायाधीशले उनलाई जन्मकैद सुनाएका थिए।
सन् १४५० को दशकमा जेल सजाय सुनाउँदा सुरुमा उनलेखासै उनले गम्भीरतापूर्वक लिएका थिएनन्। सुरुवाती समयमा उनले जेलमा आफ्ना सहकर्मीहरूलाई बेलायत र फ्रान्सबीच चलेको सय वर्षे युद्धमा आफूले खेलेको भूमिका, लडेका युद्धबारे गफ दिँदै बसे। उनको सजाय छोटो थिएन। पूरै जीवन त्यहीँ बिताउनु थियो। उनले कुनै माफीनामा पाउने छाँट पनि थिएन।
लामो जेल सजाय भोग्दै जाँदा भने उनलाई अत्यास हुन थाल्यो। उनलाई जुन जेलमा हालिएको थियो, त्यो १२ औँ शताब्दीमा बनाइएको कठोर जेल थियो। न्युगेट प्रिजन नाम सुन्नेबित्तिकै अपराधीहरू पनि थरर काँप्थे रे ! आफ्नो जेलजीवनलाई कम तनावग्रस्त बनाउन उनले केही लेखपढ गर्न थाले।
बेलायतीहरूले धेरै वर्षअघिदेखि सुन्दै आएको कथा उनले कोर्न थाले। कथा थियो, किङ आर्थरको ! सो पुस्तक उनको मृत्युपछि प्रकाशित भयो। त्यसपछि जनताले सुनेका किङ आर्थर एउटा ऐतिहासिक तथा मिथकीय पात्रका रूपमा उदाए।
बेलायतलाई बेलायतका रूपमा उभ्याउनुमा किङ आर्थरको ठूलो योगदान छ। उनका अनेकन् कथा–उपकथा सुन्न पाइन्छन् तर तीमध्ये पनि मेलोरीको किताबलाई सबैभन्दा प्रामाणिक मानिन्छ। अहिले पनि बेलायतलाई एकताबद्ध गराउनुपर्यो भने मेलोरीको किङ आर्थर, उनको तरवार, उनका सात जना साथीहरू सम्झिइन्छ।
त्यो बेलाको ठूलो अपराधीले, जेलमा सड्दै गर्दा बेलायतकै सबैभन्दा महत्वपूर्ण सिर्जना गरेर अमर बने।
सम्भवतः बेलायत रहुञ्जेल, देशलाई राजा अर्थरको कथा आवश्यक परूञ्जेल थोमस मेलोरीजस्तो अपराधीलाई मानिसले सम्झिरहनु पर्नेछ।
किताब छापिनुअघिसम्म थोमस मेलोरी अपराधी थिए। किताब छापिएपछि उनी प्रिय लेखकका रूपमा चर्चित भए। लेखेकै कारणले अहिले पनि बेलायतीहरूले उनलाई सम्झिरहन्छन्।
प्रस्तुतिः अच्युत कोइराला
प्रकाशित: २७ भाद्र २०८० ०२:२१ बुधबार