१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

‘गीत लेख्नुअघि मलाई कथा फुर्नुपर्छ

गीतहरूको याम बेलाबेला परिवर्तन हुन्छ। कहिले सुगम संगीत, कहिले पप, कहिले लोकगीतको धुम ! यतिबेला भने पुनः सुगम संगीतको याम सुरु भएको छ। ‘एउटा पृथक् परिचय बनाएका यशकुमारले यतिबेला सुगम संगीतको याम फर्काएका छन्,’ संगीतकार सुरेश अधिकारीले यशकुमारको नयाँ भाइरल गीतमा गरेको टिप्पणी अतिशयोक्ति मानिए पनि यतिबेलाको सत्यता भने गीतको वास्तविक लोकप्रियता नै हो।

‘सुस्तरी सुस्तरी...’ गीत यतिबेला निकै भाइरल बनेको छ। टिकटकमा उनको सो गीत ‘स्वाइप’पिच्छे बजिरहेका छन् भने युट्युबमा उनको सो गीतले एक महिनामा ८० लाख भ्युज पाएको छ। त्यसो त अन्य भाइरल गीतको तुलनामा यो भ्युज कम नै हो तर पनि कुनै विवाद, प्रतिबन्धको हल्लामा नपरी सुगम संगीतले यतिको बृहत् भ्युज बटुल्नु सुस्ताइरहेको विधाका लागि खुसीको कुरा हो।

गायक, रचनाकार तथा संगीतकार यशकुमारसँग ‘सुस्तरी’सँगै उनको करियरमाथि अच्युत कोइरालाले गरेको कुराकानीः

तपाईंको प्रथम गीति एल्बम ‘रिजन’ बजारमा आएको २२ वर्ष पूरा भएको छ। यो गीतले तपाईंको प्रथम एल्बमको सम्झना दिलाइरहेको छ...

त्यै त ! कति छिटो समय बित्दो रहेछ !

त्यो एल्बमको के कुरा सम्झनुहुन्छ?

खै, के मात्र बिर्सनु र? मेरो पहिलो एल्बम निस्कँदा म देशभित्रभन्दा बाहिरबाट परिचित भएँ। मेरो करियरमा अनौठो भएको छ।

तपाईंको गीत सिक्किम, दार्जिलिङबाट हिट भएर नेपाल छिरेको सम्झन्छु। उल्टो भयो त...

हजुर। त्यो बेला ‘रिजन’ एल्बम निस्केको एक महिनामा नै दरबार हत्याकाण्ड मच्चियो। गीत बज्ने वातावरण बनेन। त्यसमाथि म त नयाँ कलाकार परें। देशभित्र शोकको वातावरण हुँदै गर्दा दार्जिलिङ–सिक्किमतिर भने मेरो गीत रुचाउनेहरू क्रमशः बढे। उता हिट भएपछि मेची खोला तरेर गीत नेपाल छिर्‍यो। त्यसपछि गाडीगाडीमा यसका गीत बज्न थाले। त्यसपछि मात्र काठमाडौंले चिन्यो।

के कारणले त्यो एल्बम चल्यो होला?

पहिला आधुनिक गीत भन्नेबित्तिकै तबला, सितारलगायतका वाद्यवादन हुन्थे। फेरि त्यो बेला भनेको पपगीतको जमाना थियो। एक से एक पप गायकहरू लोकप्रिय हुनुहुन्थ्यो। जहाँसम्म लाग्छ, मेरो गीत पप र आधुनिकबिचको संगम भएकाले स्रोताले नयाँ स्वाद पाउनुभयो।

सुन्दर संगीत चाहिँ मानिसको आत्मा हो। जति सुन्दर संगीत, उति सुन्दर आत्मा ! यसरी एउटा कविताले शरीर, व्यवहार र आत्मा पाउँछ। सुन्दर गीतहरूको लामो आयु हुनुको कारण एरेन्जमेन्ट, संगीत र कविताको अभूतपूर्व मिलन हुनु हो।

तपाईंको संगीत संयोजन (म्युजिक एरेन्जमेन्ट) सिन्थेसाइजर र लाइभ म्युजिकको मिश्रण भएको सम्झन्छु...

गरेकै त्यही थिएँ। पपको स्वाद पनि होस् तर सुगम संगीतको स्वाद पनि नछुटोस् भन्ने सोचेको थिएँ। त्यो प्रयोग सफल भयो।

सबैभन्दा गज्जबचाहिं ‘मैले छोएको पानी चल्दैन...’ भन्ने क्रान्तिकारी गीत मानें...

अँ, त्यो त राष्ट्रिय गीत नै बन्न पुग्यो। दलित, उत्पीडितहरूको आवाज बोलिदियो।

त्यो तपाईंको पनि आवाज थियो नि, होइन?

मेरो भोगाइ, अनुभवसँगै अरूका कुरा पनि मैले नियाल्ने अवसर पाएर यो गीत सिर्जना भएको थियो।

धेरैले तपाईंबाट यस्तै सिर्जना सुन्न चाहेको बुझिन्छ। त्यसपछि तपाईंले अर्को एल्बममा ‘म आफ्नै आँगनमा इनार बनाउँछु...’ होस् कि तपाईंद्वारा संगीतबद्ध फिल्म ‘बाटोमुनिको फूल (२०१०)’। तिनमा तपाईंले दलित मुद्दा उठाउनुभयो...

