१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

स्मृतिको गणराज्यमा थेबे

कृति परिचय

भारतका प्रसिद्ध साहित्यकार एवम् चिन्तक निर्मल वर्माले धेरै अघि आफ्नो निबन्धसङ्ग्रह ‘शब्द र स्मृति’मा स्मृतिको दार्शनिक धरातलबारे लेखेका थिए। अहिले यहाँ नेपाली कवि सन्तोष थेबेको नयाँ कवितासङ्ग्रह ‘स्मृतिको पुरानो दह’बारे विमर्श गर्न खोजिएको छ।

 यसअघि ‘फालेलुङ र कावेली बजार’ सङ्ग्रह लिएर देखापरेका थिए। अहिले उनको यस सङ्ग्रहमा ५५ साना र मझौला कविता छन्। यस सङ्ग्रहका कविता पढ्दा लाग्छ-थेबे वस्तुगत संसारका भन्दा आत्मगत संसारका कवि हुन्। उनी आफ्नो चेतनाद्वारा बाह्य संसारलाई कसरी हेर्छन्, त्यो सङ्ग्रहका कविताहरूले बताउँछन्।

उनका कवितामा सहर, गाउँ, प्रेम पलायन, जिन्दगीको विसंगति र अस्तित्व बोधको स्मृति तरंगित हुन्छ। लाग्छ, कविले आफ्नो स्मृतिको पुरानो दहमा शब्दहरू तरंगित पारेका छन्। अधिकांश कविता व्यक्तिपरक छन्:

आँधीको पूर्वसंकेत स्पष्ट छ

झ्याल ढोकाहरू बन्द भइसके। (हिउँको टुक्रा)

निजात्मक विम्बविधान निर्माण गर्नु उनको विशेषता हो। समकालीन कविहरूमा उनी सरल तर तीव्र अनुभूति भएका कवि हुन्।

उनी मृत्युमाथि कविता लेखे पनि आशा र जीवनवादी कवि हुन्। उनका कविता दुरुह र अमूर्त छैनन्। हृदयस्पर्शी र विम्बहरूको निर्माण गर्नु उनको खुबी हो।

स्मृतिको गणराज्यमा भावना मिलाएर उनी काव्यको सत्ताको उद्घोष गर्छन्। उनका कवितालाई कुनै वादमा सीमित गर्न उचित हुँदैन। उनी बृहत् आयाम र सन्देश बोकेर बाँच्ने कवि हुन्। २०६२/६३ को जनआन्दोलनले नेपाली समाजमा परिवर्तन ल्याएपछि पहिचानको साहित्य लेखिन थाल्यो। यस क्रममा उत्कृष्ट साहित्य लेखिए। लिम्बू जातिका कवि थेबेले आफ्नो संस्कृतिको दहमा काव्यको तरंग ल्याएका छन्:

तमोरको निलो नागबेली चुल्ठोमा

ढकमक्क उद्यौली फुलेछ। (शीतकालीन गीत)

थेबेका कवितामा चिन्ता, द्वन्द्व, अतीत मोह र विसंगत परिवेशको गठजोड भेटिन्छ। मानसिक रोगीहरूले खाने ट्रयाकुलाइजरको प्रसङ्ग पनि छ। पहिलो सङ्ग्रहभन्दा स्पष्ट र पठनीय कविताहरूको संकलन हो ‘स्मृतिको पुरानो दह’, जुन स्मृतिको गणराज्यबाट शब्दहरू काव्यिक बनेका छन्। 

प्रकाशित: २३ भाद्र २०८० ०३:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App