१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

बेलायती आरक्षणको दारुण कथा

पुस्तक

विद्यालय भर्ती भएपछि बिचैमा छाड्दाका अनेक बेफाइदा छन्। त्यसका बाबजुद बिचैमा स्कुल तथा कलेज छाड्ने बेलायतीको संख्या दिनानुदिन बढिरहेको छ। विद्यालय भर्ती हुने ६.४ प्रतिशत बालबालिकाले बिचैमा स्कुल छाड्छन्। पूरा युरोपको तुलनामा यो कमै हो तापनि यसलाई शिक्षाविद्हरूले चिन्ताजनक मानेका छन्। यो कुन हदसम्मको चिन्ताजनक छ भन्ने कुरा अर्को एउटा तथ्याङ्कले पनि देखाउँछ।

बेलायती सपिङ मलहरूमा हुने सानादेखि ठुलासम्मका चोरीले वार्षिक रूपमा एक अर्ब पाउन्डसम्म क्षति पुर्‍याएको पछिल्ला तथ्याङ्कले देखाएका छन्। चोरी फेला परे पनि प्रहरीले ध्यान दिन छाडेको छ।

चोरी रिपोर्ट गरिएका घटनामध्ये ७१ प्रतिशत गम्भीर प्रकृतिका चोरीमा प्रहरीले कुनै पनि प्रतिक्रिया दिन नसकेको बेलायतस्थित द डेली टेलिग्राफ पत्रिकाले बुधबारको रिपोर्टमा लेखेको छ। पसलेहरूले आफ्नो माल चोरी भएको भन्दै गरेका रिपोर्टमा ७ मध्ये ६ वटा मुद्दालाई प्रहरीले ध्यान दिन छाडेको छ। यस्तोमा प्रहरीले आफ्नो ध्यान साना चोरीभन्दा ठुला अपराधमा दिन थालेको बताएको छ। तर पसलेहरूले भने यस्ता चोरीको मूल्य एक अर्ब पाउन्डभन्दा बढी पुग्नु सानो चोरी नभएको जिकिर गरिरहेका छन्।

यस्तो चोरी तिनैले गर्छन्, जो कम पढेलेखेका छन्, जसले कम अवसर पाउँछन्। त्यसको क्षतिपूर्ति यिनले चोरी गरेर र सरकारले बाँड्ने खैराँतमा आँखा गाडेर पूरा गर्छन्।

बेलायतमा पछिल्लो समय मौलाइरहेको सारा विकृतिको कारण खोतल्दै ‘आरक्षणले मौलाएको विकृति’ उपन्यास बजारमा आएको छ।

संरक्षण हुनुपर्ने तर हुन नसकेका जातजाति, भाषा, संस्कार–संस्कृति, वन्यजन्तु, बोटबिरुवा आदिलाई जोगाउने वा सुरक्षित राख्ने काम आरक्षण हो। लोपोन्मुख वस्तु तथा मान्छेलगायतका प्राणीको आरक्षण गर्ने परम्परा विश्वभरि नै चल्दै आएको छ। नेपालमा त झन् आरक्षणको अवधारणा तथा व्यावहारिक प्रयोग व्यापक रहेको पाइन्छ। नेपालमा धेरै वन्यजन्तु आरक्षण छन्। यस्ता वन्यजन्तु आरक्षणवरपर राज्यले मान्छेलाई भन्दा वन्यजन्तुलाई महत्त्व दिएको देखिन्छ। पिछडिएका जातजातिको सवालमा पनि पछिल्ला संविधानमा आरक्षणलाई सबल बनाइएको छ।

मलाई सधैं जिज्ञासा लाग्ने विषय थियो-युरोप-अमेरिका जस्ता मुलुकमा आरक्षणको अवस्था के छ? भौतिक विकासका कारण ती मुलुकमा आरक्षण गर्नुपर्ने समुदाय छन् र? यस्ता अनगिन्ती प्रश्न विश्व सन्दर्भमा उठिरहन्थे। यस्ता प्रश्नको उत्तर विभिन्न गैरआख्यान लेखरचनामा भने मैले पटक पटक पढेको थिएँ। आख्यानमा यस्तो सन्दर्भ धेरै कम मात्र पाइन्थ्यो। जब रामप्रसाद घिमिरेको उपन्यास ‘आरक्षणले मौलाएको विकृति’ पाएँ, यस्ता जिज्ञासाको धेरै हदसम्म समाधान पाएको अनुभूत भयो।

