अचेल छोराछोरीसँग गफ गर्न नसकिने भो! बिहानी डुलाइमा निस्केका विनोदले भने।
किन र विनोदजी के पर्यो त्यस्तो? विवेकले सोधे।
हेर्नु न प्रविधिले केके सिकायो केके! उनीहरूको हात हातै संसारका सूचनाहरू। आफूले भने मेलोमेसो नपाइने।
हो नि चलाइखेलाइ गर्छन् उनीहरू। हामीले जानिंदैन। अष्टावक्रले गर्भमै पुराण सुनेझैं उनीहरू सामाजिक सञ्जाल थाहा पाएर आउँछन्। फेरि प्रविधिबाट अलग राख्न पनि भएन।
अलिकति हाँस्दै- हो रहेछ विवेकजी, हिजो साँझ सँगै बाहिर निस्केको बाबा तपाईंले कहाँ के बोल्ने, कति बोल्ने, कसरी अनुशासित रहने? हेक्का राख्छन् सज्जन मान्छेले भन्नुहुन्छ नि भन्दै सामाजिक सञ्जालको तस्बिर देखायो। तस्बिरमा स्थापित स्रष्टाहरू रहेछन्। एकजना त खुट्टा खापेर बसेका, कोही तस्बिरका लागि अटाईनअटाई कोचिएका! तस्बिरमा साेमत पटक्कै नदेखिएको। म त अक्क न बक्क परें। सञ्जालमा राख्ने तस्बिरले त अलिकति भए पनि सभ्य भनिने मान्छेको शालीन परिचय दिए हुने नि! मनमनै बरबरिएँ। छोराले सल्लाह सम्झेको रहेछ भनेर मक्खिन खोजें तर सकिनँ।
तपाईंले ठिक भन्नू भो विनोदजी-हामी सिकाउन मात्र जान्ने। आफ्नो बोलीव्यवहारमा सन्तुलन चाहिन्छ भनेर वास्तै नगर्ने,सिक्ने र सिकेको विषय व्यवहारमा ल्याउनै नखोज्ने!
हो भन्या विवेकजी, आदरणीय व्यक्तिसँग तस्बिर खिचाउँदा खुट्टा खाप्ने त अझ आफूलाई केकेन हुँ भन्ने स्रष्टा पो रहेछन्। वास्तवमा बिगार्ने त केकेन हुँ भन्नेले नै हो रहेछ नि त है! यसमा पनि शंका गर्ने ठाउँ छ र?
हैन तपाईंलाई अलिक बढी नै खड्केछ, को रहेछन् ती महासय? विवेकले नाम सोधे।
भो नाम नलिऊँ सञ्जालमा देखिहाल्नुहुन्छ नि! य, अँ, ठिकै हो, तिनैलाई नपच्ला फेरि!
हेर्नु न समाजले चिनेका मान्छे के बोल्छन्, व्यवहार कस्तो गर्छन् सर्वसाधारणले पनि खुब ध्यान दिने रहेछन् है विवेकजी!
हो नि, सर्वसाधारणलाई चिनिएका मान्छेको व्यवहारले प्रभाव पार्छ, अझ केटाकेटीलाई त झन् गहिरो छाप छोड्छ।
ठिक भन्नुभो विवेकजी-हाम्रा पूर्वजले मान्छेको लवाइ, खवाइ, हिंडाइ, बोलाइले नै उसको व्यक्तित्व बताइरहेको हुन्छ अन्त खोज्नु पर्दैन, त्यसै भनेका होइन रहेछन् हगि?
-छायादत्त न्याैपाने
प्रकाशित: १६ भाद्र २०८० ०७:०३ शनिबार