विश्वबजारमा यतिबेला कलमको महत्त्व निकै सशक्त बन्दै गइरहेको छ। जुन कुनै क्षेत्रका व्यक्ति पनि कलम उठाउन थालेका छन्। तर, नेपालमा भने त्यो स्थिति आइसको छैन। अझ नेपाली सङ्गीतमा भिजेका सङ्गीतकारहरू सङ्गीतको सिर्जनामै हराउने गरेका छन्, उनीहरू त्यसमै डुब्ने गरेका छन्। उनीहरू गद्य लेखनमा रुचि नै राख्दैनन् कि भनेझैं लाग्छ कतिपय अवस्थामा। त्यसो त उनीहरू कलम होइन, बाजालाई आफ्नो साधन र साध्य दुवै ठान्छन्। तर, कलमले गर्ने काम सधैं बाजाले गर्दैन भन्नेतिर पनि उनीहरूको ध्यान कहिले जाला?
कलमको महत्त्व बुझेका पत्रकार शेखर खरेलले रञ्जित गजमेरसँग विभिन्न समयमा कुराकानी गरेर ‘मोहनी मादलको’ नामक संस्मरणात्मक कृति नै तयार पारिदिए। यसले अक्षरमा रनजित गजमेरलाई नियाल्ने अवसर नेपाली साहित्यका पाठकलाई प्रदान गर्यो। २०७९ सालमा बजारमा आएको यो कृति वी रिड, काठमाडौंले प्रकाशन गरेको हो। चिटिक्क आकारको यो कृतिले रञ्जित गजमेरबारे जान्न चाहनेहरूका लागि थप सामग्री उपलब्ध गराएको छ।
छोटो चर्चा ‘मोहनी मादलको’
पत्रकारितामा लामो समय बिताएका शेखर खरेलले रञ्जित गजमेरसँग विभिन्न समयमा गरेका कुराकानीलाई अक्षरीकरण गरी ‘मोहनी मादलको’ नामक संस्मरणात्मक कृति तयार पारेका हुन्।
यो कृतिमा रञ्जित गजमेरसँग सम्बन्धित यसअघि नपढिएका र नसुनिएका विविध विषयवस्तु समेटिएका छन्। ती समाग्रीलाई विभिन्न २० शीर्षकमा व्यवस्थापन गरिएका छन्। तिनमा मुख्यतः रनजित गजमेरको बाल्यकाल, युवावस्था, पारिवारिक स्थिति, बाल्यकालदेखि नै कुसुम सिंहसँगको प्रेम र विवाह, उनको सङ्गीत यात्रा, दार्जिलिङ, काठमाडौं र मुम्बईमा गरेका सङ्घर्षका कथा, जीवनका प्राप्ति, विभिन्न कवि, लेखक, सङ्गीतकार तथा गायकसँगको सम्बन्ध तथा अन्त्यमा असमयमै पत्नी कुसुम गुमाउनुको पीडालाई मार्मिक ढङ्गले चित्रण गरिएको छ।यो कृतिमा रञ्जित गजमेरसँग सम्बन्धित यसअघि नपढिएका र नसुनिएका विविध विषयवस्तु समेटिएका छन्। ती समाग्रीलाई विभिन्न २० शीर्षकमा व्यवस्थापन गरिएका छन्।
‘मोहनी मादलको’ कृतिभित्र समेटिएको सबैभन्दा छोटो संस्मरण ‘देवकोटा सङ्ग्स’ हो, अन्तिमबाट दोस्रो अर्थात् उन्नाइसौं क्रममा रहेको जम्मा दुई पृष्ठको आयाम ओगटेको यो रचनामा देवकोटालाई सम्झँदै नेपाली लोकधूनको निर्माण गरिएको कुरा छ।
त्यस्तै यो कृतिको सबैभन्दा लामो संस्मरण ‘बाल्यकाल र दार्जिलिङ’ शीर्षकको सुरुको रचना हो, यसले जम्मा तेइस पृष्ठको आयाम ओगटेको छ। यसमा गजमेरका बाल्यकालमा स्मरणहरू आएका छन्। उनको जीवनका विविध समय र विशेषतः सङ्गीत यात्रामा बिताएका पलहरू अन्य संस्मरण समेटिएका छन्।