विदेशमा नेपालमा भन्दा अलि भिन्न आरक्षण हुँदो रहेछ। नेपालमा दलित, जनजाति, महिलालगायतका तुलनात्मक रूपमा पिछडिएका समुदायलाई आरक्षण दिइन्छ। जतिसुकै धनी होऊन्, संविधानमा पिछडिएका भनेर तोकिएका यस्ता समुदायले आरक्षण पाउँछन् तर जतिसुकै गरिब तथा निम्न जीवनस्तर किन नहोस्, संविधानले पिछडिएका वर्ग भनेर नतोकिएका जातिगत समुदायले आरक्षण पाउँदैनन्। यहाँको संविधानले खानै नपाएर मरे पनि उच्च जाति भनिएकाहरूलाई आरक्षणको आवश्यकता देख्दैन।

बेलायतमा राज्यले आदिवासीलाई विशेष आरक्षण दिँदो रहेछ। यही आरक्षणका कारण ती आदिवासीले कुनै मिहिनेतपूर्ण काम गर्न जरुरी रहेनछ। यसप्रकारको आरक्षणकै कारण धेरै आदिवासी नराम्रोसँग कुलतमा फसेका रहेछन्।

बेलायतमा रहेको यही आदिवासीगत आरक्षणले निम्त्याएको समस्यालाई सजिलो भाषा अनि सुन्दर शैलीमा ‘आरक्षणले मौलाएको विकृति’मा प्रस्तुत गरिएको छ।

बेलायतमा सरकारी अनुदानमा रमाउने पुस्ताको भौतिक विचलन नै उपन्यासको कथ्यसन्दर्भ हो। बेलायती सरकारले प्रदान गर्ने आर्थिक सुविधामा जीवन निर्वाह गर्ने एक विपन्न परिवारको दर्दनाक कथा उपन्यासमा छ। मार्गरेट ब्राउन र उनकी छोरी जुलियाको जिन्दगी यहाँ प्रस्तुत छ। सरकारी आरक्षणमा बाँचेका यी पात्र र घटना प्रतिनिधि मात्र हुन्।

सरकारी सुविधाको दुरूपयोगले आचरणगत विकृति र तुच्छ संस्कारको प्रभाव यिनका शाखा–सन्तानमा पर्न गएकाले अन्ततः यिनीहरूका धेरै सन्तानको जीवनपद्धति दर्दनाक हुन पुगेको कथावस्तु उपन्यासमा प्रस्तुत गरिएको छ।

बेलायती सरकारले आरक्षण दिएको समुदायलाई लक्षित गरी तिनीहरूको चुलोदेखि ओछ्यानसम्म र जन्मदेखि मृत्युसम्मको संस्कारको मामला अध्ययन गरेर पुस्तकको निर्माण भएको छ। बेलायती समाज बुझ्न उपन्यास उपयोगी छ। नेपालीको नजरमा बेलायत विकृतिविहीन छ जस्तो देखिन्छ। त्यस्तो होइन। बेलायतमा पनि अनेकौं असह्य विकृत सन्दर्भ छन् भन्ने उपन्यासले देखाएको छ।

जुलिया विकृत मनोविज्ञानले पाकेकी पात्र हो। जुलिया यति बिग्रेकी छ कि उसको मानवीय संवेदना अनि सर्वमान्य भावना नै भताभुङ्ग भएको छ। कुलत र पुरुषलतले झ्याप्पै छोपेको छ उसलाई। मोजमस्तीको मनोविज्ञानले अनमत्तु छे जुलिया। आफ्नी आमा मार्गरेटले अन्तिम सास फेर्दै गर्दा पनि उसले त्यही दारुणिक भिडियो बनाउँदै छे। ऊ मात्र होइन, आरक्षण र प्रविधिमा बाँचेका सबैको अवस्था उस्तै देखिन्छ। मार्गरेटको अन्तिम अवस्थामा पनि अस्पतालमा जम्मा भएका छोराछोरीहरू मोबाइलमा च्याट र गेममा भुलेको देख्दा प्रविधिले विश्व समाज कता लाँदै छ भन्ने प्रश्न उठ्छ।