एउटा सचेत सर्जकले गर्ने नै त्यही हो।

पछि स्वतन्त्र एल्बममा भन्दा फिल्ममा व्यस्त हुनुभयो नि?

एल्बम बिक्री हुन छाडेपछि र फिल्ममार्फत केही गर्न सक्छु कि भन्ने उद्देश्यले फिल्म निर्माण, संगीतजस्ता कुरामा ध्यान दिएँ। मैले ‘बाटोमुनिको फूल’ (२०१०), ‘आधी बाटो’ (२०१३), ‘वीर (२०१५), बाटोमुनिको फूल– २ (२०१६), छिरिङ (२०१९) मा निर्माणदेखि अभिनय र संगीतसमेत गरें।

अहिले फेरि नेपाली गीतको दिन फर्कियो भनेर स्वतन्त्र गीत र एल्बम बनाउन लाग्नुभएको हो?

दिन फर्कियो भनेर होइन। वास्तवमा एल्बम बनाउने दिन गए। अहिले त एकल गीत रिलिज गर्ने समय छ। त्यही भएर मैले पुराना गीतहरूलाई पुनः रेकर्ड गरेर भिडियो बनाउँदै  रिलिज गरें।

पुराना गीतलाई पुनः सिर्जना गर्दाको प्रतिक्रिया कस्तो पाउनुभयो?

पुराना हिट गीतलाई फेरि नयाँ भिडियो बनाएर रिलिज गर्दा वास्तवमा राम्रो प्रतिक्रिया पाएँ। त्यसमा गरिएको लगानी खेर गएन।

पछिल्लो भाइरल गीत ‘सुस्तरी सुस्तरी’ निकै हिट भयो। हिट हुने सूत्र के रहेछ?

अचेल भिडियोको जमाना भएकाले मैले यो गीत रच्दा नै सडकछेउमा व्यापार गर्नेहरूलाई ध्यानमा राखेर लेखेको थिएँ। खासमा धेरै वर्षअघि एक दिन म काठमाडौंको सोह्रखुट्टेमा हिँड्दै गर्दा नगर प्रहरीले ठेला व्यापारीहरूको सामान जफत गर्दै गरेको देखेँ।

एउटा बच्चा आमाको गोडा समाएर रुँदै थियो। आमा सामान खोस्न प्रहरीसँग झुत्ती खेल्दै थिइन्। यो दृश्यले मलाई भित्रैसम्म पोल्यो। घर आएर केही खेस्रा लेखें। मैले जहिले पनि कुनै गीत लेख्नुअघि कथा फुर्नुपर्छ। कथा फुरेन भने म गीत लेख्न सक्तिनँ।

त्यै भएर तपाईंका प्रायः गीत सुन्दा दृश्य देखिने होला...

हो, तर यो लेखेको गीत कयौं वर्ष मैले थन्काइरहें। उपयुक्त अभिव्यक्ति भएन भन्ने लागिरह्यो। गीत रेकर्ड गर्नुअघि एक पटक म फेरि यसलाई फाइनल गर्न बसें। त्यसपछि यो स्वरूपमा आयो।

गीत यत्तिको भाइरल होला भन्ने लागेको थियो?

थिएन... तर गीतमाथि विश्वास भने थियो।

अचेल त भाइरल हुने रोग लागेका बेला तपार्इं भने भाइरल हुन नचाहेर पनि भएकोजस्तो सुनिनुभयो नि?

म भाइरलविरोधी त होइन, त्यसमा मरिहत्ते चाहिँ गर्दिनँ। गीत त यस्तो होस्, सर्जक मरेको दशकौंपछि पनि याद गरियोस्। हाम्रा एक से एक सर्जकका गीत उहाँहरू बितेको दशकौंपछि पनि सुनिन्छन् नि ! म त्यस्तो गीत बनाउन सकूँ भन्ने कोसिस गर्छु।

कोरोनाकालपछि निकाल्नुभएको यो गीत हिट भयो। त्यो बेला के गर्नुभयो?

त्यो बेला २५ वटा गीत लेखें, केही रेकर्ड गरें। दुई वटा फिल्मको स्क्रिप्ट लेखें।

गीत के हो?

जब शब्दले लय फेला पार्दैन, त्यो कविता हो। लय फेला पार्ने कविता चाहिँ गीत हो। शब्द शरीर हो, बान्की परेको शरीर। त्यसमाथि एरेन्जमेन्ट (संयोजन) मा बाजागाजा हुन्छ, विभिन्न बाजाले एक साथ नयाँ मुड बनाउँछन्। योचाहिँ मान्छेको बान्की परेको शरीरमा सुन्दर व्यवहारजस्तो हो। अनि सुन्दर संगीत चाहिँ मानिसको आत्मा हो। जति सुन्दर संगीत, उति सुन्दर आत्मा ! यसरी एउटा कविताले शरीर, व्यवहार र आत्मा पाउँछ। सुन्दर गीतहरूको लामो आयु हुनुको कारण एरेन्जमेन्ट, संगीत र कविताको अभूतपूर्व मिलन हुनु हो।

तपाईं सबैभन्दा खुसी भएको क्षण?

गत वैशाखमा राष्ट्रपति रामचन्द्र पौडेलको वरद बाहुलीबाट समाजसेवाको क्षेत्रबाट जनसेवाश्री पदक प्राप्त गर्नु। पहिलो एल्बम निस्केको २२ वर्षपछि म वास्तविक गायकका रूपमा सम्मानित भएँ।

प्रकाशित: २३ भाद्र २०८० ०२:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App