यो कृतिमा रञ्जित गजमेरसँग सम्बन्धित यसअघि नपढिएका र नसुनिएका विविध विषयवस्तु समेटिएका छन्। ती समाग्रीलाई विभिन्न २० शीर्षकमा व्यवस्थापन गरिएका छन्।
संस्मरणात्मक कृति भएकाले यो कृतिमा रञ्जित गजमेरको परिवारबारे निकै ठाउँमा वर्णन गरिएका छन्। उनकी छोरी भारती र तुलसी घिमिरेको विवाहको सन्दर्भलाई लिएर ‘नेपाली ज्वाइँहरूको संयोग’ शीर्षकको संस्मरणमा गजमेर यस्तो बताउँछन्:
‘तुलसीजी हाम्रा ज्वाइँ बन्नुको खास कारण पनि थियो। मनोहरि दाइ आफ्ना छोरीहरू धेरै भएकाले तीमध्ये कुनै एकको विवाह नेपालीसँग भइदिए जाती हुन्थ्यो भन्नुहुन्थ्यो। मनोहरि दाइ र मङ्गला भाउजूले धेरै पटक त्यस्तो इच्छा मसँग व्यक्त गर्नुभएको थियो। तर, उहाँका कुनै पनि छोरीको विवाह नेपालीसँग जुरेन। यो कुरा मैले कुसुमलाई बताउँदा उनी पनि चिन्तामा पर्ने गर्थिन्। हामी पतिपत्नी बिचको यस्तो कुराकानी भारतीले सुन्दै आएकी रहिछिन् र बुबाआमाको खुसीका लागि आफू नेपालीसँगै विवाह गर्ने अठोट गरेकी रहिछिन्।’ (पृ. १५३-१५४)
नेपाली लोकबाजा मादल चर्चामा थिएन, यसलाई विश्वव्यापी बनाउन सङ्गीतकार रञ्जित गजमेरको विशेष योगदान छ। उनले दार्जिलिङ, काठमाडौं हुँदै सङ्गीतको दुनियाँमा रम्न मुम्बई पुग्दा समेत मादललाई बिर्सन सकेका छैनन्। उनी आरडी बर्मनको साङ्गीतिक समूहमा बसेर मादल बजाउन थालेको कुरालाई ‘अप्रतीम बर्मन बाबुछोरा’ शीर्षकको रचनामा गजमेरले यसरी सम्झेका छन्:
‘मेरो मादल बजाउने शैलीप्रति धेरै मानिस जिज्ञासु बनेको देख्छु। नेपालमा मादल कि घाँटीमा भिरेर कि त कम्मरमा बेरेर तेर्सो गरी बजाइन्छ। तर, यता मुम्बईमा मैले टोंगाझैं ठाडो गरेर बजाएको देख्दा मानिसहरू चकित पर्छन्। यसरी बजाउनुको खास कारण छैन। तेर्सो होस् वा ठाडो, मादलको आवाज उही हो मादललाई तेर्सो पार्दा माइक मादलभन्दा माथि पर्ने हुँदा मादलको दुबै छेउको आवाज माइकले बराबरी टिप्न नसक्ने रहेछ। यसरी मादल बजाउँदा माइकको लेभल नमिलेको देखेपछि एक दिन पर्कसन एरेन्जर मारुतीरावले मलाई ‘कान्छा, तिम्रो दायाँ र बायाँ हातको मादललाई ठाडो पार’ भन्नुभयो। यसो गर्दा एउटा मादलको ठाउँमा दुईवटा प्रयोग गर्नुपथ्र्यो। तर, ध्वनि बराबर माइकले टिप्ने हुँदा यो तरिका ज्यादै उपयुक्त निक्ल्यो।’ (पृ. १२१)