मार्गरेटको मृत्युको शोक होइन, त्यहाँ कुनै उत्सव थियो जस्तो लाग्छ। मृत्युको एक हप्तासम्म उसको घरमा सामान्य भिडभाड रहन्छ। घरभित्रबाट बाहिरसम्म पाकिराखेको बिफको हरक निरन्तर आइरहन्छ। दिनमा पटकपटक निसंकोच माछामासु पाक्छ।

बिफका विभिन्न परिकार बनाएर खाइरहन्छन् आफन्तहरू। रक्सी पिउनेहरूको भिड लाग्छ। ममीको अन्तिम संस्कारकै दिन जुलियाले होलिडे बुकिङ गरेकी छु भन्दै त्यो दिन कार्यक्रम हुन नदिने भन्छे। उसका लागि ममीको अन्तिम संस्कारभन्दा आफ्नो होलिडे महत्त्वपूर्ण हुन्छ। नेपाली संस्कारमा हुर्केकाहरूका लागि यो त असोचनीय विषय हो।

बेलायतजस्तो विकसित देशमा जन्मिएर र पुस्तौंदेखि बसोबास गरी असीमित प्रविधि र सुविधाहरू उपभोग गर्ने सुअवसर पाएर मात्र कहाँ हुँदो रहेछ र? आफू जिम्मेवार नभइदिनाले, आचरण र संस्कारमा परिवर्तन नआइदिनाले परिवार विकृतिमा फस्दोरहेछ। बेलायतभित्रै यस्तो विकृतियुक्त समाज हुर्किरहेको छ।

उपन्यासमा पश्चिमेली र पूर्वेली संस्कारका बिचको अन्तर सान्दर्भिक तवरले प्रस्तुत गरिएको छ। यहाँ अतिभौतिकताले ग्रसित समाजको कथा छ। यस्तो संस्कारबाट नेपाली समाज वञ्चित छ तर मानवीय भावना, संवेदनाका कारण यो कथा नेपाली मनसँग जोडिएको छ।

मार्गरेटदेखि ज्याकसम्म र त्यसपछि पनि देखिएका मानवीय भावनाहरूको भौतिक रूपान्तरण देख्दा अचम्म पनि लाग्छ, दुःख पनि लाग्छ। एउटा भौतिक रूपमा उचाइमा पुगेको समाजका विडम्बनालाई लेखकले राम्रोसँग प्रस्तुत गरेका छन्।

बेलायती संस्कार र हाम्रो संस्कारलाई दाँजेर हेर्दा हाम्रो धर्म, संस्कृति, पारिवारिक संस्कार उनीहरूको भन्दा उच्चकोटिको रहेछ भन्ने लाग्छ। यस उपन्यासका पात्र र तिनका प्रवृत्तिको विकृत चालचलन हेर्दा पूर्वीय संस्कृति, परिवेश, परिवारको सामीप्य, समर्पण भाव, दुःखसुखमा परिवारको साथ, सन्तानमाथि बुबाआमा, हजुरबुबा–हजुरआमाको वात्सल्य तथा बुढेसकालमा छोराछोरी र नातिनातिनाबाट प्राप्त सम्मान र सेवाको महत्त्वलाई झनै उजागर गरेको पाइन्छ।

उपन्यासकार घिमिरेको भाषा सहज अनि शिष्ट छ। परिवेश र पात्रको चरित्र विन्यास छरितो छ। पात्र संवादले जीवन्तता पाएको महसुस हुन्छ। भावनामा पनि उपन्यास बलियो छ। पढ्न थालेपछि ‘अब के हुन्छ?’ भन्ने प्रश्नले मुटुमा एकोहोरो घन्टी बजाइरहन्छ। उपन्यासको पठनपछि बेलायती समाजको बनावट र परिवेशलाई सहजै बुझ्न सकिन्छ।

अझ भनौं बेलायतप्रतिको अधिकांश नेपालीको अवधारणा नै बदलिन्छ। जीवनभर हामीले बेलायत बसेर थाहा पाउन नसकेका सूचनाको उठान गरिएको आख्यान हो यो। उपन्यास पढिसकेपछि बेलायतमा पनि यस्तो संस्कार र संस्कृति जिउँदो रहेछ भन्ने पाठकले बोध गर्छन्।

‘आरक्षणले मौलाएको विकृति’ साहित्यपोस्टले प्रकाशन गरेको हो। 

प्रकाशित: २३ भाद्र २०८० ०३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App