यो कृतिभित्र यी र यस्ता साभारयोग्य प्रशस्तै रोचक प्रसङ्ग छन्। गैरआख्यानको कृति भएर पनि पाठकले यो कृति पढ्दा आख्यानै पढे जस्तो मजा लिन सक्छन्। साङ्गीतिक दुनियाँमा एउटा सफल व्यक्तिको जीवनमा घटेका घटनाहरू पढेर प्रेरणा लिने ठाउँहरू पनि यथेष्ट छन्। यसर्थ ‘मोहनी मादलको’ एउटा उत्कृष्ट संस्मरणात्मक कृति हो।
एउटा स्रोताका नजरमा सङ्गीतकार रञ्जित गजमेर
नेपाल धनीको नभई गरिबहरुको मुलुक हो। म आफू निकै विपन्न परिवारमा हुर्केको हुँ भन्दा कत्ति पनि लाज लाग्दैन। आफ्नो खेतीयोग्य जग्गा सारै थोरै भए पनि अरूका खेतबारीमा खेती गरेर सन्तान पाल्ने किसानको छोरो हुँ म। वास्तवमा सर्वहारा जीवन के हो? राम्ररी भोगेको छु मैले। हाम्रो बाल्यकालमा जात्रा वा पर्व हेर्नुबाहेक मनोरञ्जनको अरू साधन उपलब्ध थिएन हामीलाई।
सानो छँदा आफ्नो घरमा नभए पनि छिमेकीका घरमा बजेको रेडियोमा घन्केका गीतले भने राम्ररी तान्थ्यो मलाई। बिजुली नभएकाले बेट्रीबाट बजाइन्थे रेडियोहरू। त्यतिबेला रेडियो नेपालबाट बजेका ‘हेर न हेर कान्छा’, ‘चिसोचिसो हावामा’, ‘मायोको बारीमा प्रीतिको फूल’ जस्ता गीतले मेरो किशोरावस्थामा छिर्दै गरेको कलिलो मष्तिष्कमा गीतप्रति अभिरुचि जगाएका हुन्। आफ्नो घरमा रेडियो नभएकाले गीत मात्र राम्रोसँग सुनिने तर रचनाकार र सङ्गीतकारबारे भनिएका उच्चारण राम्रोसँग बुझिन्थेन। पछि घरमा रेडियो मात्र होइन, क्यासेट प्लेयर नै आएपछि भने रञ्जित गजमेरका गीतहरूले मलाई निकै आनन्दित तुल्याएका हुन्। अझ त्यसमा नारायणगोपालको स्वर मिसिएको भए त के भन्नु र? त्यसले हुरुक्कै पार्थ्याे मलाई।
समापन
जसरी रञ्जित गजमेरको सङ्गीत खोलाको पानीजस्तै सलल बग्छ, त्यसरी नै सलल बग्ने भाषामा ‘मोहनी मादलको’ नामक संस्मरणात्मक कृति तयार पारिएको छ। नेपाली सुगम सङ्गीतका बारेमा अभिरुचि राख्ने जोकोही पाठकको लागि यो कृति निकै उपयोगी सामग्री हो। त्यति मात्र नभएर आधुनिक नेपाली सङ्गीतको विकासमा काठमाडौंको मात्र नभएर दार्जिलिङ तथा बम्बईको के कस्तो स्थान छ भन्नेबारे पनि यो पुस्तकले खोजमूलक सामग्री पनि प्रस्तुत गरेको छ।
त्यस्तै नेपाली लोकबाजा मादलको स्वागतयोग्य प्रशंसा पनि गरिएको छ। यसर्थ ‘मोहनी मादलको’ नामक कृतिले आम पाठकका मनमा मोहनी लगाउनेमा म विश्वस्त छु। यति सुन्दर कृति तयार पारेकोमा शेखर खरेल र प्रकाशक वी रिड बधाई पात्र बनेका छन्। शेखरबाट अन्य गीतसङ्गीतमा लागेका अन्य हस्तीहरूबारे यस्ता थप कृतिहरू लेखियून्। पूर्वेल लवजमा भन्दा यो कृतिको अपार सफलताको डल्लै शुभकामना।
-रमेश प्रभात
प्रकाशित: २० भाद्र २०८० ०६:२२ बुधबार